झापा : दसैंका बेला घरघरमा दुर्गा भवानीको पूजासँगै जमरा उमार्ने आम प्रचलन छ । ती जमरा मान्यजनका हातबाट टिकासँगै ग्रहण गर्ने परम्परा छ । तर, दक्षिणी झापाको गौरीगञ्ज गाउँपालिका वडा नं. २ स्थित एक मन्दिर परिसरमा ५१ वर्षीय प्रह्लाद सापकोटाले छातीमा दसैंको जमरा उमारेका छन् ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायण कार्कीले ब्रतमा बसेको दुई दिनपछि जमरा उम्रिएको बताए । मन्दिरमा दैनिक पूजापाठ हुने गरेको र छातीमा उम्रिएको जमरा हेर्न भक्तजनहरुको घुइँचो लाग्ने गरेको उहाँले जानकारी दिए ।
गाउँपालिकाकी उपप्रमुख पुजन न्यौपानेका अनुसार स्थानीय पाथिभरा मन्दिरमा घटस्थापनाका दिनदेखि निराहार ब्रत बसेका सापकोटाले दसैंमा टिका लगाउनका लागि छातीमा जमरा उमारेका हुन् ।
असोज २८ गते विहान पूजापाठ गरेर सापकोटा मन्दिर परिसरमा सुतेका थिए । जमरा रोप्नुभन्दा दुई दिन अघिदेखि पानी र अन्न समेत नखाई निराहार ब्रतमा रहेका उनले दुर्गा भगवतीको प्रसादको रुपमा जमरा प्रयोग गरिने बताए । छातीमा बालुवामाथि टपरामा जमरा उमार्न मकै, जौं लगायतका अन्नका दाना रोपिएको थियो ।
धार्मिक स्वाभावका सापकोटाले कुनै शारीरिक कस्ट नभएको प्रतिक्रिया जनाएका छन् । उनले ब्रतका बेला मलमूत्र त्याग समेत गरेका छैनन् ।
सापकोटाले आफुलाई पाथिभरा भगवतीको भक्त ‘माता गुरु’ बताउने गरेका छन् । उनका ६ जना सेवकले मन्दिर क्षेत्रमा आउने भक्तजनको व्यवस्थापन गरिरहेका छन् ।
स्थानीय तारा गिरीले जीवनमै पहिलोपल्ट छातीमा जमरा उमारेर निराहार ब्रत बसेको देख्दा अचम्म लागेको बताइन् । महानवमीका दिन एक लाख दीप प्रज्ज्वलन गरेर ब्रत समापन गर्ने कार्यक्रम रहेको उनले जानकारी दिइन् ।
दसैंको महानवमीका दिनसम्म दुर्गा भवानीको विधिपूर्वक पूजा गरेर छातीमा राखिएको मकै र जौको जमरालाई प्रसादका रुपमा सर्वसाधारणलाई दिइने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कार्कीले बताए ।
View : 111
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved