झापा, ३ साउन । झापामा एक वर्षको अवधिमा चार वटा हात्ती मरेका छन् । गत आर्थिक वर्ष २०८०-८१ मा जिल्लाका विभिन्न स्थानमा चार हात्ती मरेको अवस्थामा फेला परेको डिभिजन वन कार्यालयका प्रमुख मेघराज राईले बताए ।
१४ वर्षको तथ्याङ्कका आधारमा हात्ती यो मृत्युदर उच्च हो । आव २०६७-६८ देखि आव २०७९-८० सम्म एक–दुई र आव २०७५-७६ मा तीन हात्तीको मृत्यु भएको कार्यालयले जनाएको छ ।
दाह्रा काटिएको अवस्थामा हात्ती मृत फेला परेकाले जिल्लामा हात्तीको सिकार भइरहेको पुष्टि भएको छ ।
हात्तीको आक्रमणबाट मृत्यु भएका चारजनाका परिवारले रु १० लाखका दरले रु ४० लाख र अन्य क्षति (घाइते, घर भत्काएको, अन्नपात नष्ट गरेको) बापत रु ३० लाख क्षतिपूर्ति पाएका छन् ।
हात्तीको आक्रणमा घाइते भएकालाई दुई लाख क्षतिपूर्ति दिने व्यवस्था भए पनि घाइतेको उपचारमा मोटो रकम खर्च हुने गरेको प्रमुख राईले बताए ।
“झापा देशभरिमै सबैभन्दा बढी हात्ती प्रभावित जिल्लामा पर्छ”, उनले भने, “गत वर्ष देशभरि बाँडिएको राहत रकममध्ये करिब ११ प्रतिशत झापामा बाँडिएको थियो ।”
हात्तीलाई छेकबार गर्न जति नै प्रयास गरे पनि हरेक वर्ष हात्ती पूर्वबाट प्रवेश गरेर कोशी पुगेर फर्किने गरेको उनले बताए ।
गत आवमा जिल्लामा हात्तीपीडितका लागि एक करोड ५० लाख राहत माग गरिए पनि ७० लाख मात्र आएको कार्यालय प्रमुख राईले बताए ।
झापामा आव २०६७-६८ देखि आव २०८०-८१ सम्म ६० जना मानिस र २१ हात्तीको मृत्यु भएको छ । मृतक व्यक्तिहरु मध्ये सातजना गैरनेपाली रहेको कार्यालयका सूचना अधिकारी अञ्जना पुरीले बताए ।
विगत १४ वर्षमा चार हजार पाँच सय हात्तीपीडितलाई नौ करोड राहत वितरण गरिएको कार्यालयले जनाएको छ । झापामा २५ देखि ३० रैथाने हात्तीमध्ये १० रैथाने हात्तीको नामकरणसमेत गरिएको छ ।
पछिल्लो समय हात्तीलाई जङ्गलभित्रै रहने वातावरण निर्माण गर्न वनभित्र सिमसार, हात्तीफल, केरा, बाँस लगायतका हात्तीले मन पराउने आहारा लगाउन थालिएको छ ।
हात्ती प्रभावित क्षेत्रमा टर्चलाइट, साइरन लगायतका सामग्री वितरण गरिएको कार्यालयका वन अधिकृत ऋषिराज पराजुलीले बताए ।
View : 346
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved