महाकवि देवकोटाको ११७औँ जन्मजयन्तीमा साहित्यिक एवं सांस्कृतिक उत्सव सम्पन्न
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्तीका अवसरमा आयोजित विशेष साहित्यिक तथा सांस्कृतिक उत्सवका क्रममा कवि कट्टेललाई प्रशंसा पत्रद्वारा विशेष सम्मान प्रदान गरिएको हो। सम्मान कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्रष्टा, कलाकार, साहित्यकार, स्थानीय बुद्धिजीवी, अग्रजहरुको उपस्थितिले सभास्थन खचाखच भरिएको थियो।
कार्यक्रममा वक्ताहरूले महाकवि देवकोटाको जीवन, दर्शन र कृतित्वमाथि विस्तृत चर्चा गर्दै उनको साहित्यिक योगदान नेपाली समाजका लागि प्रेरणादायी रहेको बताएका थिए ।
साहित्यिक कार्यक्रमसँगै देउसी–भैलो प्रतियोगिता, कविता वाचन र सांस्कृतिक प्रस्तुति पनि आयोजना गरिएको थियो। प्रतियोगितामा संस्कृति संरक्षण समूह, मखमली आमा समूह, सिंहदेवी समाज, राधाकृष्ण सत्संग समाज, क्रियटिभ युथ क्लब नेचा, जमरकट्टेल प्रतिष्ठान, मारूनी समूह लगायतका समूहले उत्साहपूर्वक सहभागिता जनाएका थिए।
कविता वाचन कार्यक्रममा पन्ध्र जना कविहरूले आफ्ना रचनाहरू प्रस्तुत गरेका थिए भने स्थानीय कलाकारहरूले विविध सांस्कृतिक नृत्य र गीत प्रस्तुत गर्दै कार्यक्रमलाई झनै रंगीन बनाएका थिए।
देउसी–भैलो प्रतियोगितामा जमरकट्टेल सेवा प्रतिष्ठान प्रथम, सिंहदेवी सेवा समाज गुठी द्वितीय र मारूनी समूह तृतीय घोषित भएका थिए। विजयी समूहलाई कार्यक्रमका प्रमुख अतिथि बिना राईलगायत अतिथिहरूले क्रमशः रु ५,हजार, रु ३ हजार र रु २ हजार सहित प्रमाणपत्र प्रदान गरेका थिए।
कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष जगन्नाथ बास्तोलाले गर्नुभएको थियो भने उद्घोषण सचिव छविलाल बास्तोलाले गर्नुभएको थियो।
साहित्य र संस्कृति दुबैलाई जोडेर आयोजना गरिएको यस कार्यक्रमले स्थानीय समुदायमा सृजनात्मक चेतना र सांस्कृतिक अभिव्यक्ति प्रवर्द्धन गर्ने महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएका छन्।
समारोहको मुख्य आकर्षण भने कवि हरि कट्टेललाई प्रदान गरिएको सम्मान थियो, जसलाई उपस्थित साहित्यप्रेमीहरूले नेपाली कविताको गौरवको रूपमा स्वागत गरेका थिए।
View : 448
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved