विराटनगर । सङ्घीयता र गणतन्त्रको रक्षाका लागि भन्दै नेकपा एमाले कोशी प्रदेशले दमकमा आज जनजागरण सभा आयोजना गरेको छ ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने उक्त सभामा प्रदेशभरीका जिल्लाबाट एक लाख जनाको सहभागिता रहने नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं कोशी प्रदेश इन्चार्ज शेरधन राईले बताए ।
दमकको पशु हाटमा हुने जनप्रदर्शनसहितको सभामा कोशीका हरेक जिल्लाबाट सहभागिता रहने राईले बताए ।
राईले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि औंला उठाउने तत्वलाई सशक्त रुपमा खबरदारी गर्न सभाको आयोजना गरिएको बताए ।
एमालेले चैत १५ गते काठमाण्डौमा हिंसा भड्काउने, लुटपाट गर्ने समूहलाई कारवाहीका लागि सरकारको ध्यानाकर्षण गराएको उनले स्पष्ट पारे ।
प्रतिगमनकारी शक्तिहरूलाई हामी जवाफ दिन चाहन्छौं, परिवर्तनको पक्षमा जनता जुनसुकै मूल्य चुकाउन तयार रहेका छन्, राईले भने, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा बलियो जनमत सिर्जना गर्दै सामाजिक आर्थिक रूपान्तरणका लागि नेपाली जनता अग्रगमनको पक्षमा रहेका छन् ।
प्रेस चौतारी नेपाल कोशी प्रदेश समितिले शुक्रबार सभाको तयारीबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सबै खाले यस्ता अराजक गतिविधिलाई निस्तेज पार्न नेपाली जनता सक्षम रहेको बताए ।
सभामा झापा, इलाम, मोरङ, सुनसरी, उदयपुरबाट ठुलो सङ्ख्यामा सहभागिता रहने जनाइएको छ । त्यस्तै पहाडी जिल्लाबाट पनि उल्लेख्य सङ्ख्यामा नेता कार्यकर्ताहरुको सहभागी रहने उनले जानकारी दिए ।
पूर्वबाट आउने सहभागीहरूलाई रतुवा पुल पूर्वबाट नै सभा स्थलमा र्याली सहित प्रवेश गराइने छ । यस्तै पश्चिमबाट आउनेहरूलाई पश्चिम स्टेसनबाटै र्यालीसहित सभामा प्रवेश गर्ने छन् ।
सभामा झापामा रहेका सबै जातिका झाँकी प्रदर्शन हुने छन् । यस्तै विभिन्न कलाकारहरूको प्रस्तुति समेत रहने छ ।
View : 515
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved