विराटनगर । कोशी प्रदेश सरकारले स्थापना गरेको मनमोहन प्राविधिक विश्वविद्यालयलाई एक वर्षभित्र अस्पताल हस्तान्तरण गरिसक्ने मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रतिबद्धता जनाएका छन् ।
मनमोहन प्राविधिक विश्वविद्यालयको चौथो सभालाई आइतबार विराटनगरमा सम्बोधन गर्दै कोशी सरकारका मुख्यमन्त्री कार्कीले एक वर्षभित्र देशकै पहिलो प्राविधिक विश्वविद्यालयलाई अस्पताल हस्तारन्तरण गरिसक्ने प्रतिबद्धता जनाएका हुन् ।
सभामा बोल्दै मुख्यमन्त्री कार्कीले मनमोहन प्राविधिक विश्वविद्यालय देशकै पहिलो प्राविधिक विश्वविद्याय मात्र नभएर कोशी प्रदेश सरकारको गौरव पनि भएको बताए ।
मुख्यमन्त्री कार्कीले प्रदेशको ठूलो कोशी अस्पताल संघले आफैं मातहत राखेकोले अस्पताल हस्तान्तरण गर्न ढिलाई भएको बताए । तर, अब एक वर्षभित्र विश्वविद्यालयका लागि अस्पताल स्थापना गरिसक्ने बताए । कुलपति कार्कीले भने, ‘अर्को सभामा आउँदा विश्वविद्यालयले अस्पताल प्राप्त गरेर शैक्षिक कार्यक्रम सुरू गरिसकेको हुनेछ, सरकाले सकभर भएकै अस्पतालमध्येबाट नभए नयाँ स्थापना गरेर भएपनि अस्पताल हस्तान्तरण गर्नेछ ।
मुख्यमन्त्री कार्कीले चार वर्षअघि प्रदेश सरकारले स्थापना गरेको देशकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालयको प्रगति छोटो समयमा पनि सन्तुष्ट रहेको बताए ।
मनमोहन विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेलले आफ्नै अस्पताल नहुँदा स्वास्थ्य क्षेत्रका विभिन्न प्राविधिक विषयको शैक्षिक कार्यक्रम सञ्चालन गर्न कठिनाई भएको बताए । उनले चाँडै अस्पतालको प्रबन्ध गरी हस्तान्तरण गराउन विश्वविद्यालयका कुलपति तथा कोशी सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई आग्रह गरे ।
कोशी प्रदेश सरकारले आफ्नै ऐन बनाएर २०७६ मा स्थापना गरेको मनमोहन प्राविधिक विश्वविद्यायले आफ्नो अस्पताल नहुँदा अझै स्वास्थ्य क्षेत्रका विभिन्न प्राविधिक विषयमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न पाएको छैन । मनमोहनले तीनवटा स्कुल स्थापना गरेर ईन्जिनियरिङ, फार्मेसीमा स्नातक र अस्पताल व्यावस्थापन विषयमा स्नातकोत्तरको कक्षा सञ्चालन गरिसकेको छ ।
View : 149
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved