विराटनगर । विराटनगरका वरिष्ठ सर्जन डा. आरके सिंहको सोमबार बिहान निधन भएको छ । सिंहको अजरबैजानको राजधानी बाकुमा स्थानीय समयअनुसार बिहान साढे ६ बजे निधन भएको हो ।
राउण्ड टेबल–४१ नामको क्लबबाट अजरबैजान घुम्न र क्लबको साधारणसभा गर्न गएका बखत डा. सिंहको निधन भएको सँगै गएका एक सहभागीले बताएका छन् ।
उनका अनुसार त्यसका लागि विराटनगरबाट १२ जोडी श्रीमान्–श्रीमती गएका थिए । डा. सिंह साँझ सँगै खानपिन गरेर सुतेकोमा बिहान एक पटक पिसाब फेरेर फेरि सुतेका थिए ।
त्यहाँको समयअनुसार बिहान ९ बजेको भ्रमणका लागि डा. सिंहको जोडी तयार नभएपछि सोधखोज गर्दा डा. सिंह ओछ्यानमै अचेत थिए । उनी बसेको होटलमै डाक्टर बोलाउँदा उहाँको निधन भएको खबरले आफूहरू स्तब्ध भएको टोलीका सहभागी एक व्यक्तिले बताए ।
डा. सिंह विराट शिक्षण अस्पतालका पूर्णकालीन चिकित्सकका साथै एसोसिएसट प्रोफेसर थिए । उनले धरानस्थित वीपी कोइरालामा लामो समय पढाएका थिए ।
त्यस्तै डा. सिंहले पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल संकायको डिन भएर पनि काम गरेका थिए । वारा पिपरा मूल घर भएका डा. सिंह केही वर्षदेखि विराटनगर–१० तिनटोलियामा आफ्नै घरमा बस्दै आएका थिए । ६० वर्षीय डा. सिंहका एक छोरा, एक छोरी र श्रीमती छन् ।
डा. सिंहसहितको टोली यही साउन १७ गते बिहीबार बागडोग्रा–दिल्ली हुँदै शुक्रबार बिहान अजरबैजानको राजधानी बाकु पुगेको थियो ।
उनीहरूको आइतबार औपचारिक कार्यक्रम सकेर मंगलबार नेपाल फर्कने कार्यक्रम थियो । तर नेपाल फर्कने अघिल्लो दिन नै डा. सिंहको निधन भएपछि सँगै गएको टोलीको सबै कार्यक्रम स्थगित भएको छ ।
स्थानीय चिकित्सकले डा. सिंहलाई ‘साइलेन्ट हर्टअट्याक’ भएको हुनुपर्ने अनुमान गरेका छन् ।
डा. सिंहको स्थानीय अस्पतालमा पोस्टमार्टम भए पनि शव नेपाल ल्याउन भने केही समय लाग्ने देखिन्छ । कुनै बेला सोभियत संघअन्तर्गत रहेको अजरबैजानमा नेपाली दुतावास र सम्पर्क कार्यालयसमेत नभएकाले प्रक्रिया लामो लाग्ने सँगै एक सहभागीले बताए ।
‘हामीले डा. साबको शव नेपाल ल्याउन रसियाको मस्कोस्थित नेपाली दुतावासमा सम्पर्क गरिरहेका छौं’ उनले भने, ‘उनीहरूले प्रयास गर्दा पनि दुई/चार दिन लाग्ला जस्तो छ ।’
View : 17782
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved