Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

महिला नेतृत्व सम्मेलन सम्पन्न :

अर्थतन्त्र विस्तारदेखि नीति निर्माणमा महिला सहभागीतासम्मको बहस

उद्‌घोष संवाददाता
२२ वैशाख २०८३, मङ्गलवार

विराटनगर । महिला सशक्तीकरण, उद्यमशीलता र समावेशी आर्थिक विकासको विषयमा केन्द्रित हुँदै ‘कोशी प्रदेशस्तरीय महिला नेतृत्व सम्मेलन (वुमन लिडरसिप समिट २०२६) विराटनगरमा सम्पन्न भएको छ । 

विभिन्न क्षेत्रमा नेतृत्व गरिरहेका महिलाहरूको सहभागितामा आयोजित सम्मेलनले महिलाको आर्थिक, सामाजिक र नीतिगत नेतृत्व र पहुँच विस्तारको आवश्यकता औंल्याएको छ । 

नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिको नेतृत्वमा आयोजित सम्मेलनमा महिलाहरूले राष्ट्रिय उत्पादन, आयआर्जन र उद्यमशीलताका क्षेत्रमा गरेको योगदानको चर्चा भएको हो । 

तर अझै पनि समाजका हरेक क्षेत्रमा महिलाको सहभागिता उल्लेखनीय रूपमा बृद्धि हुन नसकेकोमा चिन्ता पनि व्यक्त भएको छ । 

साना तथा घरेलु व्यवसायमार्फत समाजमा महिलाहरूको नेतृत्वदायी उपस्थिति बढ्दै गए पनि महिलालाई अर्थतन्त्रकै मेरुदण्डका रूपमा अगाडि बढाउन भने अझै पनि नीतिगत चुनौति रहेको कार्यक्रममा बक्ताहरूले बताए ।

सम्मेलनको उद्घाटन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले महिला उद्यमशीलता प्रवद्र्धनका लागि विशेष कार्यक्रम अघि बढाएको बताए । 

उनले प्रदेशका कर्मचारीले प्रदेशमै उत्पादित कपडाको प्रयोग गर्नुपर्ने नीति लिएर अघि बढेको जानकारी दिंदै त्यसबाट महिलाहरूले चलाइरहेका घरेलु कपडा उद्योगलाई ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे । 

सरकारले प्रदेशका कर्मचारीको पोसाक भत्ता पनि वृद्धि गर्ने निर्णय गरेसँगै स्थानीय उत्पादनको प्रवद्र्धनमा थप सहयोग पुग्ने बताए ।

उद्योग स्थापना गर्न चाहने महिलालाई प्रदेश सरकारले १२ वटा वित्तीय संस्थासँग जोड्ने, २ देखि ६ वर्षसम्म ब्याज अनुदान दिने र धितो अभावमा विशेष सहुलियत उपलब्ध गराउने प्रदेश सरकारको स्पष्ट नीति रहेको उनले बताए ।

मुख्यमन्त्री कार्कीले महिलाको नेतृत्वदायी सहभागिता भएका राजनीतिक दलहरू समेत तुलनात्मक रूपमा सफल देखिएको उल्लेख गर्दै महिलालाई अब निर्णय प्रक्रियामा अझ बढी स्थान दिनुपर्नेमा आफू स्पष्ट रहेको बताए ।

उद्योगी पवन गोल्यानले उद्योग क्षेत्रमा महिलाको सहभागिता अझै अपेक्षाकृत कम रहेको बताए । अब नेतृत्व तहमा महिलालाई अघि ल्याउन नीतिगत र संस्थागत पहल आवश्यक रहेको बताए । 

‘हामीले महिलालाई नेतृत्वको स्थान दिन सकेका छैनौं र महिलाले पनि लिन सकेका छैनन्’ उनले भने, ‘महिलाभित्रै प्रतिस्पर्धा र अवरोधको मनोविज्ञान तोड्नुपर्नेछ, सीप विकास, वित्तीय पहुँच र अब मेन्टरसिपलाई प्राथमिकतामा राख्नुपर्दछ ।’

वक्ताहरूले महिलालाई केवल श्रमशक्तिका रूपमा होइन, आर्थिक विकासको प्रमुख आधारका रूपमा लिनुपर्ने आवश्यकता औंल्याए । ज्ञान र सीप विकासमा लगानी बढाउन, वित्तीय पहुँच सुनिश्चित गर्न र सुरक्षित तथा समान अवसरयुक्त वातावरण निर्माण गर्नुपर्नेमा वक्ताहरूले जोड दिएका छन् । त्यस्तै, महिलालाई शक्ति र स्रोतमा समान पहुँचबाट टाढा राख्ने प्रवृत्ति अन्त्य नगरेसम्म समाजको रूपान्तरण सम्भव नहुने उनीहरूले बताए ।

नेपाल उद्योग परिसंघका कोशी प्रदेश अध्यक्ष पवनकुमार सारडाले महिलालाई आत्मनिर्भर बनाउनका लागि सवैको सहयोग र प्रेरणा आवश्यक रहेको भन्दै कसैले पनि असफलतासँग डराउन नहुने बताए ।

उनले आत्मविश्वास र सिर्जनशीलताले आत्मनिर्भरता बढाउने बताए । महिलालाई उद्यमशिलतामा अगाडि ल्याउन आफ्नो कम्पनी समेत महिलालाई रोजगारीको अवसर बढाउने प्रतिवद्धता जनाए ।

कोशी प्रदेश सरकारका प्रमुख सचिव राजेन्द्रकुमार पौडेलले प्रदेशको सम्मेलनले महिलालाई सवै क्षेत्रको नेतृत्वमा स्थापित गर्न नीति तथा कार्यक्रममार्फत महत्वपूर्ण मार्गदर्शन प्रदान हुने विश्वास व्यक्त गरे । 

उनले निजी क्षेत्रको सक्रियताबिना आर्थिक विकास सम्भव नहुने र त्यसका लागि महिलाको सहभागीता पनि त्यतिकै आवश्यक रहेको बताए । 

सम्मेलनका अवसरमा आयोजित प्यानल छलफलमा बोल्दै पूर्व बैंकर अनिलकेशरी शाहले महिलालाई नेतृत्वमा स्थापित गर्न सवै क्षेत्रबाट अवसर सिर्जना र सहभागीताको सुनिश्चितता प्रदान गर्नुपर्ने सुझाव दिएका थिए । 

सो छलफलमा कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरी, महिला उद्यमीहरू कृपा बस्नेत र मौसमी श्रेष्ठले महिला उद्यम विस्तार, कृषि र उद्योग क्षेत्रमा समन्वय र नीतिगत सुधार आवश्यक रहेको बताएका थिए ।

नेपाल उद्योग परिसंघ कोशी प्रदेश समिति महिला विभाग संयोजक रचना राठीले सम्मेलनलाई सफल बनाउन तीनै तहका सरकारको सकारात्मक सहयोग प्राप्त भएको बताइन् । उनले सम्मेलनमा उठेका सवालहरूलाई तीनै तहका सरकारहरूले नीति तथा कार्यक्रममार्फत सम्बोधन गर्ने विश्वास व्यक्त गरिन् । 

कार्यक्रममा निजी क्षेत्र र सरकारबीच समन्वय अभावले महिला उद्यम विस्तारमा अझैपनि पर्याप्त सहजीकरण हुन नसकेकोमा सहभागीहरूले चिन्ता व्यक्त गरेका थिए । 

सरकारले महिला उद्यमीहरूलाई कर छुट, सहुलियत ब्याज र सहज ऋणका लागि पहुँच सुनिश्चित गर्नुपर्ने माग गरेका थिए । 

महिला सम्मेलनले स्वदेशी अर्थतन्त्रलाई १०० अर्ब डलरको स्तरमा पु¥याउनका लागि महिलाको भूमिकालाई उच्च सम्मान प्रदान गर्दै अवसरमा सहभागिता आवश्यक रहेको उनीहरूले बताए । 

कार्यक्रममा कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली, नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरे, सल्लाहकार महेश जाजूलगायत परिसंघका पदाधिकारीहरू, महिला उद्योगी व्यवसायीहरू, विभिन्न स्थानीय तहका प्रमुख तथा जनप्रतिनिधिहरूको सहभागिता थियो ।

१६ बुँदे घोषणापत्र जारी

महिला उद्यमशीलता, वित्तीय पहुँच र नीतिगत सहभागिताको सुनिश्चितता माग गर्दै सम्मेलनबाट १६ बुँदे घोषणापत्र जारी गरिएको छ । घोषणापत्रमार्फत महिलालाई अर्थतन्त्रको मुख्य चालक शक्तिका रूपमा स्थापित गर्न ठोस नीतिगत हस्तक्षेपको माग गरिएको छ ।

महिलालाई उत्पादन, रोजगारी, लगानी र नेतृत्व तहमा सुनिश्चित सहभागिता दिलाउन राज्यले स्पष्ट नीति, कार्यक्रम र सहुलियतको व्यवस्था गर्नुपर्ने उल्लेख छ । 

त्यस्तै, विशेष गरी वित्तीय पहुँच विस्तार, सीप विकास, उद्यम प्रवद्र्धन र बजार व्यवस्थापनमा सरकार र निजी क्षेत्रको सहकार्य अपरिहार्य रहेको जनाइएको छ ।

घोषणापत्रमा महिलाहरू केवल श्रमशक्ति मात्रै नभई निर्णयकर्ता र लगानीकर्ताको रूपमा रूपान्तरण गर्नुपर्ने आवश्यकता औंल्याएको छ । 

त्यसका लागि धितो अभावमा पनि सहुलियतपूर्ण ऋण, कर छुट, व्याज अनुदान र उद्यममैत्री वातावरण निर्माण गर्नुपर्नेमा जोड दिइएको सम्मेलनकी संयोजक एवं परिसंघ कोशी प्रदेश समितिकी उपाध्यक्ष गिरिजा सारडाले जानकारी दिइन् ।

View : 127

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved