Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

एनपीएल क्रिकेट :

दोस्रो हारले लम्बियो विराटनगरको प्ले अफ प्रतीक्षा

उद्‌घोष संवाददाता
१८ मंसिर २०८२, बिहिवार

विराटनगर । विराटनगर किंग्सले अन्तिम खेल अगावै नेपालप्रिमियर लिगको प्ले अफ (अन्तिम चार) मा स्थान सुरक्षित गर्ने मौका गुमाएको छ । बुधबार लुम्बिनी लायन्सस“ग ५ विकेटले पराजित भएपछि विराटनगरको प्ले अफ सम्भावनाको प्रतीक्षा लम्बिएको छ । 

डी’ आरसी शटको सानदार अर्धशतकमा लुम्बिनी लायन्सले एनपीएल क्रिकेटको बुधबारको खेलमा दक्षिण अफ्रिकी स्टार फाफ डू प्लेसिस समावेश विराटनगर किंग्सलाई ५ विकेटले पराजित गरेको हो । 

जितसँगै लुम्बिनीले शीर्ष चारमा परेर प्लेअफमा पुग्ने सम्भावना बलियो बनाएको छ । उसले ६ खेलमा ३ जित निकाल्दै ६ अंंक जोडेको छ भने चौथो स्थानमा उक्लिएको छ । यता अन्तिम खेलअघि ४ खेलमा जित र २ खेलमा पराजय भोग्दै  ८ अंक बटुली सकेको विराटनगरले प्लेअफमा पुग्न अझै कुर्न पर्ने भएको छ ।

अन्तिम खेलमा लुम्बिनीले जनकपुर बोल्ट्स र विराटनगरले सुदूरपश्चिम रोयल्ससँग खेल्दैछन् । अन्तिम खेलमा लुम्बिनीका लागि जित आवश्यक छ । यद्यपि विराटनगरले भने हार बेहोरे पनि रनरेटको आधारमा प्लेअफमा स्थान सुरक्षित गर्ने सम्भावना धेरै छ । 

बुधबारको खेल जितेको भए विराटनगर एक खेल अगावै प्लेअफ पुग्ने थियो । तर, विराटनगरका लागि लुम्बिनीका शट सबैभन्दा ठूलो बाधक बनेर उभिए । 

शटले ४४ बलमा ५७ रन बनाएपछि लुम्बिनीले १सय ४५ रनको लक्ष्य १७.४ ओभरमा पूरा गरेको थियो । 

विराटनगरको ६ खेलमा यो दोस्रो पराजय हो । अस्ट्रेलियाली ब्याटर शटले ६ चौका र २ छक्का प्रहार गर्दै लुम्बिनीलाई विजय दिलाउन मुख्य भूमिका खेले । प्रतियोगितामा यो उनको पहिलो अर्धशतक हो । 

उनले निरोशन डिकवेलासँग २४ बलमा ४६ रनको महत्वपूर्ण साझेदारी गरेर टिमलाई जित दिलाएका थिए । लुम्बिनीका लागि शट र सुमित महर्जनले पहिलो ४ ओभरमा २९ रन जोड्दै  राम्रो सुरूआत दिलाएका थिए । तर, पाँचौं ओभरमा सुवास भण्डारीले सुमित महर्जनलाई १० र कप्तान रोहित पौडेललाई शून्यमा आउट गरी विराटनगरलाई खेलमा फर्काउने प्रयास गरेका थिए ।

सुमितलाई स्टम्प आउट गराएका सुवासले रोहितलाई डु प्लेसिसबाट सानदार क्याच आउट गराएका थिए ।

सन्दीप जोराले पनि २४ रनको महत्वपूर्ण इनिङ्स खेले । उनले १५ बल खेल्दै  ३ चौका र १ छक्का प्रहार गरे । 

दीलिपनाथ १२ बल खेलेर  २ चौका प्रहार गर्दै १६ रनमा आउट भए । उनी लुम्बिनीलाई जितका लागि ३ रन चाहिएको अवस्थामा आउट भएका थिए । डिकवेला २९ र शेर मल्ल १ रनमा अविजित रहे । डिकवेलाले २२ बल खेलेर  २ चौका र १ छक्का प्रहार गरेका थिए । 

विराटनगरका लागि सुवासले ४ ओभरमा ३० रन, कप्तान सन्दीप लामिछानेले ४ ओभरमा २० रन खर्चेर २–२ तथा बसिर अहमदले १ विकेट लिएका थिए ।

यसअघि टस हारेपछि ब्याटिङको निम्ता पाएको विराटनगरले निर्धारित २० ओभर खेल्दै  ८ विकेट गुमाई १ सय ४४ रनमात्र बनाउन सकेको थियो । एनपीएलमा पहिलो खेल खेलिरहेका डु प्लेसिसले १२ रन मात्र बनाउन सके । 

९ बल खेलेर २ चौका प्रहार गरेका उनी अभिषेश गौतमको बलमा विकेटकिपर डिकवेलाबाट  स्टम्प आउट भएका थिए । त्यसअघि नै लुम्बिनीले खेलमा उत्कृष्ट सुरूआत गरेको थियो । खेलको दोस्रो बलमै शेरले जर्ज मुन्सेलाई शून्यमा एलबीडब्लू आउट गरेका थिए ।

फाफ डु प्लेसिसले ओपनिङमा ब्याटिङ गरेपछि तेस्रो नम्बरमा आएका लोकेश बमले विराटनगरबाट सर्वाधिक ३५ रन बनाएका थिए । 

४२ बल खेली समान २ चौका र छक्का प्रहार गरेका लोकेशलाई जेजे स्मिथले कट एन्ड बोल्ड गरेका थिए । साम हेजलेटले २७ रन बनाए । उनले २० बल खेल्दै  १ चौका र २ छक्का प्रहार गरेका थिए ।

नारायण जोशी ५, प्रतिश जिसी ११, बसिर १९ बलमा समान १ चौका र छक्का प्रहार गरी  २८ र साहिल पटेल ३ रनमा आउट भए । 

इनिङ्सको अन्तिम बल सामना गर्न आएका सन्दीपले छक्का प्रहार गरेका थिए । मच्र्येन्ट डी ल्याङ्गे ८ बल खेलेर १० रनमा अविजित रहे । लुम्बिनीबाट शेरले ३ विकेट लिए  उनले ४ ओभरमा २५ रन मात्र खर्चेका थिए । 

अभिषेशले ४ ओभरमा २१ रन खर्चेर १ विकेट लिए । नामिबियन जोडीद्वय रूबेन ट्रम्पलमनले ४ ओभरमा २४ र स्मिथले ३ ओभरमा ३४ रन खर्चेर १–१ विकेट लिएका थिए ।

View : 182

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved