Biratnagar, Morang, Nepal
१३ असोज २०८१, आइतवार
+977 21 450305, 515728, 578305
कोशी

कोशी प्रदेशको बजेट बहुमतले पारित

उद्घोष सम्वाददाता
८ असार २०८१, शनिवार

Advertisement

विराटनगर । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि पेश भएको कोशी प्रदेशको वार्षिक बजेट बहुमतले पारित भएको छ । 

कोशी प्रदेश सभाको शनिबार बसेको बजेट अधिवेशनको १३औं बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले प्रस्तुत गरेको कोशी प्रदेश विनियोजन विधेयक २०८१ र अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८१ बहुमतले पारित भएको सभामुख अम्बरबहादुर बिष्टले घोषणा गरे ।

कोशी प्रदेश सभामा प्रस्तुत गरिएको विनियोजन विधेयकमाथि शुक्रबार सात घण्टा लगातार छलफल भएको थियो । छलफलमा क्रममा सत्ता पक्षका सांसदहरूले नै विनियोजन विधेयकमा उल्लेखित विनियोजनप्रति चर्को असन्तुष्टि जनाएका थिए ।

विनियोजनमाथि खर्च कटौतिको प्रस्ताव पेश गर्न सभामुख बिष्टले शनिबार बिहान ११ बजेसम्मको समय दिएका थिए । उक्त समय अवधिभित्र नेपाली कांग्रेसका प्रमुख सचेतक गोपाल तामाङ र राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक सविना बजगाईंले खर्च संसोधन हालेका थिए ।

प्रदेश सभामा प्रस्तुत भएको दुईवटै खर्च कटौतीको प्रस्तावलाई प्रदेश सभाको बहुमतले अस्वीकृत गरेपछि मन्त्री मगरले विनियोजन र अर्थ विधेयक पारित गरियोस् भनी प्रस्ताव पेश गरेका थिए । 

प्रदेश सभाको बहुमतले दुवै विधेयक पारित भएको हो । आर्थिक मामिला तथा योजना मन्त्री मगरले असार १ गते बसेको प्रदेश सभा बैठकमा आगामी आ.व. २०८१/८२ का लागि ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको वार्षिक बजेट प्रस्तुत गरेका थिए ।

प्रदेश सभाबाट बजेट पारित भएसँगै प्रदेश सभाको बैठक अनिश्चितकालसम्मका लागि स्थगित भएको छ ।

View : 154

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved