Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
विचार

कांग्रेसको सयदिने आन्तरिक अभियानमा धनकुटा

रामसुन्दर राजवंशी
२७ कार्तिक २०८१, मङ्गलवार

नेपाली कांग्रेसको १०० दिने विशेष आन्तरिक अभियान अन्तर्गत नेपाली कांग्रेस केन्द्रीय सदस्य एवम् पेशागत वृद्धिजीवी विभाग प्रमुख डा डिला संग्रौला केन्द्रीय प्रतिनिधिको रूपमा धनकुटा जिल्लामा खटिनु भएको छ । केन्द्रीय प्रतिनिधिको टोलीमा राजु मास्के, रामसुन्दर राजवंशी र निर्मला राजवंशी लगायतले जिम्मेवारीसहित सहयात्री हुने अवसर प्राप्त भयो ।

नेपाली कांग्रेसको १०० दिने विषेश अभियानमा केन्द्रीय प्रतिनिधि डा. डिला संग्रौलाको टोली नेपाली कांग्रेसको जिल्ला कार्यसमिति धनकुटाका सभापति दिनेश राई र सचिव विजय सन्तोषी राईसँग भेटघाट भई विशेष अभियान सफल बनाउन व्यापक बैठक गरी विशेष कार्य योजना बनाई अभियन शुभारम्भ भयो ।

नेपाली कांग्रेसको १०० दिने विशेष अभियानमा केही पालिका प्रमुख, उपप्रमुख, पार्टीका नेतागण र जिम्मेवार साथीहरूसँग भेटघाट गर्न मौका प्राप्त भयो । यस अभियानमा पालिका जनप्रतिनिधिहरूसँग छलफल, वहस, सेवाइ र अन्तर्क्रिया गर्दागर्दै धनकुटा जिल्लामा जल जमिन र जङ्गलसँग जोडिएको आिदवासीहरूको बारेमा अध्ययन गर्नतिर ध्यान केन्द्रित हुन पुग्यो ।

धनकुटा जिल्ला प्राकृतिक सौन्दर्यताले भरीपूर्ण छ । धनकुटामा उर्वराभूमि र कृषिजन्ययोग्य जमीन पनि छ । यो जिल्लामा कृषिजन्य बालीनाली, तरकारी र फलफूल उत्पादन फरक–फरक भूगोलमा भएको पाइन्छ । कृषि उत्पादनलाई प्राथमिकता दिन सक्यौं भने रोजगारको अवसरमा वृद्धि हुनका साथै उद्यमशीलताको विकास गर्न मद्दत मिल्छ र आत्मनिर्भरता बनाउने कार्यसमेत गर्दछ । तसर्थ कृषि क्षेत्रको विकासका लागि धनकुटा पनि एक उर्भर स्थल हो । यसप्रति तिनै तहका सरकारले ध्यान दिन आवश्यक छ ।

धनकुटा जिल्लामा पनि  उर्वराशक्ति भएका भूमिको कमी छैन । यस्ता भूमिलाई अझ उब्जाउयोग्य बनाउन सिंचाइको आवश्यकता देखिएको छ । मूलत : यस जिल्लामा  खानेपानीका साथसाथै सिंचाइका लागि चाहिने पानीको अत्यधिक समस्या देखिएको छ ।

धनकुटाका युवा वर्गमा पनि विदेशजाने मोह बढ्दो छ । विद्यालय र क्याम्पसहरूमा युवकको भन्दा बढी युवतीहरूको सख्या  छ । यस क्षेत्रमा रोजगार नभएकै कारण युवाहरू विदेशीनु परेको हो । तसर्थ यस क्षेत्रमा स्थानीय उत्पादनलाई बजारीकरण गरी व्यवस्थापन गर्न सकियो भने यूवा युवतीहरू विदेशीने क्रम कम भएर जाने छ ।

नेपाली कांग्रेस १०० दिने विशेष अभियान अन्तर्गत यो स्तम्भरकारलाई पनि धनकुटाका आदिवासीहरूको वारेमा चासो बढ्न थाल्यो । त्यहाँका आदिवासीहरूसँग सहकार्य गरी जोडिने कार्य सुरु गरियो । आदिवासीहरूको बारे खोज गर्न उत्सुकता बढ्न थाल्यो ।

धनकुटा जिल्लामा आदिमकालदेखि आदिवासीहरू बसोबास गर्दै आएका छन् । यहाँका आदिवासीहरूको भेषभूषा, भाषा र संस्कृति एक अर्कासँग नमिल्ने भएकोले मौलिक पहिचानले भरिपूर्ण रहेको पाइन्छ । त्यहाँका आदिवासीहरूको पृथक सोच छ । जसले गर्दा हामी आदिवासीसँग जोडिन पुग्यौं ।

धनकुटा जिल्लामा आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदबाट आदिवासी सांस्कृतिक संग्रहालय सञ्चालित छ । संग्रहालय पूर्णरूपले व्यवस्थित नभएको देखिन्छ । यसप्रति तिनै तहको सरकारले वेवास्ता गरेको पाइन्छ । यसले आदिवासीहरूको मौलिक सांस्कृतिक मासिदै गएको छ । जसले गर्दा आदिवासीहरूको मौलिक पहिचान खस्किदै गएको छ ।

आदिवासी सांस्कृतिक संग्रहालयमा सांस्कृतिक मौलिक पहिचान दिने १५ वटा जातिहरूमध्ये किराँत आठपहरिया, किराँत, कुलुङ, किरातँ याम्फू, किराँत देवान, खड्गी जाति सुचिकृत उन्मुख भएको पाइन्छ ।  १० वटा जातिहरू किराँत राई, किराँत याक्थुङ, किराँत  याक्खा, नेवार, मगर, माझी, गुरूङ, तामाङ, शेर्पा र भुजेल सुचिकृत भएको पाइन्छ ।

यो संग्रहालयले आदिवासीहरूको भेषभूषा, भाषा र संस्कृतिलाई संरक्षण एवम् प्रवर्द्धन गर्न मद्दत गरेको छ । धनकुटा जिल्ला यी आदिवासीहरूको ऐतिहासिक स्थल हो । यो संग्रहालयले सांस्कृतिक र पर्यटनलाई चहलपहल बनाउन मद्दत गरेको छ ।

आदिवासी सांस्कृतिक संग्रहालयको बारेमा अझ थप जानकारी गराउनका लागि धनकुटावासी सञ्जयसन्तोषी राईसँग भेट भयो । उहाँ आदिवासीहरूको विशेष गरी जानकारी राख्ने बौद्धिक व्यक्तित्व, जनविश्वास साप्ताहिक पत्रिकाका पत्रकार र प्रेस स्वतन्त्र सेनानी पनि हुन् । उहाँसँगको भेटघाटमा धनकुटाका आदिवासीहरूको बारेमा गहन रूपमा जानकारी दिनुभयो ।

धनकुटा जिल्लाका १५ आदिवासीहरुमा एक फरक किसिमको आदिवासी आठपहरिया रहेको पाइन्छ । जसको भेषभूषा, भाषा, संस्कार संस्कृति  छुट्टै  छ । आठपहरिया र आठ माङ थान भएकोले आठपहरिया हुन गएको मान्यता रहेको पाइन्छ । आठ पहरियाहरूको मुख्य पेशा खेतीपाती रहेको पाइन्छ ।

धनकुटा आदिवासीहरूको छुट्टै सांस्कृतिक झल्काउने मुन्धुमविज्ञ (धामी) ले पूजाआजा गर्नुृका साथै गाउँघरमा झारफुकसमेत गर्ने गरेका पाइन्छ । गाउँघरमा दैत्यशक्तिले कसैलाई साह्रो गाह्रो बनाएको छ  भने पिचासी शक्तिलाई नष्ट पारिदिने मान्यता यहाँका आदिवासीहरूमा देखिएको छ ।

धनकुटाका आदिवासीहरूको चाडपर्व, रहनसहन र गरगहना लगायतको मौलिक संस्कृति हुनुको साथै बोलिने भाषा पनि छुट्टै  पाइन्छ । त्यतिमात्र नभएर संस्कृति बाजागाजाको ताल, लय र गीतसमेत फरक पाइन्छ ।

आदिवासीहरूको आस्था, विश्वास र भरोसाको केन्द्र मानिने थरहरू पनि विभिन्न स्थानमा मौलिक पहिचानकासाथ साकेला थानमा राई, लिम्बूहरूको भूमि पूजा, आठपहरियाको माङथान, नेवारहरूको नासल थान, तामाङहरूको गुम्बा, शेर्पाहरूको गुम्बा लगायतका थानहरूले धनकुटाका सांस्कृतिक भूमिकालाई उचाइ दिएको पाइन्छ ।

तामाङ र शेर्पा आदिवासीहरूको भेषभूषा, भाषा र संस्कृति छुट्टै रहेको पाइन्छ । आठपहरिया जाति कुनै पनि अन्य जिल्लामा बसोबास नभएको स्थानीवासीहरूको दावी छ । आठपहरिया आदिम कालदेखि नै धनकुटामा बसोबास गर्दै आएका हुन् भनिन्छ । आठपहरिया सांस्कृतिक रूपमा धनी भएको पाइन्छ ।

आठपहरियाको श्रद्धा र आस्थाको केन्द्र माङ्थान हो । जहाँ आठपहरिया जातिका मानिसले पूजाआजा गर्ने चलन छ । आठपहरिया विशेष गरी भदौं पूर्णिमा, मंसीर पूर्णिमा र बैशाख पूर्णिमामा भव्य–श्रव्य, सुख–दुःख साटासाट गरेर मौलिक तरिकबाट चाडपर्व मनाउने चलन चलिआएको छ । यो जातिले विशेष प्राकृतिक पुजनलाई महत्व दिदैं आएका छन् ।

त्यसैगरी धनकुटाको भीरगाउँको मधुगंगा खोला जङ्गलको भीर ओडारमा मान्छेहरूको कङ्कालहरू रहेको पाइन्छ । जुन चाहिं आदिवासीसँग जोडिएको इतिहास रहेको स्थानीय पत्रकार सागर सन्तोषी राईले बताए । यस्ता मौलिक संस्कृति र संस्कार संरक्षण एवम् प्रवर्द्धन गर्न सबै तहको सरकार लाग्नुपर्ने उनको जोड छ ।

यस्तै आदिवासीहरूको खोज गर्दै जाँदा मत्स्य देशका विराट राजाको दुई वटा धर्मपत्नी रहेको स्थानीय बुद्धिजीवीहरूले बताए । एउटा बुढी मोरङ अर्को छोटी मोरङ । छोटी मोरङका आदिवासीहरू पनि विराट राजासँग जोडिएको हुनुपर्ने स्थानीय पत्रकार सागर सन्तोषी राईले बताए ।

अन्त्यमा, नेपाली कांग्रेसको १०० दिने विशेष अभियानमा धनकुटा जिल्लाको आदिवासीहरूको मौलिक संस्कृतिले सार्थकता पाउनुपर्छ । तसर्थ आठपहरिया समुदायको अरू आदिवासीहरू भन्दा छुट्टै पहिचान झल्किने जाति हो । आठपहरिया जाति बाउन्न चूल्हे घर अहिले पनि धनकुटामा अवस्थित छ । यसमा सबै परिवारको आ–आफ्नै चूल्हो रहेको पाइन्छ । यसले बिहेवारी र पूजाआजा गर्ने कार्यमा छुट्याउने गर्दछ ।

यस्तो छुट्टै संस्कार र संस्कृति भए पनि विराट राजवंशी समुदाय जस्तैगरी आठपहरिया आदिवासी जनजाति महासंघमा छुट्टै पहिचानका रुपमा सूचिकृत हुनबाट बञ्चित छ । विराट राजवंशी र आठपहरियाप्रति राज्य गम्भीर हुन जरूरी छ ।

(तस्वीरमा आदिवासी जनजाति सङ्ग्रहालय धनकुटा )

View : 202

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved