Biratnagar, Morang, Nepal
९ मंसिर २०८१, आइतवार
+977 21 450305, 515728, 578305
कोशी

करण कामत हत्या प्रकरण:

केटी जिस्क्याएको विवादले झगडा, झगडापछिको इगोले 'हत्या'

उद्घोष सम्वाददाता
२६ असार २०८१, बुधवार

विराटनगर । केटी जिस्क्याएको विषयमा विराटनगरमा एक समूहको आक्रमणमा अर्को समूहका एक युवकको ज्यान गएको छ  । समूहगत झडपमा घाइते दुई जनाको अवस्था गम्भीर छ । घटनामा संलग्न सबै किशोरहरु हुन् ।

विराटनगर–२ स्थित नेपाल टेलिकमको प्रादेशिक कार्यालय नजिकै सोमबार राति १०ः२० मा दुई समूहबीच झडप भएको थियो । धारिलो हतियारको प्रहारबाट कटहरी–२ जम्टोकीका २१ वर्षीय करण कामतको ज्यान गएको छ । कामतसँगै रहेका उनका छिमेकी १७ वर्षीय अमन राय र २२ वर्षीय बिक्रम मण्डल गम्भीर घाइते छन् । 

घटनामा संलग्न एक नाबालकसहित चार जनालाई प्रहरीले पक्राउ गरेर हत्या आरोपमा कारवाही थालेको छ । पक्राउ पर्नेहरु अस्पतालमा आउने बिरामी र तिनका आफन्तलाई औषधि र उपचारमा सहयोग गराएर कमिशन लिने काममा संलग्न रहेको बताइएको छ । नाबालक बाहेक तीन जना विराट नर्सिङहोम नजिकै डेरामा बस्नेहरु हुन् ।  

विराटनगर–११ का २० वर्षीय सोनु गिरी, ताप्जेजुङ दोखुका १८ वर्षीय दावा शेर्पा र भोजपुर भुल्केका २० वर्षीय सञ्जय पुरी र १६ वर्षीय एक किशोर पक्राउ परेका छन् । विवादका क्रममा शेर्पाले कैंचीले तीन जनालाई शरीरका बिभिन्न ठाउँमा प्रहार गरेको प्रहरीको भनाइ छ । कटहरी– २ का वडाध्यक्ष हरि राजवंशीका अनुसार मृतकको मंगलबार दाहसंस्कार गरिएको छ । घाइतेहरुको परिवारसँग उपचार गराउने रकम छैन ।

‘उपचार गर्ने पैसा नभएर सम्पत्तिका नाममा ५ धुरमा बनेको घर भएको जग्गाको लालपुर्जा लिएर ऋण खोज्दै हिँडेका छन्’ राजवंशीले भने–‘अति बिपन्न परिवारका युवाहरु घाइते छन् उपचार गर्न सहयोग उठाउने तयारीमा छौं ।’ प्रहरीका अनुसार, आइतबार बेलुका विराटनगरबाट घरतर्फ फर्कने क्रममा मृतक र घाइते समूहका युवाहरुले युवतीलाई जिस्क्याएको आरोप छ । 

भोलिपल्ट सोही बाटोमा उनीहरुको बाटो ढुकेर युवाहरु बसेका थिए । सेन्टजोसेफ स्कुलमोडमा उनीहरु माथि आक्रमण भएको थियो । घटना नियोजित भने नभएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार अघिल्लो दिन विवाद भएको र भोलिपल्ट पनि विवाद हुँदा झडप भए पनि ज्यान मार्ने उद्देश्य नरहेको युवाहरुले बताएका छन् ।

‘कलिलो उमेरका किशोरहरु यस्ता घटनामा संलग्न हुनुमा अभिभावकको कमजोरी देखिन्छ’ बस्नेतले भने–‘राति अबेरसम्म घरमा नआउँदा परिवारले निगरानी गर्न नसक्ने, उनीहरुको गतिविधि निगरानी गर्न नसक्ने अवस्था देखिएको छ ।’ राति घर बाहिर हिँड्ने किशोरहरुको लागुऔषध र मादक पदार्थ सेवन गर्ने समस्या रहेको उनले बताए ।

कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरी लागुऔषध सेवन गर्ने युवाहरुबाट हत्या जस्तो घटना भएको बताउँछन् । उनले अति गरिव परिवारका आफ्नो पालिकाका युवा मारिएको र घाइते भएको विषयमा प्रहरीलाई गम्भिरतापूर्वक छानविन गर्न आग्रह गरिएको बताए । मृतक परिवारमा किरिया खर्चमा सात हजार रुपैंयाँ दिने गरिएको बताउँदै उनले यी घाइते युवाको उपचारमा पनि सहयोग गरिने जानकारी दिए ।

View : 298

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved