Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

चुनाव र ग्रहणले अलमलमा फाुग पूर्णिमा

उद्‌घोष संवाददाता
१९ फागुन २०८२, मङ्गलवार

विराटनगर । आज फागुन १९ गते मंगलबार फागु पूर्णिमा तराईका जिल्लामा मनाइने होली पर्वलाई चुनाव र ग्रहण दुवैले प्रभावित पारेको छ । आजकै दिनको राति लाग्ने खण्डग्रास चन्द्रग्रहणले पर्व मनाउने कि नमाउने धेरैलाई अन्योलमा पारेको छ ।

धार्मिक मान्यताअनुसार ग्रहणको बेला ‘सुतक’ लाग्ने भएकाले पूजापाठ, शुभकार्य तथा भोजन ग्रहण गर्न नहुने जनविश्वास छ । यही कारण धेरैले मंगलबार होली पर्व नमनाएर फागुन २० गते बुधबार मनाउने तयारी गरेका छन् ।

नेपालमा पहाडी जिल्लामा होली एक दिन अघि र तराई–मधेसका जिल्लामा पूर्णिमाकै दिन मनाउने परम्परा छ । 

नेपालका तराई जिल्लामा होलीलाई विशेष सामाजिक सद्भाव र पारिवारिक मिलनको पर्वका रूपमा लिइन्छ । 

यसपालि भने चन्द्रग्रहणले परम्परागत उल्लासमा केही अन्योल थपेको धार्मिक तथा सामाजिक संस्थाका अगुवा भीखमचन्द सरल बताउ“छन् । 

एकातर्फ ग्रहण लाग्ने अर्कातर्फ लगत्तैको चुनाव हुने भएकाले यस वर्षको होली पर्व प्रभावित भएको उनले बताए । 

यद्यपि सरलले मंगलबार बिहानका राति होलिका दहन गरेर सोही दिनको बिहान ९ बजेसम्म होली खेल्ने आफूहरूको कार्यक्रम रहेको जानकारी दिए । 

स्थानीय प्रशासनले यस वर्ष सार्वजनिक स्थानमा होली नखेल्न भनेकाले पायक पर्नेगरी मंगलबार वा बुधबार जुनैदिन पनि आफ्नो घरभित्र होली मनाउन सकिने उनले बताए ।

यस्तै चुनावी सुरक्षाका कारण स्थानीय प्रशासनले अनुमति नदिएपछि विराटनगरमा बर्सेनि हुने महामुर्ख सम्मेलन र अलबेला बरियाती स्थगित भएको छ । 

मारवाडी युवा मञ्चको अगुवाई तथा आयोजनामा हुने यी कार्यक्रम वर्षौदेखि हुँदै आएका थिए । तर प्रशासनले अनुमति नदिएपछि यो वर्ष नगरिएको मारवाडी युवा मञ्च विराटनगरका पूर्वअध्यक्ष शिवरतन शर्मा जोशीले जानकारी दिए । 

ग्रहण र सुतकको धार्मिक अर्थ

हिन्दू धार्मिक ग्रन्थहरूमा चन्द्रग्रहणलाई विशेष खगोलीय घटना मात्र नभई आध्यात्मिक रूपमा पनि संवेदनशील समय मानिएको छ । 

स्कन्द पुराण लगायतका पुराणहरूमा ग्रहणका बेला जप, ध्यान र स्नान गर्नुपर्ने तर शुभकार्य नगर्नुपर्ने उल्लेख पाइन्छ ।

धर्मशास्त्रमा ‘सुतक’ भन्नाले अशुद्ध समय भन्ने बुझिन्छ । ग्रहण सुरु हुनुभन्दा केही समयअघि सुतक लाग्छ र ग्रहण समाप्त नहुँदासम्म कायम रहन्छ भन्ने मान्यता छ । 

यस अवधिमा मन्दिर प्रवेश, देवपूजा, पकाएको भोजन ग्रहण र रमाइलो उत्सव मनाउन नहुने परम्परागत विश्वास छ ।

ग्रहणको बेला प्रकृतिमा सूक्ष्म परिवर्तन हुन्छ भन्ने धार्मिक विश्वास छ । त्यसैले उक्त समयमा रंग–उत्सवभन्दा संयम, जप–तप र ध्यानलाई प्राथमिकता दिनु उपयुक्त मानिन्छ । 

होली आफैमा धार्मिक तथा सांस्कृतिक पर्व भएकाले ग्रहणसँग जुधेमा अर्को दिन सारेर मनाउनु परम्परासम्मत हुने धार्मिक अगुवाहरूको भनाइ छ ।

खगोलविद्हरूका अनुसार चन्द्रग्रहण पृथ्वी, चन्द्रमा र सूर्य एउटै रेखामा पर्दा देखिने प्राकृतिक प्रक्रिया हो । 

सूर्य ग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सुतक लाग्ने भएकाले भोजन गर्नु नहुने धार्मिक विश्वास छ । 

मंगलबार बिहान ९ः०३ बजेपछि बालबालिका, वृद्धवृद्धा र आतुरबाहेकले भोजन गर्नु नहुने शास्त्रीय मान्यता रहेको नेपाली पात्रोमा उल्लेख छ ।

View : 81

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved