Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

स्थापना दिवसमा जीवन विकासद्वारा १६० स्थानमा श्रमदान

उद्‌घोष संवाददाता
६ असोज २०८२, सोमवार

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले विभिन्न रचनात्मक कार्यक्रम गरी स्वयंसेवक दिवस मनाएको छ । 

जीवन विकास समाजको स्थापना दिवसको अवसर पारेर आइतबार ‘जीवन विकास स्वयंसेवक दिवस’ मनाइएको हो । 

जीवन विकासका १६० वटा शाखा कार्यालयहरू छन् । सबै शाखा कार्यालयहरूले स्वयंसेवक दिवसमा विभिन्न कार्यक्रम आयोजना गरेका हुन् । 

स्वयंसेवक दिवसमा श्रमदानमार्फत ४५ विपन्न परिवारका लागि घर निर्माण भएको छ । 

२७ वटा शाखाले बजार सरसफाइ, २७ वटा शाखाले मन्दिर सरसफाइ, २७ वटा शाखाले वृक्षरोपण कार्यक्रम गरेका छन् ।  १८ वटा शाखाले विद्यालय सरसफाइ तथा वृक्षरोपण कार्यक्रम गरेका छन् ।

चार वटा प्रहरी बिट मर्मत, २ वटा नगरपालिकाको कार्यालय सरसफाइ, ३ वटा वडा कार्यालय सरसफाइ गरिएको छ । दुई स्थानमा सामुदायिक भवन र दुई स्थानमा पानीको मुहान सरसफाइ  गरिएको जनाइएको छ ।

पृथ्वी जोगाउने अभियान अन्तरगत वातावरण संरक्षणका लागि जीवन विकासले वृक्षरोपणलाई प्राथमिकतामा राखेको छ । कार्यक्रमहरूमा थ्री जिरो क्लब र स्थानीय नागरिक समाजका अगुवा र लघुवित्तका सदस्यहरू सहभागी थिए । 

विसं २०७२ सालमा आयोजित सदस्य सम्मेलनबाट जीवन विकासले श्रमदान गरेर स्वयंसेवक दिवस घोषणा गरेको थियो । २०७३ सालदेखि निरन्तर स्वयंसेवक दिवस मनाउँदै आएको छ । 

समुदायमा श्रमदानको भावना विकास गर्नका लागि सामाजिक काम गर्दै स्वयंसेवक दिवस मनाउन थालिएको जीवन विकास लघुवित्तका प्रमुख कार्यकारी अधिकृत सञ्जयकुमार मण्डलले जानकारी दिए । उनका अनुसार नेपालमा विदेशबाट स्वयंसेवकका रूपमा विभिन्न देशका नागरिकले श्रमदान गर्ने प्रचलन थियो । 

आफ्नो देशका लागि आफैले श्रमदान गरेर मनाउने उद्घोषसहित जीवन विकासले स्वयंसेवन दिवस घोषणा गरेको थियो ।

‘समाजमा श्रमदानको संस्कृति विकास गर्ने उदेश्यले स्वयंसेवक दिवस घोषणा गरेर मनाउन थालियो,’ उनले भने, ‘स्वयंसेवक दिवस श्रमदानमार्फत समाज सेवा गर्ने माध्यम पनि हो ।’ कोशी, मधेश र बागमती प्रदेशमा ३ लाख ५५ हजार बढी सदस्यको घरदैलोमा पुगेर वित्तीय सेवा प्रवाह गरिरहेको जीवन विकासले विभिन्न सामाजिक अभियान पनि सञ्चालन गरिरहेको जनाएको छ ।

View : 347

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved