विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका-७ र उदयपुरको बेलका नगरपालिका-३ बाट सालकको खपेटा सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शनिबार दिउँसो मोरङको बेलवारीबाट पथरीतर्फ आउँदै गरेको प्र.१-०२-०५२ प ११६७ नम्बरको मोटरसाईकललाई इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले चेकजाँचगर्दा मोटरसाईकल चालक रंगेली नगरपालिका-१ का ४५ बर्षीय गगन कुमार गच्छदार र मोटरसाईकल पछाडी सवार सप्तरीको कंञ्चनपुरका ३५ बर्षीय बासुदेव सरदारले बोकेको झोला भित्रबाट ८५० ग्राम सालकको खपेटा फेला पारी दुबै जनालाई नियन्त्रणमा लिएको जनाइएको छ ।
नियन्त्रणमा लिएका उनीहरुमाथि थप अनुसन्धान गर्ने क्रममा उदयपुरको बेलका-३ रामपुर ठोक्सिलास्थित रहेको गिदेरी खोला बगरमा सोही स्थान बस्ने ४८ बर्षीय कृष्ण राज मगर, बेलका नगरपालिका-६ का ५६ बर्षीय डिक बहादुर पूर्वछाने मगर र सप्तरीका ५५ बर्षीय उमेश प्रसाद चौधरीलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुले प्रयोग गरेको बा. ८२ प ८८०५ र को. ११ प ७६२१ नम्बरको दुईवटा मोटरसाईकलमा ३ केजी ७१२ ग्राम सालकको खपेटा समेत बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका पाँचै जनामाथि थप अनुसन्धान तथा कानुनी कारवाहीको प्रकृया अघि बढेको जनाइएको छ ।
View : 144
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved