Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
राजनीति

प्रधानमन्त्री समक्ष डा. शेखरको आग्रह-  ‘विराटनगरलाई माया गरेको जस्तो मात्रै देखाइदिनुस्, धेरै चाहिँदैन’

उद्घोष सम्वाददाता
७ पुष २०८०, शनिवार

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगर विकासमा पछि पर्दै गएको भन्दै माया गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष आग्रह गरेका छन् । कोइरालाले देशको आर्थिक अवस्था नाजुक अवस्थामा रहेको र व्यवसायिक वातावरण बिग्रिएको तर्फ प्रधानमन्त्री समक्ष ध्यानाकर्षण पनि गराएका छन् ।

शुक्रबार मोरङ व्यापार संघ एक्स्पो २०२३ को उद्घाटन कार्यक्रममा बोल्दै नेता कोइरालाले प्रजातान्त्रिक आन्दोलनमा अग्रणी भूमिका खेलेको विराटनगर अहिले विकासमा पछि परेको बताए । 

कसैसँग केही नमागी अहिलेसम्म आफ्नै खुट्टामा विराटनगर उभिदै आएको पनि उनले बताए । विराटनगरका उद्योगी व्यवसायीहरूले अहिलेसम्म विराटनगरको साख बचाइराखेको नेता कोइरालाको भनाइ थियो । 

‘विराटनगरले प्रजातान्त्रिक आन्दोलनमा अग्रणी भूमिका खेल्यो, तर विराटनगरले कहिले पनि कसैसित केही मागेन । आफ्नै खुट्टामा अगाडि बढ्ने प्रयास भयो, विकासको कुरामा राज्यको ध्यान विराटनगरतिर नपुगेको हो कि, मोरङतिर नपुगेको हो कि जस्तो महसुस गरेको छु’ कोइरालाले भने, ‘प्रधानमन्त्रीजीले अलिकति विराटनगरलाई माया गरेको जस्तो मात्रै देखाउनु भयो मात्रै पनि हामीलाई पुग्छ, धेरै चाहिँदैन ।’

विराटनगरमा रिङरोड निर्माणले तत्कालै गति लिनुपर्ने, विमानस्थललाई अन्तर्राष्ट्रिय उडान हुने व्यवस्था गर्नुपर्ने र उद्घाटन पछि नफर्किएको कार्गो रेल विराटनगरसम्म नियमित आउने व्यवस्था गरिदिन उनले प्रधानमन्त्री दाहाललाई आग्रह गरे ।

‘एउटा रिङरोड छिटोभन्दा छिटो बनाउनु पर्‍यो । सुरु सुरुमा एक करोड आउँथ्यो, त्यो कता बिलाइहाल्थ्यो, अब रकममै बढाइदिनुपर्ने हुन्छ, छिटै विराटनगरलाई रिङरोड अति जरुरी छ,’ उनले भने, काठमाडौंपछिको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल विराटनगरमा थियो भन्ने बुझ्न जरुरी छ, विराटनगरमा कोलकाता फ्लाइट हुन्थ्यो, यो कुरामा प्रधानमन्त्रीजीले ध्यान दिनु जरुरी छ । रेल सञ्चालन त भयो, तर त्यो सञ्चालन भएर आवतजावत भइरहेको छैन, दुई तीन वर्ष त भारतमा पुल भत्किएका कारण व्यवसायीहरूले धेरै दुःख पाउनु भयो, मुस्किलले समाधान भयो ।’

मुलुकको आर्थिक अवस्था अत्यन्त नाजुक रहेको बताउँदै नेता कोइरालाले मुलुकभर ४० प्रतिशत सटरहरु बन्दको अवस्थामा पुगिसकेको दाबी गरे । कोइरालाले बैंकले मानिसको हैसियत हेरिकन कारोबार गर्ने गरेको आरोप लगाए । किसानले कृषि ऋण नपाउने अवस्था विद्यमान रहेको भन्दै  बैंकहरू मिटरब्याजी जस्तै चलेको गुनासो गर्दै त्यस्तो अवस्था अन्त्य हुनुपर्नेमा जोड दिए । 

‘१५ लाख रुपैयाँको कृषि ऋण लिन बैंक पुग्ने कृषकले ऋण पाउँदैन, तर दुई चार अरब रुपैयाँ लिन जानुस्, बैंकर्सले सोफामा राखेर चिया खुवाएर ऋण उपलब्ध गराउँछन्,’ उनले भने, ‘कृषिप्रधान देश भन्ने तर कृषकलाई रित्तो हात फर्काउने काम अब रोक्नुपर्छ । प्रधानमन्त्रीजीले अर्थमन्त्री र राष्ट्र बैंकका गभर्नरसँग बसेर छिटो निर्णय गर्नुपर्दछ ।’

View : 155

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved