विराटनगर । भ्रष्टाचारको विरोधमा जेन–जी समूहको शान्तिपूर्ण प्रदर्शन अराजक बन्दा भएको क्षतिका कारण निजी क्षेत्र चिन्तित बनेको छ ।
राजनीतिक आन्दोलनका नाममा विध्वंश मच्चिएको भन्दै उद्योग संगठन मोरङले नवगठित सरकार समक्ष सत्यतथ्य छानबिन गर्न र संलग्नलाई दण्डित गर्न विज्ञप्तिमार्फत माग गरेको छ ।
‘निजी क्षेत्रका लागि यो क्षण अत्यन्त चुनौतीपूर्ण र वेदनापूर्ण’ भएको संगठनले जनाएको छ । यस्तो परिस्थितिसँग जुध्दै पुनर्निर्माण र पुनरुत्थानमा जुट्नु अपरिहार्य भएको आइतबार निकालिएको विज्ञप्तिमा उल्लेख छ ।
संगठनले निजी क्षेत्रलाई लक्षित गरी विभिन्न औद्योगिक प्रतिष्ठानमा तोडफोड र आगजनी भएको जनाएको छ ।
भ्रष्टाचार तथा बेथितिविरुद्ध युवा र जेनजीहरूले गरेको ऐतिहासिक आन्दोलनले ल्याएको परिवर्तनका कारण प्रधानमन्त्री बन्न सफल भएकी सर्वोच्च अदालतकी पूर्व प्रधानन्यायधीस सुशीला कार्की समक्ष घटनामा संलग्नलाई कारवाहीको माग गरेको हो ।
‘नेपालको पहिलो महिला प्रधानमन्त्रीका रुपमा सम्माननीयज्यूले मुलुकको नेतृत्व सम्हाल्ने जिम्मेवारी प्राप्त गर्नू हाम्रा लागि गौरवको क्षण हो’ विज्ञप्तिमा भनिएको छ ‘नेपाली युवा पुस्ताका साथै नेपाली जनताको भ्रष्टाचारमुक्त समाज तथा आर्थिक समृद्धिको चाहना अनुरुप नवनियुक्त प्रधानमन्त्री कार्कीको दूरदर्शी नेतृत्वमा मुलुकले विधिको शासन, शान्ति, सुशासन र समावेशी आर्थिक औद्योगिक विकासको दिशामा सार्थकता पाउने विश्वास व्यक्त गर्दछौं ।’
संगठनले आन्दोलनको क्रममा भने मुलुकले अकल्पनीय क्षति व्यहोरेको भन्दै चिन्ता व्यक्त गरेको छ ।
मुलुकभरका सरकारी संरचनाहरुलाई ध्वस्त पारिएको र निजी क्षेत्रका कयौं उद्योग व्यवसाय तथा निजी आवासहरूमा लक्षित गरि लुटपाट, आगजनी तथा विध्वंस भएको संगठनले जनाएको छ ।
निजी क्षेत्रलाई नेपालको आर्थिक रूपान्तरणको मेरुदण्डको रुपमा लिंदै आर्थिक समृद्धिको यात्रामा जेन–जी आन्दोलनले देखाएको भ्रष्टाचार मुक्त नयाँ नेपाल निर्माणको मार्गदर्शनलाई आत्मसात गर्न युवाहरूको अपेक्षा अनुसार समावेशी, न्यायपूर्ण र दिगो आर्थिक प्रणाली निर्माण गर्नु साझा कर्तव्य भएको संगठनले उल्लेख गरेको छ ।
View : 341
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved