विराटनगर, २२ कात्तिक : मोरङ जिल्ला अदालतले सामूहिक बलात्कार कसुरमा कराँते प्रशिक्षकद्वय विनोद राउत र सुरज भन्ने अमर सुवेदीलाई ८/८ वर्ष जेल सजाय हुने फैसला सुनाएको छ ।
बुधबार मोरङ जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलाशले राउत र सुवेदीलाई जवरजस्ती करणी मुद्दामा ७ /७ वर्ष र सामूहिक करणी मुद्दामा थप एक वर्ष गरी ८ वर्ष कैद सजाय हुने फैसला गरेको हो ।
पीडित महिलालाई दुवै जनाबाट ३/३ लाख गरी ६ लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश दिएको मोरङ जिल्ला अदालतका सूचना अधिकृत ओमप्रसाद सुवेदीले जानकारी दिए ।
अघिल्लो बुधबार सामूहिक बलात्कार मुद्दामा अदालतले उनीहरूको कसुर ठहर हुने फैसला गरेको थियो । कसुर ठहर भएपछि बुधबार सजाय निर्धारण गरिएको सूचना अधिकारी सुवेदीले जानकारी दिए ।
दुबैलाई जबरजस्ती करणीतर्फ सातदेखि १० वर्षसम्म सजाय माग गरी जिल्ला सरकारी वकिलको कार्यालयले अभियोग दायर गरेको थियो । त्यस्तै सामूहिक जबरजस्ती करणीतर्फ थप पाँच वर्ष कैद सजाय माग गरिएको थियो ।
विराटनगर महानगरपालिका–३ का ५० वर्षीय राउत नेकपा एमाले निकट नेपाल खेलकुद महासंघका केन्द्रीय सचिव हुन् भने अर्का आरोपित सोही स्थानका ५० वर्षीय सुवेदी विराट हेल्थ कलेजका अनुशासन इन्चार्ज हुन् । सोही कलेजमा अध्ययनरत इटहरीकी १९ वर्षीय छात्रालाई सामूहिक बलात्कार गरेको आरोपमा उनीहरू पक्राउ परेका थिए ।
जवरजस्ती करणी मुद्दामा राउत र सुवेदीलाई विसं २०७९ भदौ ६ गते मोरङ जिल्ला अदालतका न्यायाधीश राजेशकुमार कटुवालको इजलाशले पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको थियो । अदालतको आदेशपछि दुवै जना पुर्पक्षको लागि मोरङ कारागारमा रहेका थिए ।
View : 154
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved