विराटनगर । प्रतिनिधि सभा पुनस्र्थापनाको माग गर्दै नेकपा एमाले विराटनगर महानगर कमिटीले मंगलबार मोटरसाइकल र्याली निकालेको छ ।
विराटनगर महानगर कमिटीसहित छिमेकी पालिका कमिटीसँगको सहकार्यमा पार्टी कार्यालय पाञ्चालीबाट सुरु भएको र्याली पुष्पलाल चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनपछि संविधान विपरित सरकार गठन भएको र उक्त सरकारले निर्वाचन गराउन नसक्ने भन्दै विघठित प्रतिनिधि सभा पुनस्र्थापनाको माग गर्दै विराटनगरसहित विभिन्न पालिकामा मोटरसाइकल र्याली निकालेको हो ।
एमाले केन्द्रीय उपाध्यक्ष गुरु बराल, सल्लाहकार परिषद् सदस्य विनोद ढकाल, महानगर कमिटी इञ्चार्ज पर्शुराम बस्नेतलगायतले र्यालीपछिको कोणसभालाई सम्बोधन गरेको महानगर कमिटीका सचिव विज्ञान चापागाईँले जानकारी दिए ।
उनले एक हजार बढी मोटरसाइकलसहित पार्टी कार्यालय पाञ्चालीबाट रोडशेष–मेनरोड–तीनपैनी–ठूलोमिल हुँदै पुष्पलाल चोकमा पुगेको र्याली कोणसभामा परिणत भएको जानकारी दिए ।
यसैगरी ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने नारासहित एमाले रंगेली नगर कमिटीले समेत प्रदर्शन गरेको छ ।
रंगेलीको तिरुपति मन्दिरबाट निस्किएको जुलुस काली मन्दिरमा पुगेर कोणसभामा परिणत भएको नगर कमिटी अध्यक्ष राम चिमरियाले बताए ।
एमाले मोरङ जिल्ला इञ्चार्ज जीवन घिमिरे, कोशी प्रदेशसभा सदस्य लीलाबल्लभ अधिकारी, प्रदेश कमिटी सदस्य तथा रंगेली नगर इञ्चार्ज दिलीप बगडिया र प्रदेश कमिटी सदस्य मनोज अग्रवाल लगायतका नेता कार्यकर्ताको उपस्थितिमा प्रदर्शन गरिएको अध्यक्ष चिमरियाले जानकारी दिए ।
एमाले सुन्दरहरैंचा नगर कमिटीले पनि मोटरसाइकल र्याली निकालेको छ ।
सुन्दरहरैंचा नगर कमिटी अध्यक्ष डिल्लीप्रसाद ढकालका अनुसार जनसम्पर्क अभिवृद्धि र संगठन सुदृढीकरणको उद्देश्यले र्याली आयोजना गरिएको हो । सलकपुरबाट सुरु भएको र्याली खोर्साने, बेलेपुर र बिराटचोक हुँदै कोण सभामा परिणत भएको थियो ।
View : 563
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved