Biratnagar, Morang, Nepal
८ मंसिर २०८१, शनिवार
+977 21 450305, 515728, 578305
खेलकुद

प्रधानमन्त्री कप क्रिकेट कोशी छनोट प्रतियोगिताको उपाधि झापालाई

उद्घोष सम्वाददाता
२६ पुष २०८०, बिहिवार

सुनसरी । प्रधानमन्त्री कप क्रिकेट कोशी छनोट प्रतियोगिताको उपाधि झापाले जितेको छ । लिग चरणका चारवटै खेलमा शतप्रतिशत जित निकाल्दै फाइनल पुगेको झापाले बुधबार मोरङलाई ७२ रनले पराजित गर्दै उपाधि जितेको हो ।

लिग चरणका चार खेलमध्ये दुईमा जित र दुईमा हार बेहोरेर रन रेटको आधारमा शीर्ष दुईमा रहदै झापासँग बुधबार फाइनल खेलेको मोरङ उपबिजेतामै सीमित बनेको हो । यसअघि लिग चरणको खेलमा पनि मोरङ झापासँग नै पराजित भएको थियो ।

सुनसरीको भोक्राहास्थित डा खालिद आजाद खेल मैदानमा टस जितेर ब्याटिङ गरेको झापाले खराब मौसमको कारण ३० ओभरमा छोट्याइएको खेलमा पूरै ओभर खेल्दै ९ विकेटको क्षतीमा १ सय ६७ रनको योगफल जोडेको थियो ।

झापाका लागि अंकित सुबेदीले सर्वाधिक ६४ रन बनाए । भूपाल दंगालले ३२, समिर कार्कीले २३, आशिस राणा मगरले १२ र भूपेष गौतमले ११ रन जोडे । मोरङका श्रवण किस्कूले ५ र लभ कामतले २ विकेट लिए ।

१ सय ६८ रनको बिजयी लक्ष्य पछ्याएको मोरङ २४ दशमलव ५ बलमा ९५ रनमा समेटियो । मोरङका लागि चिराग शाहले सर्वाधिक २६, मिनश थापा १५, आइन्सटाइन रिजाल १३ र फिर्दोश अन्सारी तथा अटल शाहले १२–१२ रन जोडे । झापाका आशिष राणा मगरले ३, सौजन घिमिरे र अभ्यास तिमल्सिनाले २–२ विकेट लिए । खेलका उत्कृष्ट खेलाडी झापाका अंकित सुबेदी घोषित भए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सुनसरीका भुपाल लुईटेल घोषित भए । उत्कृष्ट बलर झापाका सौजन घिमिरे र उत्कृष्ट ब्याटसम्यान उदयपुरका सोनु अन्सारी घोषित भए । उदियमान खेलाडी सुनसरीका समिर तिम्सिना भए ।

एक सातासम्म चलेको प्रतियोगितामा कोशी प्रदेशका झापा, मोरङ, सुनसरी, इलाम र उदयपुर जिल्लाका खेलाडी सहभागी थिए । यसै प्रतियोगितालाई आधार मानेर उत्कृष्ट प्रदर्शन गर्ने १८ जना खेलाडी छनोट गरिएको कोशी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सर्वजीतराज पाण्डेले बताए । छनोट भएका उनीहरुले पुस २८ गतेदेखि काठमाडौं र भैरहवामा हुने प्रधानमन्त्री कप पुरुष राष्टिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेश टोलीबाट खेल्नेछन् ।

View : 295

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved