विराटनगर । भीरबाट लडेर ज्यान गुमाएका एकै घरका दुई बालबालिकाको पोस्टमार्टम नगरी अन्त्येष्टी गरिएको भन्दै प्रहरीले खोटाङमा गाडिएको शव चिहानबाटै निकालेको छ । खोटाङको दिप्रुङ चुइचुम्बा–३ छोरम्बुका गोविन्द बस्नेत (नवराज) की ११ वर्षीया छोरी मेनिषा र ६ वर्षीय छोरा मेघराजको शव प्रहरीले आइतबार उत्खनन् गरेर नियन्त्रणमा लिएको हो ।
लगत्तै पोस्टमार्टमका लागि सदरमुकाम ल्याइएको खोटाङका प्रहरी निरीक्षक सुशान्त मिश्रले जानकारी दिए ।
‘अहिलेसम्म पोस्टमार्टम भएको छैन । कानुनी प्रक्रिया पूरा गर्ने काम हुँदैछ’ मिश्रले भने ‘अहिले मृतक बालबालिकाका बुबा पनि सदरमुकाम आउँदै हुनुहुन्छ ।’
दुर्घटना वा आत्महत्याका घटनामा ज्यान गुमाएकाहरुको अनिवार्य शव परीक्षण गर्नुपर्ने कानुनी प्राव्धान पूरा गर्न प्रहरीले शव उत्खनन् गरेर नियन्त्रणमा लिएको उनले जानकारी दिए ।
दिप्रुङ चुइचुम्बा–३ का वडाध्यक्ष भूपेन्द्र बस्नेतले प्रहरीले शव उत्खनन् गरेर पीडित परिवारलाई झनै दुःख दिएको भन्दै गुनासो गरेका छन् ।
‘मृतकका बुबा मेरा काका हुन्’ उनले भने ‘एकातिर दुई दुई जना छोराछोरी गुमाएको पीडा छ । अर्कातिर प्रहरीले फेरि कानुनी झमेला लगाइदिएको छ । अहिले उहाँ सदरमुकाम लाग्नुभएको छ ।’
वडाध्यक्ष बस्नेतले दिएको जानकारी अनुसार साउन २२ गते बिहीबार बिहान गोविन्दको घरमा डिसहोम जडान गरिएको थियो । गाउँकै शान्ति निकेतन मीनाकर्ण माध्यमिक विद्यालयमा कार्यालय सहयोगीका रुपमा काम गर्ने गोविन्द त्यसदिन बिहान छोराछोरीलाई ‘आउँदै गर है’ भन्दै स्कुलतिर लागेका थिए ।
‘घरबाट त्यही १० मिनेट जति पैदल दुरीमा स्कुल छ, उहाँको श्रीमतीले एक वर्ष अघि अर्कैसँग बिहे गरेर गएपछि तीन छोराछोरी र उहाँमात्रै घरमा हुनुहुन्थ्यो’ वडाध्यक्ष बस्नेतले भने ‘त्यसैले सधैं आफूसँगै नानीहरु पनि स्कुल लिएर जानुहुन्थ्यो ।’
डिसहोम जडानको कामले त्यसदिन ढिला भएपछि उनी हतारहतार स्कुल लागेका थिए । स्कुल पुगेर कोठाहरु खोल्ने, सरसफाइ गर्नुपर्ने जिम्मा भएका उनी हिडेपछि उनका दुई छोरी र एक छोरा स्कुल आएनन् ।
‘टीभी जोडेकाले टिभी हेरेर बसे होलान् भनेर उहाँले पनि वास्ता गर्नुभएनछ’ वडाध्यक्ष बस्नेतले थपे ‘छोराछोरीहरु चाहिं छिमेकका अरु तीन जनासँगै साप्सुखोला तरेर अझै परसम्म पुगेर फर्केछन् ।’
ती बालबालिकाहरुले घर फर्किंदा बाटो बिर्सेर दिप्रुङचुइचुम्बाकै २ नम्बर वडाको खमारे पुगेका थिए ।
‘त्यहाँका स्थानीयबासीले सोधेर गाउँ जाने बाटो देखाएपछि उनीहरु अघि बढेछन्’ वडाध्यक्ष बस्नेतले भने ‘त्यहीक्रममा हाम्रो काकाका जेठी छोरी र छोरा हराएछन् । माइली छोरीसहितका चार जना अरु बालबालिका चाहिं बाटोको एउटा ओढारमा भेटिएका थिए ।’
छोराछोरी खोज्दै जाने क्रममा बुबा गोविन्दले सापतेलको जंगलभित्र रहेको खरुवा खोला नजिकै छोरीको शव फेला पारेका थिए भने त्यहाँभन्दा केही माथि छोराको शव भेटिएको थियो । त्यसदिन रातभरी गाउँलेले रुँगेर भोलिपल्ट शुक्रबार उनीहरुको अत्येष्टी गरेका थिए ।
सदरमुकामबाट २५ कोस टाढा रहेको गाउँका सबैले भीरबाट लडेर बालबालिकाले ज्यान गुमाएको ठहर गरेपछि उनीहरुको अन्त्येष्टी भएको थियो ।
भीरबाट लडेर ज्यान गुमाएका बालबालिकाको शवको पोस्टमार्टम नै नगरी अन्त्येष्टी गरिएको थाहा पाएको प्रहरीले त्यसपछि चासो राख्दै टोली परिचालन गरेको थियो ।
जिल्लाबाट परिचालित टोलीले गाउँले, परिवार र जनप्रतिनिधिको आग्रह अस्वीकार गर्दै शव खोतलेर सदरमुकाम लगेको थियो ।
प्रहरी निरीक्षक मिश्रले आफूहरुले बालबालिकाले भीरबाट लडेर ज्यान गुमाएको सूचना पाएको बताउँदै अनुसन्धान थालिएको जानकारी दिए ।
‘हामीलाई अहिलेसम्म त्यही सूचना प्राप्त भएको छ’ उनले भने ‘घटनाको अनुसन्धान सुरु भइसकेको छ । शवको पोस्टमार्टम भएपछि थप कुरा खुल्न सक्छ ।’
View : 395
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved