भूतघरजस्तो विद्यालय अब शैक्षिक गन्तव्य
विराटनगर । एक समय थियो, जब विराटनगर–२ शंकरपुरस्थित जनता नमुना माध्यमिक विद्यालयको भवन भूतघरजस्तो फुङ्ग उडेको देखिन्थ्यो, कक्षा कोठाहरू ढुसीले गनाउँथे, र विद्यालयको वातावरणमा निराशा मात्र छाएको थियो ।
प्रधानाध्यापकको आचरणबारे समेत प्रश्न उठ्ने गरेको यस विद्यालयको सुधार होला भन्नेमा कमैलाई विश्वास थियो, जसको प्रत्यक्ष असर विद्यार्थी संख्यामा देखिएको थियो- विद्यार्थीहरू दिनानुदिन घटिरहेका थिए।
तर, आज त्यही जनता नमुना माविले आफ्नो मुहार पूर्ण रूपमा फेरेको छ। उजाडिएको र जीर्ण भवन अब झकिझकाउ बनेको छ, जहाँ विद्यार्थीको संख्या उत्साहजनक रूपमा बढिरहेको छ ।
विद्यालय परिसरमा महिला र पुरुषका लागि छुट्टाछुट्टै आधुनिक शौचालयको व्यवस्था गरिएको छ, भने पूर्व-प्राथमिक कक्षाका नानीहरूका लागि पिङ, खेलौना र चिप्लेटीसहितको आकर्षक बाल उद्यान निर्माण गरिएको छ। स्वच्छ खानेपानीको व्यवस्था, मर्मत सम्भार गरिएका तथा रङ्गरोगनले झलमल्ल बनेका कक्षा कोठा र सिंढीहरूले विद्यालयमा सकारात्मक ऊर्जा थपेका छन् ।
यस परिवर्तनले विद्यार्थी र शिक्षक दुवैमा खुसीयाली छाएको छ ।
परिवर्तनका सूत्रधार : मनोज विक्रम शाह र रोटरी क्लब
यो चामत्कारिक परिवर्तन कुनै गाउँको कथा नभएर विराटनगरकै केन्द्रमा रहेको जनता नमुना माविको यथार्थ हो । विद्यालय व्यवस्थापन समितिका वर्तमान अध्यक्ष मनोज विक्रम शाहको आगमनसँगै विद्यालयको मुहार परिवर्तन भई वर्तमान अवस्थामा आइपुगेको हो ।
विशेषगरी, मनोज विक्रम शाहको सक्रिय पहलमा रोटरी क्लव अफ विराटनगरले विद्यालय भवनको मर्मत सम्भार र शैक्षिक सुधारका लागि करिब ६० लाख रुपैयाँ खर्च गरेको छ ।
रोटरी क्लव अफ विराटनगरका अध्यक्षसमेत रहेका शाहको नेतृत्वमा विद्यालयको भौतिक मात्र नभई शैक्षिक अवस्थामा समेत उल्लेख्य सुधार आएको हो ।
औपचारिक हस्तान्तरण समारोह र भावी योजना
रोटरी क्लवले विद्यालयको भौतिक तथा शैक्षिक स्थितिको सुधारपछि बिहीबार एक विशेष समारोहबीच विद्यालय भवन र सुविधाको हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।
कोशी प्रदेशका सामाजिक विकास मन्त्री तथा शिक्षा मन्त्री पाँचकर्ण राईको प्रमुख आतिथ्यमा सम्पन्न उक्त हस्तान्तरण कार्यक्रममा विराटनगर–२ का वडाध्यक्ष कुमार पोखरेल, रोटरी डिस्ट्रिक ३२९२ का सह–गभर्नर (एजी) कमल अग्रवाल, रोटरी सहयोग परियोजनाका संयोजक कमल बस्नेत, रोटरियन बद्री कटवाल, टी.पी. आचार्य, अमीष रेग्मी, रोहित रौनियार, सरिता अग्रवाल लगायतको उपस्थिति थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक चिन्तामणि रिजाल र शिक्षिका निर्मला कोइरालाले मनोज विक्रम शाहले विद्यालयको उत्थानका लागि गरेको अतुलनीय योगदानको खुलेर प्रशंसा गरे ।
सोही अवसरमा रोटरीले विद्यालयका विद्यार्थीहरूलाई प्रदान गरेको निःशुल्क कम्प्युटर तालिम सफलतापूर्वक पूरा गर्नेहरूलाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो ।
रोटेरियन कमल बस्नेतले जानकारी गराए अनुसार, रोटरीले विद्यालयको भौतिक सुधारमा मात्र सीमित नरही विद्यार्थीहरूलाई कम्प्युटर तालिम र शिक्षकहरूको क्षमता अभिवृद्धि तालिम पनि प्रदान गरेको छ। सामाजिक मन्त्रीको रोहबरमा गरिएको यस हस्तान्तरण कार्यक्रमले रोटरीको शिक्षा क्षेत्रमा गरेको लगानी र दिगो विकासको प्रतिबद्धतालाई स्पष्ट पारेको छ ।
जनता नमुना माविको यो रूपान्तरण विराटनगरका अन्य सामुदायिक विद्यालयहरूका लागि पनि प्रेरणाको स्रोत बनेको छ।
एक व्यक्तिको संकल्प, एक विद्यालयको कायाकल्प
जब मनोज विक्रम शाहले विराटनगर–२ को जीर्ण जनता नमुना विद्यालय देखे, उनले चुप लागेर बस्न सकेनन् ।
रोटरी अध्यक्ष र विद्यालय व्यवस्थापन समितिका अध्यक्षको रूपमा उनले आफ्नो सम्पर्क र संसाधन जुटाएर विद्यालयलाई नयाँ जीवन दिए । त्यसमा नवनियुक्त प्रधानाध्यापक ईश्वर घिमिरले पनि उनलाई साथ दिए ।
"यो विद्यालय हाम्रा बच्चाहरूको भविष्य हो" शाह भन्छन्, "र मैले यसलाई उज्यालो बनाउन ठानेँ।"
आज विद्यार्थीहरूको खुसीयाली नै उनको सबैभन्दा ठूलो प्रतिफल हो ।
View : 855
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved