Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

पूर्वमन्त्री बद्रि मण्डलको निधन

कुनै खास रोगले नच्यापी, अस्पताल नै नपुगी मंगलबार बिहान सवा आठ बजे मण्डलको निधन भएको उनकी भतिजी जस्मिन मण्डलले बताइन् ।
उद्‌घोष संवाददाता
८ पुष २०८२, मङ्गलवार

विराटनगर । पूर्वमन्त्री बद्रिप्रसाद मण्डलको मंगलबार बिहान निधन भएको छ । विराटनगर–९ घोघापुल चोकस्थित घरमा ८८ वर्षको उमेरमा मण्डलको निधन भएको हो ।

उनकी भतिजी जस्मिन मण्डलका अनुसार, सोमबार रातिसम्म पूर्वमन्त्री मण्डल सामान्य अवस्थामा सुतेका थिए । कुनै खास रोगले नच्यापी, अस्पताल नै नपुगी मंगलबार बिहान सवा आठ बजे ठूलोवुवा बद्रिप्रसाद मण्डलको निधन भएको जस्मिनले बताइन् । बिहान शौचालय गएर फेरि ओच्छ्यानमा पल्टेका मण्डल कहिले नब्युँझिने गरी अस्ताएको उनले बताइन् । ‘ठुलोबुवा बिहान सुतेकै ठाउँमा बित्नुभएको हो’ जस्मिनले भनिन् ।

उनका अनुसार, पूर्वमन्त्री मण्डलका परिवारमा दुई श्रीमती, तीन छोरा र तीन छोरी छन् । चार छोरामध्ये एक छोराको निधन भएको छ । मोरङ जहदा–२ मझारे पुर्ख्यौली थातथलो भएका मण्डल २०३६ सालदेखि पञ्चायती राजनीतिमा प्रवेश गरी तत्कालीन राष्ट्रिय पञ्चायतको सदस्य भएका थिए । २०४२ सालमा केही समय अर्थ राज्यमन्त्री भएका उनी वन मन्त्री भए । 

२०४६ सालको राजनीतिक परिवर्तनपछि पनि निरन्तर संसदीय निर्वाचन लडेका मण्डल २०५१ सालमा नेपाली कांग्रेसकी शैलजा आचार्यसँग पराजित भए भने २०५६ मा उनै आचार्यलाई पराजित गरी प्रतिनिधि सभा सदस्य भएका थिए । 

नेपाल सद्रभावना पार्टीका संस्थापक अध्यक्ष गजेन्द्रनारायण सिंहको निधन भएपछि मण्डल कार्यवाहक अध्यक्ष भएका थिए । पूर्वराजा ज्ञानेन्द्र शाहले कू गरी बनाएको सरकारमा मण्डल उपप्रधानमन्त्री बनेका थिए । उनी केही समय कार्यवाहक प्रधानमन्त्री पनि भएको उनलाई नजिकबाट बुझेका दिलिपकुमार धाडेवाले बताए ।

धाडेवाका अनुसार दिवङ्गत मण्डलका पार्थीव शरीरलाई अहिले जहदा–२, मझारे लगिएको छ । त्यहाँ उनलाई अन्तिम श्रद्धाञ्जली दिन सयौंको संख्यामा मान्छे भेला भएको धाडेवाले बताए । उनको आजै अन्तिम संस्कार गरिने उनले जानकारी दिए ।

View : 461

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved