Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305

स्वचालित पेस्तोल बोकेर घुम्दै गरेका भारतीय पक्राउ

उद्‌घोष संवाददाता
३ फागुन २०८२, आइतवार

पेस्तोल र ब्राउन सुगरसहित पक्राउ परेका पासवान । तस्वीरः उद्घोष

सुनसरी । इटालियन स्वचालित पेस्तोल साथमा बोकेर मोटरसाइकलमा सवार एक भारतीय नागरिकलाई सुनसरीबाट सशस्त्र प्रहरीले पक्राउ गरेको छ । 

भारतबाट नेपालतर्फ छिरेका ती ब्यक्तिको साथबाट लाखौं मुल्यको ब्राउन सुगर पनि बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । 

सुनसरीको कोशी गाउँपालिका–३ जमुवामा शुक्रबार साँझ सशस्त्र प्रहरीले चेकजाँच गर्ने क्रममा बीआर–५० एजे–४२२९ नम्बरको मोटरसाइकलमा सवार ब्यक्ति भाग्न खोजेका थिए ।

भारतको अररिया जिल्ला बेला ग्रामपञ्चायत–४ घर बताउने ३६ वर्षीय रामखेलन पासवानलाई नियन्त्रणमा लिएर शरीर तलासी लिंदा कम्मरको अगाडिको भागमा इटालियन ९ एमएम स्वचालित पेस्तोल र ३ राउन्ड गोली लोड गरिएको म्यागेजिन फेला परेको थियो । 

उनले लगाएको ज्याकेटको गोजीमा ब्राउन सुगर (खैरो हेरोइन) करिब १ सय ग्राम फेला परेको छ ।

पासवानको साथबाट ११ ट्याब्लेट लागुऔषध तथा भारु र नेपाली रुपैयाँ पनि फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । 

निर्वाचन क्षेत्र सुरक्षा वेस श्रीपुरका सशस्त्र प्रहरी हवल्दार मनबहादुर न्यौपाने नेतृत्वको टोलीले ती ब्यक्तिलाई पक्राउ गर्न सफल भएको सशस्त्रले जनाएको छ ।

निर्वाचनको सुरक्षामा अग्रिम खटिएको सुरक्षाकर्मीले हतियार र लागुऔषधको ठूलो कारोबार गर्ने ब्यक्तिलाई पक्राउ गरेको बताइएको छ । पासवानलाई आवश्यक कारवाहीका लागि सशस्त्रले नेपाल प्रहरीको जिम्मा लगाएको छ । 

पासवानले सो हतियार र लागुऔषध धरानका मान्छेको भएको प्रहरीलाई बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका नायव उपरीक्षक चन्द्र खड्काका अनुसार पासवानले धरानका एक ब्यक्तिले सीमा नाका कटाई दिन आफूलाई पेस्तोल र ब्राउन सुगर बोक्न लगाएको प्रहरीलाई बताएका छन् ।

सुरक्षा निकाय निर्वाचन सुरक्षामा केन्द्रित भएकाले सीमावर्ती क्षेत्रबाट हातहतियार तथा विष्फोटक पदार्थ आयात हुन सक्ने भएकाले प्रहरीले भारतीय समकक्षीको सहयोगमा निगरानी गरिहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

View : 84

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved