विराटनगर । कोशी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राईले भने वर्तमान सरकार काँग्रेसको नभएकोले फेस गर्न तयार भएको बताएका छन् ।
कांग्रेससहितको सङ्घीय सत्ता समीकरण फेरबदल भएर एमाले मिसिएपछि त्यसको बाछिटा कोशी प्रदेश सरकारमा पनि पर्ने चर्चा सुरु भएको बेलामा सरकारका प्रवक्ता राईले भने सरकार फेर्ने प्रक्रिया फेस गर्न तयार रहेको प्रतिक्रिया दिएका हुन् । उनले वर्तमान प्रदेश सरकार नेपाली काँग्रेस नेतृत्वको नभई प्रदेश सांसद केदार कार्की नेतृत्वको भएकोले सडकबाट सरकार फेर्ने नारा लगाउनु उचित नहुने बताए ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतिरमण भण्डारीले केन्द्रमा गठबन्धनमा फेरिएका कारण प्रदेशका मुख्यमन्त्री कार्की अल्पमतमा परेको र आजै राजीनामा दिइहाल्नुपर्ने माग गरेका थिए । तर सरकार प्रवक्ता राईले भने केन्द्रमा मात्रै सरकार बदलिएकोले प्रदेशमा त्यसको असर नपर्ने प्रतिक्रिया दिएका हुन् ।
‘केन्द्रमा सरकार फेरबदल सुरु भयो, मैले बुझेको यत्ति हो, अझ सजिलो गरी यसरी बुझौँ– यो राजा फाल्ने आन्दोलन होइन, सडकबाट भन्नुपर्ने । यसको त प्रक्रिया छ’ प्रवक्ता राईले भने, ‘यो सरकार नेपाली काँग्रेसको सरकार पनि होइन, यो त प्रदेश सांसद माननीय केदार कार्की नेतृत्वको सरकार हो, धारा १६८ उपधारा (५) अन्तरगतको बनेको हो, धेरै नारा लगाउनुभन्दा एकचोटी संविधान हेर्नु, संविधान निर्माताहरुसँग बसेर धाराको प्रयोजनबारे बुझ्नु उत्तम हो ।’
उनले सरकार फेरिने प्रक्रियालाई फेस गर्न पनि आफूहरू तयार रहेको बताएका हुन् । तर यो भन्दा अगाडिका धेरै सरकारहरू अदालतले टुङ्ग्याएकोले सरकार फेरिने व्यवस्था सँगैसँगै जाने दाबी गरे ।
View : 471
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved