Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

‘केही भएको छैन भन्ने गलत हो’

उद्‌घोष संवाददाता
२८ साउन २०८२, बुधवार

विराटनगर । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मुलुकमा केही भएको छैन भन्ने कुरा गलत भएको बताएका छन् । उनले सन् २०२६ मा नेपाल विकासशील देशमा परिणत हुन गइरहेको दाबी गरेका हुन् ।

सोमबार विराटनगरमा कृष्णप्रसाद सिग्देल स्मृति प्रतिष्ठानद्वारा आयोजित १६ औं स्मृति सभा तथा पुरस्कार वितरण समारोहका अवसरमा बोल्दै उपमहासचिव ज्ञवालीले अब राजनीतिक दलहरू अर्थतन्त्र बलियो बनाउनेतिर केन्द्रित हुनुपर्ने बताए ।

उनले मुलुकको सर्वांगीण विकास र समृद्धिका लागि जनताको जीवनस्तर उकास्नेतर्फ दलहरूको ध्यान जानुपर्ने बताए । 

मुलुकमा अहिले विकास भइरहेको दाबी गर्दै ज्ञवालीले ७७ जिल्लामा सडक पुगेको, ९७ प्रतिशत विद्युत पहुँच पुगेको, ९७ प्रतिशत खानेपानी र ९९ प्रतिशत बालबालिकामा विद्यालयको पहुँच पुगेको जानकारी दिए ।

मधेश प्रदेशमा खेतीका लागि आकासे वर्षाको निर्भरता अन्त्य गर्न सुनकोशी–मरिन डाइभर्सन परियोजनाको निर्माणले अब तीब्रता पाउने बताउँदै एक लाख ८२ हजार हेक्टर जमिनमा सिंचाई सुविधा पुग्ने बताए ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले पनि संघीयताको स्थापनापछि मुलुकले विकासमा फड्को मारेको बताए ।

उक्त अवसरमा यस बर्षको कृष्णप्रसाद सिग्देल स्मृति पत्रकारिता पुरस्कार पत्रकार महेन्द्र बिष्टलाई प्रदान गरिएको छ । 

२१ हजार नगदसहित नेपाल पत्रकार महासंघ मोरङका पूर्वअध्यक्ष बिष्टलाई सम्मानपत्रसहित पुरस्कृत गरिएको हो ।

सोही अवसरमा युवा उद्यमी सम्मानबाट ग्यालेक्सी सुज उद्योग विराटनगरका सञ्चालक चेतन निरौला र महिला उद्यमी सम्मानबाट बराह हर्बल उद्योग विराटनगरकी सञ्चालक अम्बिका भण्डारीलाई सम्मानित गरिएको छ । 

प्रतिष्ठानकी अध्यक्ष सीता सिग्देलको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वर्गीय सिग्देलले अध्ययन गरेको सुनसरीको मधुवनस्थित जनता माध्यमिक विद्यालयका छात्रा पिंकीकुमारी स्वर्णकार र छात्र सुशीलकुमार खत्वेलाई नगद ११ हजार रुपैयाँसहित सम्मानित गरिएको हो । 

कार्यक्रममा नेकपा एमालेका नेता विनोद ढकाल, नेपाल उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी लगायतले स्वर्गीय सिग्देलको योगदानको चर्चा गरेका थिए । 

स्वर्गीय सिग्देलले सडक मजदुरदेखि बसको कण्डक्टर हुँदै ढुवानी व्यवसाय सञ्चालन गरेका थिए । 

सामाजिक गतिविधिमा समेत सक्रिय रहेका सिग्देलको हृदयघातका कारण निधन भएको थियो । उनले स्थापना गरेको स्वस्तिका ढुवानी सेवा अन्तरगत अहिले तीन सय मजदुरले रोजगारी पाइरहेका छन् । 

सोही अवसरमा स्वस्तिका ढुवानीमा कार्यरत कर्मचारीको कल्याण कोषमा ५१ हजार रुपैयाँ र चालक कल्याण कोषमा २१ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ । 

त्यस्तै ढुवानीमा कार्यरत मदजुर परिवारलाई २१ हजार रुपैयाँ र लत्ताकपडासमेत वितरण गरिएको जनाइएको छ ।

View : 618

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved