विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा यादवराज कोइरालाले विश्वविद्यालयको स्तर उकास्न अध्ययन, अनुसन्धान र प्रकाशनको ठूलो महत्व रहेको बताएका छन् ।
बिहीबार विराटनगरमा पूर्वाञ्चल विश्वविद्यालय कला, कानुन तथा शिक्षा संकायको डीन कार्यालयले आयोजना गरेको जर्नल विमोचिन कार्यक्रमलाई सम्बोधन गर्दै उपकुलपति प्राडा कोइरालाले अध्ययन, अनुसन्धान र प्रकाशनले विश्वविद्यालयको गरिमा बढ्ने बताए ।
विश्वविद्यालयको साख र स्तर उकास्न धेरै काम गर्न सकिने भन्दै उपकुलपति कोइरालाले स्नातकोत्तर तह अध्यापन गर्ने सबै क्याम्पसलाई कम्तिमा एउटा जर्नल प्रकाशन गर्न सुझाव दिएको बताए ।
सो अवसरमा पूविका रजिष्ट्रार निलमणि पोखरेलले विश्वविद्यालयलाई चिनाउन जर्नल प्रकाशन गर्नु आवश्यक रहेको र कला कानुन तथा शिक्षा संकायले जर्नल प्रकाशन गर्न सुरुवात गरेकोमा बधाई दिंदै अब दोस्रो अंक पनि चाँडै प्रकाशन गर्नुपर्नेमा जोड दिंदै यसका लागि विश्वविद्यालयका पदाधिकारी सधै सहयोग गर्न तत्पर रहेको बताए ।
रजिष्ट्रार पोखरेलले पूविका अन्य डीन कार्यालयहरुलाई पनि कम्तिमा एक–एक वटा जर्नल प्रकाशन गर्न सुझाव दिए । विश्वविद्यालयले अध्यापनलाई जति महत्व दिन्छ त्यतिनै अनुसन्धान र प्रकाशनलाई पनि दिनुपर्ने रजिष्ट्रार पोखरेलको भनाइ छ । अनुसन्धान केन्द्रका प्रमुख प्राडा मीनराज ढकालले जर्नल प्रकाशनलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
जर्नलका कार्यकारी सम्पादक डा. अपारकुमार लम्सालले मानिसलाई रचनात्मक र सिर्जनशील बनाउन अनुसन्धान र प्रकाशनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । विश्वविद्यालयका जनशक्तिलाई रचनात्मक बनाउन विश्वविद्यालयले अनुसन्धानका पर्याप्त अवसरहरू दिनुपर्ने भन्दै डा. लम्सालले जर्नल प्रकाशनलाई पनि उत्तिकै महत्व दिनुपर्ने बताए ।
पूर्वाञ्चल विश्वविद्यालय कला, कानुन तथा शिक्षा संकायले यो वर्षदेखि ‘पीयू जर्नल अफ सोसल साइन्स’ प्रकाशन आरम्भ गरेको छ । कला, कानुन तथा शिक्षा संकायका डीन प्राडा अनिल पोखरेलले जर्नल प्रकाशनलाई निरन्तरता दिनेमा प्रतिवद्धता जनाए । डीन पोखरेलले जर्नलको आवश्यकता र महत्वका विशयमा प्रकाश पारेका थिए ।
सो जर्नलको प्रधान सम्पादकमा डा रमेशबाबु काफ्ले, कार्यकारी सम्पादकमा अपारकुमार लम्साल र सम्पादकमा डा कोमलप्रसाद दुलाल, डा अच्युतराज कट्टेल र डा अमृतकुमार श्रेष्ठ छन् ।
नेपाली र अंग्रेजी दुई भाषामा लेखिएका १५ अनुसन्धानात्मक लेख प्रकाशित जर्नलमा नेपाली भाषाका ६ वटा लेख छन् । आफ्नो संकायबाट छुट्टै जर्नल प्रकाशन सुरुवात भएकोमा गौरव भएको जनता क्याम्पसका प्रमुख महेश निरौलाले खुशी व्यक्त गरे ।
View : 206
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved