बिराटनगर : कोशी प्रदेश प्रहरी कार्यालय बिराटनरले चाडपर्वलाई सुरक्षित बनाउन चाड पर्व सुरक्षा कार्य योजना २०८० कार्यन्वयन गर्दै थप प्रहरी परिचालन गरेको छ । चाड पर्व सुरक्षा कार्ययोजना अनुसार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रदेशमा सात हजार ५१५ जना प्रहरी जनशक्ति परिचालन गरेको जनाएको छ ।
जिल्लाहरुमा सुरक्षा व्यवस्थालाई मजवुत बनाई आम नागरिकमा सुरक्षित र भयरहित तवरबाट चाडपर्व मनाउनका लागि मातहतका कार्यालयहरुमा आग्रह गरेको जनाएको हो । चाडपर्वलाई हर्ष र उल्लासका साथ मनाउने वातावरण सृजना गर्न, बैङ्क तथा वित्तीय संघ संस्थाहरुमा हुने कारोवार सुरक्षित बनाउन, विभिन्न गन्तब्यसम्म जाने यात्रुहरुलाई पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउन र कुनै किसिमको अप्रिय घटना, दुर्घटना हुन नदिन चाडपर्व सुरक्षा योजना तयार गरी दुरुस्त र योजनाबद्ध रुपमा प्रहरी परिचालन गरेको जनाइएको छ ।
चाड पर्वको समयमा हुन सक्ने अवान्छित तथा अपराधिक क्रियाकलाप रोकथाम तथा नियन्त्रण र विगतका बर्षहरुमा भएका घटनालाई विश्लेषण गरी चाडपर्व लक्षित सुरक्षा योजना कार्यन्वयन गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार प्रदेशस्तरिय कमाण्ड पोष्ट स्थापना गर्नुका साथै कोशी प्रदेशका १४ वटै जिल्लाहरुमा जिल्ला कमाण्ड पोष्ट स्थापना गरेर प्रहरी परिचालन गरिएको जनाइएको छ । साथै प्रदेश रिजर्भ टोली ४ वटा र जिल्ला रिजर्भ टोली २६ वटा र जिल्लाहरुमा १७ वटा स्ट्राईकिङ टोली तयार गरी परिचालन गरिएको प्रदेश प्रहरी कार्यालय विराटनगरको सूचना समन्वय शाखाले जनाएको छ ।
जिल्लाहरुमा शान्ति सुरक्षाको निम्ति बिशेष चेकिङ, नियमित चेकिङ, रात्री कालिन चेकिङ, ट्राफिक सहित संयुक्त चेकिङ, मोवायल गस्ती, पैदल गस्ती, मोटरसाईकल गस्ती, साईकल गस्ती तथा बिभिन्न स्थानमा पिकेट ड्युटी खटाई सुरक्षा व्यवस्था मजवुद बनाईएको कार्यालयको दाबी छ ।
बजार एरिया, बैङ्क, वित्तीय संघ संस्था, एकान्त ठाउँ, मानिसको बढी भिडभाड हुने स्थानहरुमा शान्ति सुरक्षाको निम्ति पैदल तथा मोवायल गस्ती र सादा पोशाकमा परिचालन गरिएको छ । चोक बजार लगायत बिभिन्न स्थानमा रहेका सिसीटिभीको निगरानी समेत बढाईएको दाबी प्रहरीको छ ।
अन्तराष्ट्रिय सिमानाका तथा अन्तर जिल्लाका नाकाहरुमा अवैध सामान तथा बिष्फोटक पदार्थ भित्रिन नदिन मुख्य नाका तथा शंकास्पद स्थानहरुमा तालिम प्राप्त कुकुर सहितको प्रहरी टोली परिचालन गरी संकित व्यक्ति तथा सवारी साधनहरुमा कडाईका साथ चेकजाँचको ब्यवस्था मिलाईएको पनि कार्यालयको भनाई छ ।
सवारी दुर्घटना न्युनिकरण, यात्रु सहजिकरण तथा यात्रुहरु ठगिन नदिन यात्रु सहायता कक्षको स्थापना गरी संचालनमा ल्याईनुको साथै राजमार्गहरुमा २४ सै घण्टा संयुक्तरुपमा ट्राफिक प्रहरी सहितको बिशेष चेकिङ गरिदै आएको जनाइएको छ ।
सरकारी कार्यालय, महत्वपूर्ण प्रतिष्ठान, धार्मिक स्थल, उधोग कलकारखानाहरुको सुरक्षाको निम्ति आवश्यक पैदल तथा मोवायल गस्ती सहित थप प्रहरी परिचलान गरिएको, पहाडी भेगहरुमा शान्ति सुरक्षाको निम्ति लामो तथा छोटो ग्रामिण गस्ति, बजार गस्ती, खवर संकलन समेत गरी सुरक्षा व्यवस्था मजवुद बनाईएको छ ।
बजारमा खाधान्न लगायत अत्यावश्यक उपभोग्य वस्तुको बिक्री वितरण सहज बनाउन सरोकारवाला निकायसँग समन्वय गरी बजार अनुगमनमा समेत प्रहरीले सहयोग गर्दै आएको जनाइएको छ ।
View : 178
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved