विराटनगर । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट विराटनगर–१ का वडाध्यक्ष काजीबहादुर बस्नेतको घर र गाडीमा ठूलो क्षति पुगेको छ । जीवनभरको कमाईबाट बनाएको नयाँ घर र गाडीसमेत जलेपछि वडाध्यक्ष बस्नेत निराश बनेका छन् ।
विराटनगर–१ को वडा कार्यालय तोडफोड र आगजनीबाट सुरु भएको घटना वडाध्यक्ष बस्नेतको निजी सम्पत्तिमाथि लक्षित भएको हो । नगरपालिकाको कर्मचारीबाट अवकाश भएपछि पाएको रकमबाट उनले नयाँ घर र गाडी किनेका थिए ।
जेनजीको आन्दोलनको फाइदा उठाउँदै रिसइबी साँध्ने व्यक्तिहरूले आफ्नो निजी सम्पत्तिमाथि आक्रमण गरेको बस्नेतले आरोप लगाएका छन् ।
आक्रमणकारी समूहले बस्नेतको घरमा पार्किङ गरिराखेको निजी गाडी जलाउनुका साथै घरको ढोका, झ्याल, फर्निचर, भान्साका सामग्री, शयन कक्ष, बैठक कक्ष र कमोडसमेत तोडफोड गरी आगजनी गरेका थिए ।
समयमै आगो नियन्त्रणमा आएकाले घरको भुइँतला र बाँकी भाग भने जोगिएको छ । यद्यपि, बैठक कोठा, भान्सा कोठा र शयन कक्ष पूर्ण रूपमा जलेर नष्ट भएका छन् ।
वडाध्यक्ष बस्नेतले आफूले सधैं वडा र वडावासीको हितमा काम गरेकोले यस्तो आक्रमणको कल्पना पनि नगरेको बताए ।
‘युवाहरूलाई देशमै बस्नुपर्छ भन्दै आएको म आफैं आज आफ्नै घर जलेपछि निराश बनेको छु,’ उनले भने, ‘अब के गर्ने भन्ने सोच्न पनि गाह्रो भएको छ ।’
बस्नेतको जलेको घर अवलोकन गर्न पुगेका पतञ्जली योग विराटनगर महानगर समितिका अध्यक्ष माधव अधिकारीले योग शिविर र योगको विकासमा सधैं सकारात्मक रहने बस्नेतमाथि भएको यो आक्रमण निन्दनीय रहेको बताए ।
View : 1139
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved