विराटनगर । सुनसरीको झुम्का कारागारबाट फरार भएका दुई जना भारतमा मोटरसाइकल चोरी आरोपमा पक्राउ परेका छन् । पक्राउ परेका दुबै सुनसरी निवासी भएको र यसबारे नेपाल प्रशासनलाई जनाउ दिएको भारतीय प्रहरीले जनाएको छ ।
भारत अररिया जिल्लाको फारबिसगञ्ज स्थित बथनाहाबाट सोमबार पिन्टुकुमार यादव र उमेशकुमार मेहतालाई पक्राउ गरिएको भारतीय प्रहरीको भनाइ छ ।
अररिया प्रहरीका अशिष्टेण्ट प्रमुख मुकेश कुमारको भनाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले जनाए अनुसार पक्राउ परेका दुबै सुनसरीको कप्तानगञ्जका हुन् ।
सुपौल जिल्लाको वीरपुरमा मोटरसाइकल चोरी गरेर उनीहरु फारबिसगञ्जतर्फ जाने क्रममा पक्राउ परेको बताइएको छ ।
पक्राउ परेपछि उनीहरुले जेनजी आन्दोलनका क्रममा कारागारमा भागदौड भएको र आफूहरु पनि भागेको दुबैले बयान दिएका छन् ।
भारतीय प्रहरीले सार्वजनिक गरेका दुई मध्ये एक जनाको मात्रै नाम कारागार व्यवस्था विभागले सार्वजनिक गरेको फरारको सुचिमा भेटिन्छ ।
पिन्टुकुमारको नाम फरारको सूचीमा रहे पनि उनको ठेगाना सुनसरीको देवानगञ्ज उल्लेख छ । उमेशकुमार मेहताको नाम फरारको सूचीमा छैन ।
यस्तै भारतीय प्रहरीले उनीहरुसँगै आएका देवानगञ्जका अनिल यादव भनें फरार भएका छन् । उनको खोजी भई रहेको बताउंने भारतीय प्रहरीले पिन्टु र उमेश कारागारबाट फरार भएदेखि सीमावर्ति भारतीय क्षेत्रमा रहेर ठूलो अपराधको तयारी गरिरहेको दाबी गरेको छ ।
पक्राउ परेका दुई बारे नेपालको प्रशासनलाई सोमबार नै जनाउ दिएको भारतीय प्रहरीले बताएपनि हालसम्म नेपाल प्रहरीलाई औपचारिक जानकारी छैन ।
कोशी प्रदेश प्रहरीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक दीपक पोखरेलले भारतीय प्रहरीले सूचना दिएको बारे जानकारी नभएको बताए ।
कोशी प्रदेशका झुम्का र सोलु कारागार तथा विराटनगरको बाल सुधार गृहबाट भागेका ब्यक्तिहरुको खोजीमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको उनले जानकारी दिए ।
झुम्काबाट भागेका एक हजार ५ सय भन्दा बढी कैदीबन्दी मध्ये ६ सय ९ जना अफै फरार छन् ।
कारागार ब्यवस्था बिभागका अनुसार फरार मध्ये ४६ जना भारतीय, दुई भुटानी र बाँकी नेपाली नागरिक छन् । यस्तै सोलुखुम्बु कारागारबाट फरार ८६ जना मध्ये २ जना अझै सम्पर्कमा आएका छ्रैनन् ।
नेपाल सरकारले तोकेको समयमा कारागारमा नआउने कैदीबन्दीलाई दोब्बर सजाय हुने चेतावनी दिएर फिर्ता बोलाएको छ ।
जेनजी आन्दोलनका क्रममा देशभरका कारागारबाट फरार भएका १५ हजार भन्दा बढी कैदीबन्दी मध्ये ५ हजार २ सय ५७ जना अझै आएका छैनन् ।
मंगलबारसम्मको तथ्याङ्क सार्वजनिक गर्दै बिभागले फरार मध्ये ४ हजार ६ सय १८ नेपाली, ५ सय ३५ भारतीय र एक सय ४ विदेशी छन् । यो बाहेक प्रहरी कार्यालयमा आगजनी गर्दा फरार भएका थुनुवाको संख्या पनि धेरै छ ।
इलाका प्रहरी कार्यालय उर्लाबारीबाट फरार भएका एक युवक दमकमा पक्राउ परेका छन् ।
यतिका कैदीवन्दी फरार रहनु र आन्दोलनका क्रममा देशभरबाट ८ हजार बढी प्रहरीका हतियार लुटिनुले देशमा ठूलो सुरक्षा चुनौति थपिएको छ ।
कतिपय जिल्लामा कारागारबाट भागेका कैदीले हत्या, बलात्कार र लुटपाटसमेत गरेको पाइएको प्रहरीले जनाएको छ ।
बाल बिज्याई गरेर सुधार गृहमा राखिएका दुई सय भन्दा बढी किशोरहरु विराटनगरबाट फरार भएकोमा धेरै जसो नियन्त्रण र सम्पर्कमा आएका छन् ।
View : 278
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved