विराटनगर । मोरङ कारागारमा कैद भुक्तान गर्दै आएका तीन जनाको दुई सातामाको अवधिमा मृत्यु भएको छ । चिसो बढेसँगै अस्वस्थ्य रहेका कैदीबन्दीको मृत्यु हुन थालेको हो ।
बुधबार बिहान ६६ वर्षीय हर्कजंग लिम्बूको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ । उनी छाती र शरीर दुःख्ने समस्याले अस्पतालमा उपचाररत थिए ।
मोरङ पथरी शनिश्चरे–५ निवासी लिम्बू कर्तब्यज्यान मुद्दामा २०८० साउन ११ गते जेल परेका थिए । साउन १४ गतेनै अभद्र ब्यवहारमा जेल परेका पथरी शनिश्चरे–४ का ५७ वर्षीय गंगाबहादुर लिम्बूको पनि गत ३ गते मृत्यु भएको थियो ।
स्वास लिन समस्या हुने र शरीर दुख्ने समस्याले कोशी अस्पतालमा उपचारका क्रममा लगिएका उनको पनि मृत्यु भएको थियो । यस्तै कात्तिक २३ गते कारागारमै रहेका मोरङ मिक्लाजुङ १ का ४२ वर्षीय ज्ञानबहादुर राईको पनि मृत्यु भएको थियो ।
कर्तब्य ज्यान मुद्दामा २०८० चैत ५ गते जेल परेका उनलाई पनि पेट दुख्ने, स्वास प्रस्वासमा समस्या भएकाले कोशी अस्पतालमै उपचारका लागि लगिएको थियो ।
बुधबार मृत्यु भएका लिम्बूको ३५ दिन कोशी अस्पतालमा उपचार गरिएको जेलर गौरव ढुङ्गेलले बताए । श्रीमतीको हत्या आरोपमा १० वर्ष कैद भुक्तान गर्दै आएका उनी क्षयरोगका बिरामी थिए ।
कुनै बेला आन्तरिक प्रशासन (जेलभित्रका चौकीदार) को समूहको चरम यातानाका कारण मोरङ कारागारमा बिरामी हुने र मृत्यु हुने गरेको थियो ।
मोरङ कारागार नयाँ संरचनामा बिस्तार भएपछि पहिलो जस्तो घटना भने कम भए पनि दुई सातामै तीन जनाको मृत्यु हुनुलाई सामान्य लिन सकिदैन ।
कारागार प्रशासनमा बिरामीको स्वास्थ्य निगरानी गर्ने स्वास्थ्यकर्मीकै ब्यवस्था गरिएको हुन्छ । बिरामीको अवस्था हेरेर उनको सिफारिसमा अस्पताल पठाइन्छ ।
तर, आन्तरिक प्रशासनका चौकीदार, नाइकेलगायतको सिफारिसमा मात्रै बिरामी अस्पताल जान पाउने गरेका छन् । मोरङ कारागारमा एक सय ११ महिलासहित एक हजार एक सय ९४ जना कैदीबन्दी छन् ।
जेनजी आन्दोलनमा भागेकाले बाल सुधार गृह विराटनगरका किशोरहरुलाई पनि मोरङ कारागारको छुट्टै वार्डमा राखिएको छ ।
केही वर्षअघि कारागारमा क्षमता भन्दा चार गुण बढी कैदीबन्दी राखिएकाले हिंड्डुल गर्न नपाउँदा उनीहरुमा घुँडाको समस्या देखिएको थियो ।
एकै पटकमा ५० जना भन्दा बढी कैदीबन्दी घुँडाको समस्या भएकाले हिंड्डुल गर्न नसक्ने अवस्थामा पुगेका थिए ।
View : 236
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved