Biratnagar, Morang, Nepal
२८ भदौ २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

एकल पुरुषले पाए २३ लाख २७ हजार भत्ता

उद्घोष सम्वाददाता
६ भदौ २०८१, बिहिवार

Advertisement

फिक्कल  ६ भदौ । देउमाई नगरपालिकाका एक सय ९८ जना एकल पुरुषले २३ लाख २७ हजार सामाजिक सुरक्षा भत्ता पाएका छन् ।

आर्थिक वर्ष २०८०/८१ मा उनीहरूले उक्त रकम पाएका हुन् । 

देउमाईले नगरभित्रका ६० वर्ष पुगेका अविवाहित, पत्नीसँग सम्बन्धविच्छेद भई विवाह नगरेका ६० वर्ष पुषेका र पत्नीको मृत्यु भई अर्को विवाह नगरेका ६० वर्ष पुगेका पुरुषलाई  एक हजार मासिक भत्ता वितरण गरेको हो । 

देउमाईले आर्थिक वर्ष २०७९/८० मा नगरक्षेत्रका दुई सय सातजना एकल पुरुषलाई  २४ लाख ८४ हजार सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको थियो ।

देउमाईले ‘एकल पुरुष भत्ता वितरण सम्बन्ध कार्यविधि’ पारित गरी एकल पुरुषलाई भत्ता वितरण गरेको लेखा अधिकृत गजेन्द्र एक्तेनले जानकारी दिए ।  

त्यसैगरी, आव २०८०/८१ मा ४५ वर्ष पुगेका अविवाहित ९१ महिलालाई  १० लाख ८९ हजार सामाजिक सुरक्षा भत्ता प्रदान भएको छ ।

‘सामाजिक सुरक्षा कार्यक्रम’अन्तर्गत मासिक रु एक हजारका दरले भत्ता प्रदान गरिएको हो ।  आव २०७९/८० मा देउमाईका ८८ जनाले १० लाख ५६ हजार भत्ता पाएका थिए ।

तेस्रो लिङ्गीका लागि मासिक  पाँच सय भत्ता उपलब्ध गराउने व्यवस्था रहे पनि कोही नआएको लेखा अधिकृत एक्तेनले बताए ।

‘ग’ वर्ग अपाङ्तागता भएका ९२ जनालाई  पाँच लाख ४५ हजार पाँच सय  र आर्व २०८०/८१ मा ‘ग’ वर्ग अपाङ्गता भएका ९२ जनाले  पाँच लाख ४५ हजार पाँच सय भत्ता पाएका छन् । 

यसैबीच, देउमाई नगरपालिकाले चालु आव २०८१/८२ का लागि नगरको तर्फबाट वितरण गर्दै आएको ‘सामाजिक सुरक्षा कार्यक्रम’ स्थगन गरेको छ ।

‘सामाजिक सुरक्षा कार्यक्रम’अन्तर्गत वितरण गर्दै आएको एकल पुरुष भत्ता, एकल महिला भत्ता (४५ वर्षमाथि), तेस्रो लिङ्गी भत्ता, ‘ग’ वर्ग अपाङ्गता भत्ता र ज्येष्ठ नागरिक पोशाक भत्ता वितरण कार्यक्रम स्थगन गरेको हो ।

सामाजिक सुरक्षा भत्ता वितरण नगर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्र प्राप्त भएपछि कार्यपालिका बैठकको निर्णयानुसार अर्को निर्णय नभएसम्मका लागि सामाजिक सुरक्षा कार्यक्रम स्थगन गरिएको नगर प्रमुख पोख्रेलले बताए ।

देउमाईले सुत्केरी स्याहार, दाहसंस्कार र दीर्घरोगी सहयोग कार्यक्रमलाई भने निरन्तरता दिएको छ ।

सुत्केरी स्याहार कार्यक्रमअन्तर्गत  पाँच हजारका दरले दुई पटकसम्म, दाहसंस्कारमा  पाँच हजार र दीर्घरोगीलाई एकपटक  पाँच हजार उपलब्ध गराउँदै आएको छ ।

View : 61

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved