Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

अझ परिस्कृत र व्यवस्थित ‘अर्ग्यानिक घर’ मार्फत ४० जिल्लाको रैथाने उत्पादन बिक्री गर्दै अभिषेक

उद्‌घोष संवाददाता
१८ साउन २०८२, आइतवार

विराटनगर । विराटनगरका शहरिया उपभोक्ताको भान्सामा अर्ग्यानिक उत्पादन पुर्‍याउने अभियानमा जुटेका २४ वर्षीय अभिषेक गौतमले चार बर्षअघि विराटनगर–१० रेन्बो गल्लीमा सुरु गरेको ‘अर्ग्यानिक घर’ लाई अझ परिस्कृत र व्यवस्थित गर्दै सञ्चालनमा ल्याएका छन् । 

थप व्यवस्थित गरी सञ्चालनमा ल्याएको अर्ग्यानिक घरको विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले शुक्रबार उद्घाटन गरेकी छन् ।

‘जंकफुड’ खाने आधुनिक जीवनशैली र प्रशोधित खानेकुराको विकल्पमा ताजा र अर्ग्यानिक खाद्यवस्तुको खोजीमा रहेका शहरिया उपभोक्ताका लागि अग्र्यानिक घर रोजाई बन्दै गएको हो । शहरिया उपभोक्ताहरूमा अग्र्यानिक खाद्यवस्तुको प्रयोग गर्ने बानी पनि बढ्दै गएको छ ।

रैथाने र स्थानीय जातका खाद्यान्न सहजै पाउन भने मुस्किल भएको बेलामा गौतमले एउटै छानमुनिबाट उपभोक्तालाई अग्र्यानिक खाद्यवस्तु बिक्री गर्न सफल भएका हुन् ।

गौतमले ४० वटा जिल्लामा उत्पादित ताजा तरकारी, दाल दलहन, अन्नबाली र त्यसबाट बनेका तत्कालै खान मिल्ने परिकारसमेतलाई अर्ग्यानिक घरमार्फत बिक्री वितरण गर्दै आएको बताए ।

 किसानबाटै खरिद गरेर ल्याउने भएका कारण आफूले बिक्रीमा राखेका खाद्य वस्तु अर्ग्यानिक रहेको उनको दाबी छ । अर्ग्यानिक घरमा कम्पोष्ट मलको मात्रै प्रयोग गरिएका खाद्य उत्पादन बिक्री हुने गरेको बताए ।

कोशी प्रदेशकै उच्च हिमाली जिल्ला संखुवासभा र सोलुखुम्बुमा फलेका अन्नबाली र त्यसबाट उत्पादित खाद्यान्नदेखि कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लाका अर्ग्यानिक उत्पादनलाई गौतमले ‘अर्ग्यानिक घर’ मार्फत शहरी क्षेत्रका उपभोक्ताको भान्सामा पुर्‍याएका छन् ।

‘चार बर्षदेखि अग्र्यानिक खाद्यवस्तु बिक्री गरिरहेको छु, शहरी उपभोक्तालाई अग्र्यानिक वस्तुको महत्व बुझाउनदेखि अर्ग्यानिक नै हो भन्ने विश्वास दिलाउन सफल भएको छु’ उनले भने, ‘अर्ग्यानिक उत्पादन बिक्री गर्न सफल भएको छु, अर्ग्यानिक घरलाई केही परिस्कृत गरेर सञ्चालन सुरु गरेको छु ।’

पूर्वमा इलामको अर्थोडक्स र ग्रीन टिदेखि सन्दकपुरको किबी, संखुवासभाको सख्खर, सोलुको लुक्लामा फल्ने सिमी, धनकुटाको खारेको घिउ, तेह्रथुमको नौनी, तेह्रथुमको कोदो र फापरको बिस्कुट, पाँचथरको किबीको जुस, खोटाङको दाल दलहन, धनकुटाकै बेलको जुस जस्ता अनेकौं स्थानीय उत्पादन अर्ग्यानिक घरमा भेटिन्छन् ।

त्यस्तै गुल्मीको लोकप्रिय योर्गेली सख्खर, मुस्ताङको उवा (जौ भन्दा राम्रो अन्न) मार्सी चामल, जुम्लाकै स्याउ, कोदो फापरदेखि हुम्ला जुम्लामा मात्रै फल्ने संसारको सवैभन्दा पुरानो अन्नबालीका रुपमा चिनिएको चिनो कागुनो, डोल्पाको सिलाजित, रुपन्देहीको मोरिङ्गो पनि अर्ग्यानिक घरमा बिक्री हुने गरेको गौतमले बताए ।

‘पहिले ३० जिल्लाका स्थानीय तथा अग्र्यानिक उत्पादन बिक्री गर्दै आएको र अहिले ४० जिल्लाका उत्पादन बिक्री गरिसकेको छु’ उनले भने, ‘गाँजाको साबुन, तितेपातीको साबुन, जिम्मु, टिम्मुर, अपराचिता, बेलचण्डा र चमेली र घण्टी फूलको चिया, सिस्नुको धुलो, हेम्पको साबुन र नुडल्स पनि सहजै पाइन्छ ।’

यसका साथै, सिजन अनुसार फल्ने र उत्पादन हुने हरेक स्थानीय उत्पादनलाई अर्ग्यानिक घरसम्म ल्याइँदै आएको उनले बताए । गौतमले युवा पुस्ताभन्दा उमेर ढल्किंदै गएका शहरिया उपभोक्ता आफ्नो पसलमा बढी आउने गरेको अनुभव सुनाए । 

अर्ग्यानिक वस्तुको महत्व अब युवा पुस्तालाई बुझाउन जरुरी भएको गौतमले बताए । आफुले पसल नै सञ्चालन गरेर अग्र्यानिक उत्पादन बिक्री गरेका कारण घरेलु उत्पादनको ब्राण्डिङसमेत हुँदै गएको उनको दाबी छ । 

विराटनगर, इटहरी, दमकदेखि विर्तामोडसम्म लाग्ने गरेका मेला महोत्सवमा समेत आफूले स्टल लिएर अर्ग्यानिक उत्पादनलाई बिक्री वितरण र प्रवर्द्धन गर्दै आएको बताएका छन् ।

गौतमले विराटनगर बाहिर रहेका आफ्ना नियमित उपभोक्तालाई आवश्यक पर्दा अनलाइन डेलिभरीसमेत गर्दै आएका छन् ।

अर्ग्यानिक उत्पादनप्रति उपभोक्ताको विश्वास बढेकै कारण विराटनगरकै बरगाछीमा पहिलो आउटलेट सञ्चालन गरिसकेको उनले जानकारी दिए ।

View : 494

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved