Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

पार्टी बैठकमा प्रचण्डले भने– ‘हामी धेरै नै प्रदूषित भयौँ’

प्रचण्डले आत्म–आलोचना जस्तो गरी भनाइ राखिरहँदा उनको साक्षी किनारामा थिए, झापा दमकका रेवतराज पुरी (गगन) । विशेष अदालतबाट भ्रष्टाचार कसुरमा दोषी ठहर भएका पुरी पनि प्रचण्डको भाषण सुनिरहेका थिए ।
उद्घोष सम्वाददाता
२३ साउन २०८१, बुधवार

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले मंगलबार कोशी प्रदेशका अगुवा नेता कार्यकर्ताहरूलाई अगाडि राखेर आफूसहित माओवादी पार्टीका नेता कार्यकर्ता धेरै नै प्रदूषित बनेको बताएका छन् । 

विराटनगरमा माओवादी केन्द्रको कोशी प्रदेश समितिको सातौं पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रचण्डले पार्टीका केही असल कार्यकर्ताहरू भने त्यही प्रदूषणबाट बच्नका लागि मध्यपूर्वतिर पुगेको बताए । उनले पार्टीमा बाँकी बचेकाहरू भने दुई नम्बरीतिर लागेको तथा प्रदूषित बनेको टिप्पणी गरे ।

प्रचण्डले आत्म–आलोचना जस्तो गरी भनाइ राखिरहँदा उनको साक्षी किनारामा थिए, रेवतराज पुरी (गगन) । उक्त प्रशिक्षणको सुरुवाती सत्रदेखि नै सहभागी भएका पुरी माओवादीभित्र प्रचण्डले भनेझैं प्रदूषित पात्र हुन् । दमकको बालुवाटार जग्गा हिनामिना प्रकरणमा अकुत सम्पत्ति आर्जन गरेको आरोपमा सम्पत्ति शुद्धीकरण विभागले दायर गरेको मुद्दामा विशेष अदालतबाट भ्रष्टाचार कसुरमा दोषी ठहर भएका पुरीले पनि प्रचण्डको त्यो भाषण निर्धक्कै भएर सुने । 

माओवादी केन्द्र कोशी प्रदेश समितिका कोषाध्यक्ष रहेका पुरीले विशेष अदालतबाट दोषी ठहर भएपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई नै सम्बोधन गरेर पुनः छानबिन गरिदिन हारगुहार गरेका थिए । उनले २०८० फागुन १४ मा विज्ञप्ति निकालेर कोषाध्यक्ष पदबाटै राजीनामा दिएका थिए । 

दमक नगरपालिका–१३ र १४ बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्न संलग्न रहेको आरोपमा अख्तियारले जग्गा दर्तामा संलग्न रहेका पुरीसहित १७२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले सुरु जग्गा दर्तावाला जग्गाधनी पुरीसहित व्यक्तिको नाममा सरकारी जग्गा दर्ता गर्न संलग्न रहेका नापी कार्यालय चन्द्रगढीका तत्कालीन प्रमुख नापी अधिकृत विष्णुकुमार न्यौपाने लगायत १७२ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । उनी अकुत सम्पत्ति आर्जन गरेको आरोपमा दोषी ठहर भएका थिए । 

प्रशिक्षणका क्रममा प्रचण्डले भनेझैं ‘प्रदूषितहरू’मा पुरीहरूजस्ता व्यक्ति पर्ने परे वा परेनन् तर उनी त्यस्तै व्यक्तिहरूबाट दिनभरी घेरिए । पुरी जस्ताकै चुरीफुरीयुक्त ‘लाल अभिवादन’ मा उनी मुस्कुराए । 

प्रचण्डले पार्टीभित्र असल कार्यकर्ताहरू नभएको बताएका छन् । असल कार्यकर्ताहरू पार्टीभित्रको प्रदूषणबाट बच्नका लागि रोजगारीका लागि भन्दै विदेश पलायन भएको उनले बताए । बाँकी रहेकालाई पार्टीले पनि उचित जिम्मेवारीमा व्यवस्थापन गर्न नसक्दा दुई नम्बरी गरेर भए पनि आफ्नो व्यवस्थापनतिर लागेको बताए । उनले यसो भन्दा हलभित्रका माओवादी नेता कार्यकर्ताहरूमा विस्मयबोध भन्दा हाँसो चलेको सुनिन्थ्यो ।

‘यो बीचमा हामी धेरै नै प्रदूषित भयौं, मदेखि लिएर सबै पदाधिकारीदेखि लिएर तपाईहरूसम्म पनि,’ प्रचण्डले भने, ‘कोही धेरै भयौँ होला कोही थोरै भयौँ होला, प्रदूषित नै नभएका त हामीसँग छैनन् होला, मध्यपूर्वमा होलान् । त्याग तपस्या बलिदान गर्नेहरूलाई हामीले विष्मृतितिर पठायौँ, स्मृतितिर आउने चैं पुँजीपतिहरू, कांग्रेसहरू र एमालेहरू भए ।’

प्रचण्डले पार्टी निर्माणताका हजारौं हजार होलटाइमर कार्यकर्ता माओवादीमा रहेको बताए । माओवादीमा जस्तो अरु कुनै पनि पार्टीसँग त्यस्ता इमान्दार कार्यकर्ता नभएको बताए । ‘त्यति धेरै हामी छौं तर व्यवस्थापन छैन, त्यसो भएपछि हामीले कुनै न कुनै रुपले आफ्नो व्यवस्थापन आफैं गर्ने भन्दा कसले अलिअलि राम्रो गरेर व्यवस्थापन गरे,’ उनले भने, ‘कतिपयले दुई नम्बरी गरेर भए पनि व्यवस्थापन गरे ।’

उनले अब माओवादीको संगठन सुदृढ गर्ने समय आएको बताए । पार्टीको भूमिकालाई गम्भीर रुपले अघि बढाउन पार्टीभित्र एकमत रहेको दाबी गर्दै संसदमा ‘फुल स्पिरिट’ मा पार्टीलाई अझ एकताबद्ध बनाएर अघि बढाउने बताए । पार्टीले स्थापित गरेका एजेण्डाहरूलाई लिएर जनतामा जाने पनि उनले घोषणा गरे । प्रचण्डले आफूले भ्रष्टचारका फायल खोल्दा सरकारबाट बाहिरिनुपरेको उनले दाबी गरे ।

प्रदेश १ को ब्यानरमा बैठक

प्रचण्ड उपस्थित रहेको मंगलबारको सातौं बैठकमा कोशी प्रदेशको साटो प्रदेश नं. १ लेखिएको ब्यानर राखिएको थियो ।

प्रदेश नामकरणमा भने ‘कोशी प्रदेश’मा मतदान गरिसकेको माओवादीले त्यसपछि भएको आन्दोलनलाई आफ्नो राजनीतिक जग बनाउने रणनीतिमा यो बैठक केन्द्रीत गरेको हो । माओवादीले आफैंले पारित गरेको नामप्रति आफैं असहमति जनाएर ढोंग प्रस्तुत गरेको त्यहाँ सहभागी एक कार्यकर्ताले बताए ।

पहिलो प्रदेशसभाबाट हुन नसकेको तत्कालीन प्रदेश १ को नामकरण २०७९ फागुन १७ मा प्रदेशसभाको दुई तिहाई बहुमतबाट गरिएको थियो । त्यतिबेला माओवादीका सांसदहरूले ‘माथिकै निर्देशन’ मुताबिक कोशी नामकरण गर्न तयार भए, र दुई तिहाई पुग्ने गरी मतदान समेत गरेका थिए ।

View : 118

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved