विराटनगर । शिक्षा ऐनको माग गर्दै चैत २० गतेबाट सुरु भएको काठमाडौं केन्द्रीत शिक्षकहरूको आन्दोलनमा विराटनगरका सामुदायिक विद्यालयका अधिकांश शिक्षकहरू पुगेका छन् । शुक्रबार आन्दोलनको १७ दिन पुगेको छ ।
शिक्षकहरू दैनिकजसो लर्को लागेर काठमाडौंका लागि गाडी चढेको दृष्य देख्न थालिएको हो ।
नेपाल शिक्षक महासंघको अगुवाईमा सुरु भएको आन्दोलन शैक्षिक हड्तालका रुपमा अघि बढेपछि विराटनगरका धेरै विद्यालयका शिक्षकहरू काठमाडौं पुगेका हुन् ।
शैक्षिक आन्दोलनका कारण देशभरका ३५ हजार भन्दा बढी सामुदायिक विद्यालयहरू बन्द भएका छन् । जसको परिणाम ७० लाख विद्यार्थीहरू पठनपाठनबाट वञ्चित भएका छन् ।
शिक्षकहरूको आन्दोलनलाई सरकार पक्षले ठोस रुपले सम्बोधन गर्ने इच्छा नदेखाएका कारण शिक्षकहरूले काठमाडौं केन्द्रीत शक्ति प्रदर्शन बढाएका हुन् ।
आन्दोलनमा विराटनगर–३ स्थित पोखरिया माध्यमिक विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराई, आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तोष पोखरेल, जनपथ माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिप्रसाद पराजुली, मिल्स माध्यमिक विद्यालयका प्रधानाध्यापक विन्दुकुमार लावती लगायतका प्रधानाध्यापकहरू काठमाडौं पुगेका छन् ।
त्यस्तै विद्यालय कर्मचारीको टोली नै काठमाडौं पुगेको छ । उनीहरूले शिक्षा ऐन लिएर मात्रै जिल्ला फर्किने घोषणा गरेका छन् ।
पञ्चायती सरकार प्रतिगामी भन्दै २०४६ सालको ऐतिहासिक जनआन्दोलनमा होमिएका शिक्षकहरू त्यही पञ्चायती सरकारले २०२८ सालमा ल्याएको शिक्षा ऐनकै भरमा रहँदै आएका छन् ।
तर सरकारले भने नयाँ ऐनसहित शिक्षकका मागहरू सम्बोधन गर्न चासो देखाएको छैन ।
शिक्षकहरूले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म दैनिक सडक आन्दोलनमा जुट्दैछन् ।
View : 126
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved