Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

कोशीमा जेठ मसान्तसम्म ५७ प्रतिशत बजेट खर्च

उद्‌घोष संवाददाता
५ असार २०८२, बिहिवार

विराटनगर । चालु आर्थिक वर्ष २०८१–८२ सकिन एक महिना बाँकी रहँदा कोशी प्रदेश सरकारले ५७ प्रतिशत बजेट खर्च गरेको छ । 

प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट ल्याएको थियो । 

उक्त बजेटको ५७ प्रतिशत अर्थात् २० अर्ब १० करोड  ९९ लाख ९३ हजार ३३१ रुपैयाँ ९ पैसा जेठ महिनाभित्र खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

सरकारले एक महिना अघि अर्थात बैशाख मसान्तदेखि जेठ मसान्तसम्मको एक महिनामा १० प्रतिशत खर्च बढाएको हो । 

बैशाख मसान्तसम्म १६ अर्ब ७२ करोड १७ लाख रुपैयाँ खर्च गरेको थियो । गत बर्षको तुलनामा यस अवधिको बैशाखसम्म ४ दशमलव ४ प्रतिशतले खर्च बढेको जनाइएको छ ।

लेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार गत आव २०८०–८१ को तुलनामा चालु आवमा खर्च प्रतिशत बढ्ने देखाएको छ । 

जेठसम्मको ५७ प्रतिशत खर्च मध्ये चालुतर्फ (स्थानीय तहलाई वित्तीय हस्तान्तरण समेत) ६४ दशमलव ६८ प्रतिशत खर्च भएको छ । 

चालुतर्फ छुट्याएको १७ अर्ब ९० करोड ५ लाख ३८ हजार मध्ये ११ अर्ब ५७ करोड ७९ लाख ७१ हजार ९१३ रुपैयाँ ९५ पैसा खर्च भएको छ ।

उक्त खर्च मध्ये प्रदेश सरकारले स्थानीय तहलाई ४ अर्ब ८५ करोड ६५ लाख ४० हजार रुपैयाँ वित्तीय हस्तान्तरणका लागि छुट्याएकोमा जेठ मसान्तसम्म ४ अर्ब २४ करोड ८० लाख ८२ हजार ४३२ रुपैयाँ ५१ पैसा निकासा गरेको छ ।

त्यस्तै पूँजीगत तर्फ विनियोजनको ४९ दशमलव १५ प्रतिशत खर्च भएको जनाइएको छ । 

चालु आवमा पूँजीगततर्फ १७ अर्ब ३५ करोड ८७ लाख ६२ हजार रुपैयाँ विनियोजन भएकोमा जेठसम्म ८ अर्ब ५३ करोड २० लाख २२ हजार ७७ रुपैयाँ १४ पैसा खर्च भएको जनाइएको छ ।

View : 354

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved