सुनसरी । सीमा क्षेत्रका बासिन्दाको समस्या र गुनासो सुन्नका लागि सुनसरीमा संयुक्त सीमा पैदल यात्रा सुरु भएको छ । भारतसँग ६२ किलोमिटर सीमा जोडिएको सुनसरीको नेपाल–भारत सीमाक्षेत्रमा चारदिने पैदल यात्रा थालिएको हो ।
जिल्ला सुरक्षा समितिको आयोजना तथा सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीको संयोजनमा मंगलबारदेखि सुरु भएको सीमा पैदल यात्रामा सुरक्षाकर्मी र जनप्रतिनिधिले सीमाका बासिन्दासँग प्रत्यक्ष अन्तरक्रिया गर्ने बताइएको छ ।
सीमा पैदल यात्राका क्रममा पहिलो दिन सशस्त्र प्रहरी बल नेपाल बीओपी साहेवगञ्जमा अन्तक्रिया गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए । अन्तरक्रियामा सीमासँग सम्बन्धित विषयमा विभिन्न
सरोकारवाला निकाय, स्थानीय जनप्रतिनिधि, सर्वसाधारण, राजनीतिक दलका स्थानीय नेताहरुसँग छलफल गरिएको प्रजिअ तिवारीले जानकारी दिए ।
मंगलबार भएको अन्तरक्रियामा स्थानीय जनप्रतिनिधिसँगै सुनसरीका प्रजिअ तिवारी, सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिना, सशस्त्र प्रहरी बल नेपाल नं ४ गण हेडक्वार्टरका गणपति समेनन्द बज्राचार्य, राष्ट्रिय अनुसन्धानका अनुसन्धान उपनिर्देशक तुलसी कट्टेल लगायतका सुरक्षा अधिकारीसँग सीमाबासीले सीमा स्तम्भको अवस्था, सीमा अपराध, सीमाबासीका समस्याका बारेमा जिज्ञासा राखेका थिए ।
सो क्रममा स्थानीयले सीमित स्रोत र साधन सहितको सुरक्षाकर्मीको उपस्थिति सीमा क्षेत्रमा अपर्याप्त रहेको बताएका छन् । खुला सीमाको कारण लुकीछुपी हुने लागुऔषध कारोबार र चोरी तस्करीमा कमी हुन नसक्ने उनीहरुको भनाइ थियो ।
भारतीय सीमा सुरक्षा बल एसएसबीसँग समेत समन्वय गरी सीमा नाकाको अवस्था र सीमा स्तम्भको सुरक्षा लगायतका बारेका जानकारी साटासाट गर्ने समेत उद्देश्य रहेको पैदल यात्रा भाण्टाबारी स्थित कोशी किनारमा पुगेर टुङ्गिने जनाइएको छ ।
View : 55
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved