Biratnagar, Morang, Nepal
१८ असार २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
वातावरण

डायनोसरसँगै पृथ्वीमा आएको जीव : अनुसन्धान र पर्यटनको नयाँ गन्तव्य कछुवा केन्द्र

सिमसार क्षेत्र पुरिँदै जानु, नदीको बहाव परिवर्तन हुनु, अत्यधिक विषादी प्रयोग हुनु, प्लास्टिकजन्य प्रदूषण, अवैध व्यापार र जनचेतनाको अभावले कछुवाको प्राकृतिक बासस्थान खुम्चिँदै गएको छ । उनका अनुसार संरक्षणको सबैभन्दा प्रभावकारी उपाय भनेको सिमसार जोगाउनु हो ।
राजु अधिकारी
१५ असार २०८३, सोमवार

Advertisement

अर्जुनधारा (झापा) । बिहानको घाम पोखरीमाथि बिस्तारै फैलिन थालेको थियो । रातभरको झरीपछि झापाको अर्जुनधारा–९ स्थित सहिद स्मृति उद्यानको सिमसारमा पानीको सतह शान्त देखिन्थ्यो ।  वरिपरि चराचुरुङ्गीको आवाज बाहेक अरू कुनै हलचल थिएन ।

पोखरीको किनारमा केही बेर चुपचाप उभिँदा पानीभित्रबाट एउटा कालो आकृति बिस्तारै माथि आयो । केही क्षण टाउको बाहिर निकाल्यो, वरिपरि नियाल्यो अनि फेरि पानीभित्रै हरायो ।

एकैछिन टाउको देखाएर पानीभित्र हराएको त्यो जीवको इतिहास मानव सभ्यताभन्दा ज्यादै पुरानो छ । यो त्यही जीव हो, जसको कथा  डायनोसर पृथ्वीमा हिंडिरहेको समयसम्मै पुग्छ । आज हामी त्यही जीवलाई कछुवाको नामले चिन्छौं ।

जीव वैज्ञानिकहरूका अनुसार करिब ६ करोड ६० लाख वर्षअघि पृथ्वीमा विशाल उल्कापिण्ड खस्दा डायनोसरसहित पृथ्वीका करिब ७५ प्रतिशत जीवजन्तु लोप भएका थिए । यद्यपि त्यही युगका केही सीमित जीव भने सबै प्राकृतिक प्रकोप पार गर्दै आजसम्म बाँचिरहेका छन् ।

कछुवा तिनै जीवमध्ये एक हो । करिब २० करोड वर्षदेखि आफ्नो  बनावटमा खासै परिवर्तन नआइ अस्तित्व जोगाइरहेको यो जीव अहिले भने अर्को संकटसँग जुधिरहेको छ—मानव गतिविधि ।

यही कारणले झापाको अर्जुनधारामा स्थापना भएको कछुवा उद्धार तथा संरक्षण केन्द्र अहिले एउटा संरक्षण केन्द्रभन्दा धेरै ठूलो अर्थ बोक्न सक्षम बनेको छ । यहाँ संकटमा परेका कछुवा त जोगाइनछ नै, त्यो काम गरिरहँदा करोडौँ वर्ष लामो विकासक्रमको जीवित इतिहासको पनि संरक्षण भइरहेको छ । यहाँ अनुसन्धान गरिन्छ । विद्यार्थीहरू सिक्न आउँछन् । विदेशी वैज्ञानिकहरू अध्ययन गर्न आउँछन् । र विस्तारै यो ठाउँ प्रकृतिमा आधारित पर्यटनको नयाँ गन्तव्यका रूपमा परिचित बन्दै गएको छ ।

जीव वैज्ञानिकको जिद्दीको परिणाम

नेपालमा सरीसृप र उभयचर जीवबारे चर्चा हुँदा जीव वैज्ञानिक डा. केआर खम्बुको नाम छुट्दैन । वर्षौंसम्म भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसमा जीव विज्ञान पढाएका खम्बुको अधिकांश समय भने कक्षाकोठाभन्दा जंगल, नदी र सिमसारमै बित्थ्यो । नयाँ प्रजातिका भ्यागुता, सर्प र कछुवा खोज्दै पूर्वी नेपालको वन क्षेत्रमा डुल्नु उनको दैनिकी जस्तै थियो । त्यही यात्राले एकदिन उनलाई झापाको उत्तरी वन क्षेत्रमा दुर्लभ कछुवासम्म पुर्‍याएको थियो ।

‘झापाकै खुदुनाबारी र हचुमासा वन क्षेत्रमा दुर्लभ प्रजातिका कछुवा भेटिए,’  खम्बु सम्झन्छन्  ‘नजिकैका सिमसारमा नेपालमै पाइन्छ भन्ने विश्वाससमेत नगरिएका प्रजाति भेटिएपछि हामीलाई एउटा संरक्षण केन्द्रको आवश्यकता महसुस भयो ।’

यो त्यस्तो समय थियो, जतिबेला गाउँघरमा भेटिएका कछुवा मारेर खाने, बेच्ने वा घरमै पाल्ने क्रम बढिरहेको थियो । त्यसबेलासम्म उद्धार गरिएका कछुवालाई सुरक्षित राख्ने कुनै व्यवस्थित केन्द्र पनि झापामा  थिएन ।

खम्बु भन्छन् ‘जथाभावी छाड्दा मानिसले मार्ने, खाने वा अन्य जनावरले नोक्सान पुर्‍याउने सम्भावना थियो ।  त्यसैले हामीले प्राकृतिक सिमसार भएको अर्जुनधाराको बुढोहोली क्षेत्र रोज्यौं ।’ अहिले सहिद स्मृति उद्यान भनेर चिनिने यो क्षेत्र कुनै बेला स्थानीयले ‘बुढो होली’  भनेर चिन्थे ।

२०२८ सालको झापा आन्दोलनका पाँच सहिदको स्मृतिमा बनेको उद्यान, ठूलो पोखरी, हरियाली र खुला वातावरणले यसअघि नै आन्तरिक पर्यटक तानिरहेको थियो । तर उद्यानभित्र रहेको कछुवा उद्धार तथा संरक्षण केन्द्रबारे धेरैलाई जानकारी थिएन । सन् २०१२ मा स्थापना भएको यो केन्द्रको सुरुआत भने निकै कठिन थियो ।

खम्बु सम्झन्छन्, ‘सुरुमा धेरैले यसलाई अनावश्यक प्रयास माने । उनका अनुसार  कछुवाका लागि पनि छुट्टै केन्द्र चाहिन्छ र  भन्ने प्रश्न धेरैले गरेका थिए । प्रतिनिधिसभाको सदस्य रहिसकेका वैज्ञानिक खम्बु समयले नै यसको उत्तर दिएको बताउँछन् ।

विदेशी अनुसन्धान संस्था, उभयचर तथा सरीसृप संरक्षण नेपाल र सहिद स्मृति प्रतिष्ठानबीचको सहकार्यमा स्थापना भएको केन्द्र अहिले नेपालकै सबैभन्दा सक्रिय कछुवा उद्धार केन्द्रमध्ये एक बनेको छ ।

केन्द्रका प्रमुख लिडकिपर तपिलप्रकाश राई अहिले पनि उद्धार टोलीको नेतृत्व गर्छन् । उनी भन्छन्, ‘केन्द्रको पहिलो काम  कछुवाको उद्धार हो ।’

‘कछुवा भेटियो भन्ने सूचना आयो भने हाम्रो टोली तुरुन्त पुग्छ,’ उनी भन्छन् । ‘धेरैलाई कछुवा संरक्षित जनावर हो भन्ने थाहा नै छैन । कतिपयले मारेर खान खोज्छन्, कतिपयले बेच्न खोज्छन् ।’ उनका अनुसार धेरैपटक स्थानीयले सहजै कछुवा बुझाइदिन्छन् ।   कहिलेकाहीँ वन कार्यालय र प्रहरीको सहयोग लिनुपर्ने अवस्था पनि आउँछ ।

‘हामीले भेटेको, हामी नै मारेर खान्छौं भन्ने मानिस पनि भेटिन्छन्,’ जीवशास्त्रकै अध्येतासमेत रहेका  राई भन्छन् ‘त्यस्तो बेला कानुनी प्रक्रियाबाट उद्धार गर्नुपर्छ ।’ केन्द्रले सन् २०१२ यता   तीन सयभन्दा बढी कछुवा उद्धार गरिसकेको छ ।

अहिले यहाँ १० प्रजातिका ६० भन्दा बढी कछुवा प्राकृतिक वातावरणमै संरक्षणमा छन् । तीमध्ये केही नेपालमै दुर्लभ मानिने प्रजाति हुन् भने एउटा विदेशी प्रजातिको रातो काने कछुवा पनि अध्ययनका लागि राखिएको छ ।

यो केन्द्र अहिले केवल संरक्षण केन्द्र मात्रै बनेको छैन । नेपालका जीव विज्ञानका विद्यार्थी, विदेशी अनुसन्धानकर्ता र वातावरणविद्हरूको साझा प्रयोगशाला बन्न पुगेको छ । जीव विज्ञानमा रुचि राख्ने अध्येताहरुका लागि यो ठाउँ रोचक गन्तव्य बनेको छ ।

अर्जुनधाराको कछुवा उद्धार तथा संरक्षण केन्द्रमा पहिलो पटक पुग्ने धेरै मानिसको ध्यान त्यहाँ रहेका  कछुवातिर जान्छ । तर केन्द्रका लागि ती कछुवा प्रदर्शनका वस्तु मात्रै भने होइनन् । प्रत्येक कछुवाको आफ्नै इतिहास छ, कतै वनबाट उद्धार गरिएको, कतै अवैध ओसारपसारका क्रममा नियन्त्रणमा लिइएको, कतै मानवीय हस्तक्षेपका कारण बासस्थान गुमाएर भौतारिएका कछुवा यहाँ संरक्षित छन् ।

केन्द्रका कर्मचारीले कुनै कछुवा ल्याइएपछि त्यसलाई सिधै पोखरीमा छाड्दैनन् ।  सबैभन्दा पहिले तिनको स्वास्थ्य परीक्षण हुन्छ । घाइते छ कि छैन, कुन प्रजातिको हो, कहाँबाट ल्याइएको हो, प्राकृतिक बासस्थानमा फर्काउन सकिने अवस्था छ कि छैन, यी सबै पक्ष अध्ययन गरिने लिडकिपर राई बताउँछन् ।

उनले भने ‘हरेक कछुवाको छुट्टै फाइल बनाइन्छ । कहाँबाट आयो, कुन मितिमा आयो, स्वास्थ्य अवस्था कस्तो छ, उपचार भयो कि भएन, सबै अभिलेख राखिन्छ । अनुसन्धानका लागि यही अभिलेख सबैभन्दा ठूलो आधार हो ।’ केन्द्रको उद्देश्य केवल जीव जोगाउनु मात्रै होइन, नेपालमा कछुवासम्बन्धी वैज्ञानिक तथ्य संकलन गर्नु पनि हो ।

नेपालमा बाघ, गैँडा, हिमचितुवा वा रेडपाण्डामाथि प्रशस्त अनुसन्धान भएका छन् । तर, सरीसृप, विशेषगरी कछुवामाथि अध्ययन भने निकै सीमित छ । यही कारणले अर्जुनधाराको केन्द्रले विदेशी अनुसन्धानकर्ताको समेत ध्यान तानेको छ । जीव वैज्ञानिक डा. केआर खम्बुका अनुसार नेपालमा पाइने धेरै कछुवाका प्रजातिबारे अझै पर्याप्त वैज्ञानिक अभिलेख छैन ।

‘कुन प्रजाति कहाँ पाइन्छ, तिनको संख्या कति छ, कुन बासस्थानमा के–कस्ता जोखिम छन् भन्ने विषयमा अझै धेरै अनुसन्धान गर्न बाँकी छ, उनी भन्छन्  ‘त्यसैले यो केन्द्र अनुसन्धानका लागि महत्वपूर्ण आधार बनेको छ ।’

केन्द्र स्थापना हुनुअघि उनले जर्मनीसहित विभिन्न देशका वैज्ञानिकसँग संयुक्त अनुसन्धान गरिसकेका थिए । त्यही सम्बन्ध विस्तार हुँदै संरक्षण केन्द्रसम्म आइपुग्यो । आज नेपालका विश्वविद्यालयका विद्यार्थी मात्र होइन, विदेशका अनुसन्धानकर्ताले पनि यहाँ आएर कछुवाको व्यवहार, प्रजनन, आहार, स्वास्थ्य र पारिस्थितिकीबारे अध्ययन गर्ने गरेका छन् ।

अनुसन्धानकर्तालाई केन्द्रमा बसोबास, भान्सा र आधारभूत प्रयोगशालाको सुविधा पनि उपलब्ध गराइएको छ । सामान्य मानिसका लागि एउटा कछुवा अर्को कछुवाजस्तै देखिन सक्छ । वैज्ञानिकका लागि एउटा नयाँ प्रजाति भेटिनु भनेको एउटा नयाँ पुस्तक फेला पर्नुजत्तिकै महत्वपूर्ण हुन्छ ।

जीवशास्त्री डा. रामचन्द्र अधिकारी भन्छन्  ‘कतिपय प्रजाति नेपालमा छन् भन्ने विश्वाससमेत गरिएको थिएन । जब त्यो केन्द्रले प्रमाणसहित अभिलेख तयार गर्यो,  त्यसले नेपालको जैविक विविधताको नक्सा नै विस्तार गर्‍यो । त्यसैले खम्बु सरको नेतृत्वमा स्थापित यो केन्द्र अनुसन्धानकर्ताका लागि सुन्दर गन्तव्य हो । इको टुरिजमका लागि झनै महत्वपूर्ण गन्तव्य हो ।’

उनका अनुसार कछुवाको अध्ययनले केवल एउटा जीवबारे मात्रै जानकारी दिँदैन,  यसले नदी, सिमसार, वनस्पति, जलवायु र सम्पूर्ण पारिस्थितिक प्रणालीबारे पनि धेरै संकेत दिन्छ ।

प्रजननमा सफलता

संरक्षण केन्द्रको अर्को ठूलो उपलब्धि हो, कैदजस्तै वातावरणमा नभई प्राकृतिक शैलीमै केही दुर्लभ प्रजातिको सफल प्रजनन । तपिलप्रकाश राईका अनुसार यो सहज काम थिएन । ‘कछुवालाई प्रजनन गराउन धेरै कुरा मिल्नुपर्छ,’  उनी भन्छन्  ‘पानीको गहिराइ, तापक्रम, घाम, आहार र सुरक्षित वातावरण सबै आवश्यक हुन्छ ।’

केन्द्रमा अण्डा राखेपछि त्यसको निगरानी गरिन्छ । बच्चा निस्किएपछि उनीहरूको वृद्धि र स्वास्थ्य अवस्थाको पनि नियमित अध्ययन गरिन्छ ।

उनका अनुसार यही सफलताले केन्द्रलाई अन्तर्राष्ट्रिय संरक्षणकर्मीहरूको नजरमा पनि पुर्‍याएको छ । जीवशास्त्री राईका अनुसार पछिल्लो समय विश्वभर कछुवाको संख्या घट्दै गएको छ । नेपाल पनि त्यसबाट अछुतो छैन ।

सिमसार क्षेत्र पुरिँदै जानु, नदीको बहाव परिवर्तन हुनु, अत्यधिक विषादी प्रयोग हुनु, प्लास्टिकजन्य प्रदूषण, अवैध व्यापार र जनचेतनाको अभावले कछुवाको प्राकृतिक बासस्थान खुम्चिँदै गएको छ । उनका अनुसार संरक्षणको सबैभन्दा प्रभावकारी उपाय भनेको सिमसार जोगाउनु हो ।

‘सिमसार छैन भने कछुवा पनि रहँदैन । त्यसैले हामी कछुवा जोगाउने कुरा गर्छौं भने वास्तवमा हामी पानी, जैविक विविधता र वातावरण जोगाउने कुरा गरिरहेका हुन्छौं,’ डा. खम्बुले थपे ‘ यही कारणले अर्जुनधाराको केन्द्रलाई अहिले वैज्ञानिकहरू केवल ‘टर्टल रेस्क्यु सेन्टर  भनेर मात्र व्याख्या गर्दैनन् । उनीहरूका लागि यो नेपालको सिमसार संरक्षण आन्दोलनको एउटा जीवित प्रयोगशाला हो ।’

संरक्षण दिगो हुन स्थानीय समुदायको साथ, जनचेतना र प्रकृतिमा आधारित पर्यटन पनि उत्तिकै आवश्यक हुन्छ । यही बिन्दुबाट अर्जुनधाराको कछुवा केन्द्रले अर्को नयाँ पहिचान बनाउन थालेको छ ।

यही क्षेत्रका बासिन्दासमेत रहेका अर्जुन पौडेलका अनुसार सन् २०१२ अघिसम्म यो ठाउँमा फागुन २१ मा मात्रै भीड लाग्थ्यो । सुखानीमा मारिएका पाँच सहिदको शहादतको सम्झना गर्न वामपन्थी दलका नेता कार्यकर्ता आउने गर्थे ।

‘वर्षमा एक दिन राजनीतिक कार्यक्रमले गुल्जार बन्ने यो ठाउँ कछुवा केन्द्र बनेपछि हरेक दिन गुल्जार हुन्छ,’ पौडेलले भने ‘अहिले कछुवा हेर्न, बुझ्न आउनेहरुको संख्या ठूलो छ ।’

यसरी हुलका हुल मान्छेहरु आउँदा स्थानीयबासीले नजिकै व्यापार बढाउन पाएका छन् । कतिपय अनुसन्धानकर्ताहरु त महिनौंसम्म यहीँ बसेर अध्ययन गर्छन् । तिनले गर्ने प्रचारले पनि आगन्तुकहरुको संख्या बढाएको अनुभव स्थानीयबासीसँग छ ।

जीवशास्त्रीहरुका  अनुसार कछुवा पृथ्वीको सबैभन्दा पुरानो जीवमध्ये एक हुनु मात्रै यसको एकल महत्व होइन । यसको वास्तविक महत्व  वातावरणसँग प्रत्यक्ष जोडिएको छ ।

कछुवा स्वस्थ सिमसारको सूचक प्रजाति हो । जहाँ स्वच्छ पानी, प्राकृतिक वनस्पति र जैविक विविधता हुन्छ, त्यहाँ कछुवाको अस्तित्व सुरक्षित रहन्छ । त्यसैले कुनै क्षेत्रमा कछुवाको संख्या घट्नु भनेको त्यहाँको वातावरणमा समस्या सुरु भएको संकेत मानिन्छ ।

कछुवा पानीभित्रको पारिस्थितिक चक्रको एउटा महत्वपूर्ण हिस्सा हो । यसले जलाशयमा रहेका जैविक पदार्थको प्राकृतिक चक्रलाई सन्तुलित राख्न सहयोग गर्छ ।

खाद्य शृङ्खलाको एउटा महत्वपूर्ण सदस्यका रूपमा यसले आफूभन्दा साना जीवको संख्या नियन्त्रण गर्छ भने आफूमाथि निर्भर अन्य जीवको जीवनचक्रलाई पनि निरन्तरता दिन्छ । डा. खम्बु भन्छन् ‘प्रकृतिमा कुनै पनि जीव अनावश्यक हुँदैन । एउटा कडी हटेपछि त्यसको असर क्रमशः अर्को कडीमा देखिन्छ । त्यसैले कछुवाको संरक्षण भनेको सिंगो पारिस्थितिक प्रणालीको संरक्षण हो ।’

केन्द्रले उद्धार गरेका अधिकांश कछुवा एउटै कारणले यहाँ आएका होइनन् । कतिपय मानिसले समातेका हुन्छन् । कतिपय सडक निर्माणका क्रममा सिमसार नष्ट हुँदा बासस्थान गुमाएर बाहिर निस्किएका हुन्छन् । कतिपय नदी तथा पोखरी सुक्दा बाँच्न नसकेर गाउँ पस्छन् । लिडकिपर तपिलप्रकाश राईका अनुसार धेरै मानिसले अझै पनि कछुवाको कानुनी हैसियतबारे जानकारी राख्दैनन् ।

‘धेरैले कछुवा देखेपछि घर लैजान्छन् । कसैले शुभ हुन्छ भनेर पाल्छन्, कसैले मासु खान्छन् । तर यो संरक्षित वन्यजन्तु हो भन्ने थाहा नपाउँदा यस्तो भइरहेको छ,’ उनको भनाइ छ ‘कतिपय अवस्थामा जनचेतना नै उद्धारभन्दा प्रभावकारी हुन्छ ।’

उनका अनुसार यो केन्द्रले झापाका  धेरै ठाउँमा विद्यालय, सामुदायिक वन र स्थानीय समूहसँग छलफल गरेको छ ।  त्यसैले अहिले पहिलेभन्दा धेरै मानिस आफैं फोन गरेर यहाँ कछुवा भेटियो, आएर लैजानुस्  भन्न थालेका छन् ।

यी सबै कामका अलावा केन्द्रको अर्को महत्वपूर्ण काम विद्यालयस्तरबाट संरक्षण शिक्षा सुरु गर्नु हो । प्रत्येक वर्ष हजारौं विद्यार्थी केन्द्र अवलोकनका लागि आउने गरेका छन् । त्यसक्रममा  उनीहरूलाई केवल कछुवा देखाइँदैन, सिमसारको महत्व, जैविक विविधता, जलवायु परिवर्तन र संरक्षणको वैज्ञानिक आधारबारे पनि जानकारी दिइन्छ ।

‘आजका विद्यार्थीले प्रकृति बुझेनन् भने भोलिका नीति पनि सही बन्दैनन् । त्यसैले संरक्षणको सुरुआत शिक्षाबाट हुनुपर्छ,’ डा. खम्बुको भनाइ छ । उनका अनुसार कछुवा संरक्षणको अभियान सरकारी तहबाट मात्र सफल बनाउन सकिन्न,  स्थानीय समुदाय त्यसको साझेदार बन्नैपर्छ ।

अनुसन्धानबाट पर्यटनसम्म

अर्जुनधाराको केन्द्रले पछिल्ला वर्षहरूमा अर्को नयाँ पहिचान पनि बनाएको छ, इको–टुरिज्म ।

सहिद स्मृति उद्यान घुम्न आउने धेरै पर्यटक अहिले कछुवा केन्द्रमा रमाउने  गरेका छन्  ।  विदेशी पर्यटक, विश्वविद्यालयका विद्यार्थी, अनुसन्धानकर्ता र प्रकृतिप्रेमीहरूका लागि यो आकर्षणको केन्द्र बन्दै गएको छ ।

लिडकिपर तपिलप्रकाश राई भन्छन् ‘मानिसहरू यहाँ फोटो खिच्न मात्रै आउँदैनन् । उनीहरू कछुवाको इतिहास, संरक्षण र अनुसन्धानबारे जान्न चाहन्छन् ।  अहिले अध्ययन भ्रमण गर्ने टोलीको संख्या पनि बढिरहेको छ ।’ उनका अनुसार केन्द्रमा आउने धेरै विद्यार्थीले पछि यही विषयमा अनुसन्धान पनि गरेका छन् ।

यो केन्द्रको सपना अझ ठूलो छ ।  केन्द्रलाई केवल उद्धार केन्द्र होइन, दक्षिण एसियाकै महत्वपूर्ण सिमसार तथा कछुवा अनुसन्धान केन्द्र बनाउने लक्ष्य राखिएको छ ।

‘नेपालमा सम्भावना धेरै छ । हामीसँग जैविक विविधता छ । आवश्यक पूर्वाधार र सरकारी सहयोग भयो भने अर्जुनधारालाई अन्तर्राष्ट्रिय अनुसन्धान केन्द्र बनाउन सकिन्छ,’ डा. खम्बु थप्छन् ‘ डीएनए अध्ययन, रेडियो ट्रयाकिङ, दीर्घकालीन प्रजनन अनुसन्धान र अन्तरदेशीय सहकार्यमा नेपालले अझ धेरै काम गर्न सक्छ ।’

अर्जुनधाराको यो केन्द्रबाट बाहिरिँदै  पोखरीको किनारमा फेरि एउटा कछुवा पानीमाथि देखिन्छ । सायद उसलाई थाहा छैन—ऊ करोडौँ वर्ष पुरानो इतिहास बोकेर बाँचिरहेको छ । तर, मानिसलाई यो तथ्य थाहा हुनुपर्छ ।

किनकि कछुवा हरायो भने एउटा जीव मात्र हराउँदैन । पृथ्वीको विकासक्रमको एउटा जीवित अध्याय हराउँछ, जसरी डाइनोसर आज केवल इतिहास मात्रै भएको छ । यो केन्द्रले दिइरहेको सन्देश झनै महत्वपूर्ण छ, संरक्षण भनेको केवल वन्यजन्तु जोगाउनु मात्रै होइन, सिंगो पारिस्थितिक प्रणालीको भविष्य जोगाउनु पनि हो ।

View : 61

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved