विराटनगर । नेपाल पत्रकार महासंघ मोरङले स्वास्थ्य शिविर आयोजना गरी ७३ जना पत्रकारहरूको मुटु, आँखा र कान परीक्षण गरेको छ ।
विराट नर्सिङ होमसँगको सहकार्यमा महासंघको कार्यालयमा शिविर सम्पन्न गरिएको हो ।
अध्यक्ष सुशीला पाठकले पत्रकारहरूलाई दैनिक रिपोर्टिङमा खटिनु पर्दा आफ्नो स्वास्थ्य अवस्थाको हेरचाहसमेत गर्न नपाउने बँध्यतालाई ध्यानमा राखेर विराट नर्सिङ होमसँगको सहकार्यमा शिविर आयोजना गरिएको जानकारी दिइन् ।
स्वास्थ्य परीक्षणका क्रममा पत्रकारहरूको प्रेसर, सुगर, रक्तचाप समेत परीक्षण गरिएको थियो । शिविरमा विशेषज्ञ चिकित्सक, चिकित्सक लगायतका स्वास्थ्यकर्मीहरूले सेवा प्रदान गरे । पत्रकारहरूको निशुल्क इसीजीसमेत गरिएको अध्यक्ष पाठकले बताइन् ।
शिविरको उद्घाटनका क्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कमल रिमालले पत्रकारहरूलाई स्वास्थ्य सेवा प्रदान गर्ने प्रयास सरहानीय कार्य भएको बताए । उनले पत्रकारहरूले पनि नियमित स्वास्थ्य परीक्षण गर्नुपर्ने सुझाव दिए ।
विराट नर्सिङ होमका प्रमुख कार्यकारी अधिकृत निकिता कार्कीले पत्रकारहरूले मुटुको स्वास्थ्यबारे आफूसहित समाजलाई अझ धेरै सचेत बनाउनु पर्ने जिम्मेवारी रहेको बताए । नेपालमा मुटु रोगको समस्या बढ्दै गएको जानकारी दिंदै पत्रकारहरूकै माध्यमबाट मुटु रोगको सचेतना अभियान संचालन गर्न आफ्नो स्वास्थ्य संस्था तयार रहेको बताए ।
महासंघका सल्लाहकार बन्धु पोखरेलले विगतका वर्षदेखि नै महासंघले पत्रकार र उनीहरूका परिवारको स्वास्थ्यलाई गम्भीरताका साथ लिएर विभिन्न स्वास्थ्य संस्थासँग सहकार्य गरिंदै आएको जानकारी दिए । त्यसले पत्रकारहरूलाई फाइदा पुगेको उनले बताए ।
महासंघले आगामी दिनमा जिल्लाको पूर्व क्षेत्रमा काम गरिरहेका पत्रकारहरूका लागि समेत स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी गरिरहेको जनाइएको छ ।
View : 169
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved