सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकाका निवर्तमान मेयर शिवप्रसाद ढकालले पूर्वाञ्चल विश्वविद्यालय (पूवि)को सुधारका लागि उपकुलपतिलाई विभिन्न सुझावहरू प्रस्तुत गरेका छन् ।
विश्वविद्यालयको हालै उपकुलपतिमा नियुक्त भएका डा.विजुकुमार थपलियालाई सफल कार्यकालको शुभकामना दिदै निवर्तमान मेयरले विभिन्न सुझाव राखेका हुन् । निवर्तमान मेयर ढकालले विश्वविद्यालय सुधारको लागि स्थानीयले भरपुर सहयोग गर्ने बताउँदै राजनीतिक दल तथा व्यक्तिहरूको दबाबमा भन्दा स्थानीयको आवाजलाई ध्यान दिनुपर्ने बताए ।
निवर्तमान मेयर ढकालले विश्वविद्यालयमा प्राविधिक शिक्षामा जोड दिनुपर्ने, मेडिकल कलेज सञ्चालनको लागि आवश्यक बजेटको माग गरी विनियोजन गर्नुपर्ने, रोकिएको परीक्षाफल प्रकाशन गरिनुपर्ने, विश्वविद्यालयमा रोजगारीमा स्थानीयलाई प्राथमिकता दिनुपर्ने, अस्पतालमा नियमित डाक्टरको सेवा लगायत अन्य सेवाहरू उपलब्ध हुनुपर्ने जस्ता मागहरू राखेका हुन ।
यसैगरी विभिन्न विषयगत विषयहरूमा स्थानीय विद्यार्थीहरूको लागि अलग्गै प्रतिस्पर्धा कोटाको निर्धारण गरिनुपर्ने र विश्वविद्यालयको जग्गा तथा सम्पति सामान सुरक्षित हुनुपर्ने सुझाव ढकालले दिएका थिए ।
उपकुलपति थपलियासँग भएको छलफलमा विभिन्न संघसस्थाका प्रतिनिधिहरूले विश्वविद्यालयमा भएको समस्या बारे प्रश्न उठाएका थिए ।
छलफलमा उपकुलपति डा. थपलियाले आफू स्थानीय भएको, २५ वर्षदेखि यहीँ कार्यरत भएकोले समस्याहरूमा जानकार रहेको, विश्वविद्यालय सुधार्न कै लागि आएकाले सथानियवासीले उठाएका समस्याहरूलाई आफूले सकेसम्म सम्बोधन गर्ने बताए । विश्वविद्यालयमा पठनपाठन र अस्पताललाई थप गुणस्तरीय बनाउन आफू लागिपर्ने थपलियाले उल्लेख गरे ।
View : 210
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved