विराटनगर । कोशी प्रदेशकै मुख्य पर्यटन गन्तव्य खुम्बु क्षेत्रमा हेलिकोप्टर सेवा अझै अनिश्चित बनेको छ । बिहीबार खुम्बु पासाङ ल्हामु गाउँपालिकाले कडा भाषामा विज्ञप्ति जारी गरेपछि अनिश्चय अझै चुलिएको छ ।
सगरमाथा राष्ट्रिय निकुञ्ज र वायु सेवा सञ्चालकहरुप्रति आक्रोशित पालिकाको यस्तो अडानले हेलिकप्टर उडान अनिश्चित भएको हो । पालिका र निकुञ्ज मिलेर हेलिकप्टरलाई ४ हजार मिटरभन्दा माथि उद्धारबाहेकका प्रयोजनमा जान नदिने निर्णय गरेका थिए । लगत्तै हेलिकप्टर सञ्चालकहरुले असुरक्षा भएको भन्दै उडान रोकेका थिए ।
त्यसपछि प्रशासनले उडानमा अवरोध गर्नेलाई कारवाहीको चेतावनी दिएपछि निकुञ्ज आफ्नो अडानबाट पछि हटेको थियो । तर, पालिका भने अझै दृढ भएर देखापरेपछि उडान अनिश्चित भएको हो ।
बिहीबार सार्वजनिक सूचना निकालेर गाउँपालिकाले वायु सेवा संघ र सगरमाथा राष्ट्रिय निकुञ्जप्रति रोष मात्रै प्रकट गरेको छ । गाउँपालिकाले भनेको छ ‘संविधानतः जनताको सबैभन्दा नजिक रहेको स्थानीय सरकारसँग समस्त नागरिकहरूका अपेक्षा जोडिनु स्वाभाविक छ ।
खुम्बु क्षेत्रको प्रमुख पेशा व्यवसायको रूपमा रहेको पर्यटन व्यवसाय, विश्व सम्पदा सूचीमा सुचिकृत सगरमाथा राष्ट्रिय निकुञ्जको गरिमा र स्वच्छ वातावरणमा बाँच्न पाउने नागरिक अधिकारमाथि प्रतिकूल प्रभाव पार्ने गरी निश्चित पेशा व्यवसायीकर्मीहरूलाई मात्र लाभ पु¥याउने गरी गरिने क्रियाकलाप एक जिम्मेवार स्थानीय सरकारको लागि किमार्थ स्वीकार्य हुन सक्तैन ।’
गाउ“पालिकाले संविधानका विभिन्न धारा तथा स्थानीय सरकार सञ्चालन ऐन, स्थानीय बजार व्यवस्थापन ऐन, वातावरण संरक्षण र जैविक विविधता, जलाधार, बन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षण, बन, जंगल, वन्यजन्तु, चराचुरुङ्गी, जल उपयोग, बातावरण, पर्यावरण तथा जैविक विविधताको संरक्षणलगायतका काम स्थानीय सरकारको प्रमुख काम, कर्तव्य र अधिकार क्षेत्रभित्र पर्ने विषय भएको उल्लेख पनि गरेको छ ।
हेलिकप्टर उडानमा चरम अव्यवस्था रहेको भन्दै गाउँपालिकाका अध्यक्ष शेर्पाले भनेका छन् ‘हेलिकप्टर उडानका सन्दर्भमा यस क्षेत्रका नागरिकको चासो, वर्तमान अव्यवस्थाको अन्त्यका लागि खुम्बु पासाङ ल्हामु गाउ“पालिका, सगरमाथा राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, मध्यवर्ती क्षेत्र उपभोक्ता समितिहरू र स्थानीयबासीहरूको पहलमा हेलिकप्टर उडानलाई व्यवस्थित गर्नको लागि लिएको पहलकदमीबाट जनतामा छाएको उत्साहमा तुसारापात हुने गरी नागरिक उड्ययन प्राधिकरण, सगरमाथा राष्ट्रिय निकुञ्जनबाट पछिल्लो समयमा आएको सूचनाले खुम्बु पासाङल्हामु गाउँपालिका, स्थानीय संघ–संस्था एवं आमनागरिकहरू आश्चर्य चकित भएका छन् । सगरमाथा राष्ट्रिय निकुञ्जको यस कदमप्रति हाम्रो घोर आपत्ति छ ।’
वायुसेवा संचालक संघबाट एकाएक आपतकालीन उद्धार समेत नगर्ने गरी विज्ञप्ति जारी हुनुले स्थानीयवासी तथा अन्य सेवाग्राहीप्रति सेवाप्रदायकको असंवेदनशीलता प्रष्ट भएको भन्दै गाउँपालिकाले दुःख पनि प्रकट गरेको छ ।
गाउँपालिकाले अगाडि भनेको छ ‘वर्तमान समय अन्तरनिर्भरताको समय हो, निषेधको होइन ।
कुनै पनि समस्याको समाधान वार्ता, संवाद, छलफलबाट निकाल्न सकिन्छ भन्ने मान्यताप्रति गाउँपालिका दृढ छ ।
आपतकालीन उद्धार, मालसामानको ढुवानीका लागि हवाइ उड्ययनलाई सहज तुल्याउन गाउँपालिकाले पहल लिंदालिंदैको अवस्थामा विभिन्न बहाना देखाई हेलिकप्टर उडान स्थगन गर्नु सामाजिक उत्तरदायित्वबाट विमुख हुने र नाफा केन्द्रित हुने प्रवृत्तिको घोतक हो भन्ने आमनागरिकको बुझाई बन्न गएको छ ।
यस अवस्थामा गाउँपालिका बालबालिकाको शान्त वातावरणमा पढ्न पाउने अधिकार, वन, वातावरण तथा वन्यजन्तुको संरक्षण, ध्वनी प्रदुषणको नियन्त्रण, स्थानीय पेशा व्यवसायीहरूको संरक्षणको परिधिभित्र रही सर्वपक्षीय छलफल, संवाद, समन्वय र सहकार्यको माध्यमबाट वर्तमान समस्याको समाधान गर्न तत्पर रहेको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराउन चाहन्छौं ।’
View : 34
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved