विराटनगर । सप्तकोशी नदीमा शनिबार अपरान्ह पानीको बहाव ५ लाख २१ हजार क्युसेक मापन गरिएको छ । यो बहाव ३७ बर्षयता कै उच्च रहेको जनाइएको छ ।
अत्याधिक बहावका कारण कोशी ब्यारेजको नियन्त्रण कक्षले ‘रेड अलर्ट’ जारी गरेको छ । कोशी ब्यारेजका सम्पूर्ण ५६ वटै ढोका खोलिए पनि बहाव बढ्दो दरमा रहेको जनाइएको छ ।
कोशी ब्यारेजमा सन् १९८७ मा सबैभन्दा बढि ५ लाख २३ हजार ७७१ क्युसेक बहाव रेकर्ड भएको थियो । गत वर्ष कोशी ब्यारेजमा ४ लाख ४० हजार क्युसेक बहाव रेकर्ड भएको थियो ।
सन् १९६२ मा कोशी ब्यारेज सञ्चालनमा आएपछि ९ लाख ५० हजार क्युसेक पानीको बहाव क्षमता हुने जनाइएको थियो ।
शनिबार दिउँसो १२ बजे सप्तकोशीमा पानीको बहाव ५ लाख ७ हजार ६९० क्युसेक पुगेको थियो । १ बजे बहाव बढेर ५ लाख २१ हजार पुगेको कोशी ब्यारेजले जनाएको छ ।
यसअघि सन् १९८९ मा सप्तकोशी ४ लाख ७२ हजार क्युसेक पुगेको थियो । त्यसभन्दा अगाडि सन् १९६८ मा भने ७ लाख ३० हजार क्युसेक बहाव मापन गरिएको जनाइएको छ ।
कोशी ब्यारेजमा अहिले सर्वसाधारणलाई आवत जावत गर्न दिइएको छैन । तर यात्रु बोकेका सवारी साधन संचालन भने संचालन भइरहेको जनाइएको छ ।
कोशी ब्यारेजमा सुनसरी र सप्तरीका उच्च सुरक्षा अधिकारीहरू समेत उपस्थित भएर निगरानी र आवश्यक सतर्कताको रणनीति बनाइरहेको जनाइएको छ ।
View : 172
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved