विराटनगर, ३० कात्तिक : सुनसरीमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । धरान उपमहानगरपालिका–६ मालपोत चोकमा गए राति भएको टेम्पो दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।
मृत्यु हुनेमा मोरङको केराबारी गाउँपालिका–५ का ३४ वर्षीय पदमबहादुर लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए । दुर्घटनामा सोही ठाउँका २३ वर्षीया जेनिशा मगर, ४५ वर्षीया अञ्जना मगर र २४ वर्षीया रविना मगर घाइते भएका छन् ।
को२ह ५५६५ नम्बरको टेम्पो अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते चारै जनालाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरान लगिएकामा लिम्बूको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । उक्त टेम्पोका चालक भने फरार रहेको प्रहरीको भनाई छ ।
उता मोटसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका सुनसरीको इनरुवा–३ का ६० वर्षीय बालकुमार खतिवडाको बुधबार निधन भएको छ ।
बा२७प ८७०१ नंको मोटरसाइकलले उनलाई ठक्कर दिएपछि गम्भीर घाइते भएका खतिवडालाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रनाउ भण्डारीले बताए ।
View : 172
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved