Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
खेलकुद

पाँचौँ संस्करणको इक्वालिटी कप क्रिकेट शुरु

उद्‌घोष संवाददाता
२८ चैत २०८२, शनिवार

विराटनगर । महिला क्रिकेटको विकास गर्ने उद्देश्यका साथ विराटनगरमा पाँचौँ संस्करणको इक्वालिटी कप क्रिकेट प्रतियोगिता शुरु भएको छ ।

नेपाल क्रिकेट फाउण्डेसनको आयोजना तथा म्यारिलिबोन क्रिकेट क्लब फाउण्डेसन, क्रिकेट विथआउट बाउण्ड्रीज र क्रिकेट युनाइटेडको सहयोगमा विराटनगरको मेरिलेवोन ज्वाला क्रिकेट मैदानमा भएको पहिलो खेलमा विराटनगर हव र राजविराज हव विजयी भएका छन् ।

विराटनगरले आयाजकको एनसीएफ–११ लाई ६० रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

पानी परेको कारण शुक्रबार १० ओभरमा खेलाएको खेलमा टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित ओभरमा ४ विकेट गुमाई ८३ रनको योगफल तयार पारेको थियो । 

विराटनगरकी प्रिन्सा राना मगरले २७ रन बनाउँदा सुभेक्षा लिम्बुले १४ रन बनाइन् । 

एनसीएफकी अनिषा थापाले २ विकेट लिँदा कप्तान झरना घिमिरे र रोजु परियारले १–१ विकेट लिइन् ।

८४ रनको लक्ष्य पाएको एनसीएफले पुरै ओभर खेल्दै ६ विकेटमा २३ रन मात्र बनाएको थियो । 

एनसीएफकी शकुन्तला सहनीले सर्वाधिक अविजित १० रनको योगदान दिइन् । विराटनगरकी प्लेयर अफ म्याच सुभेक्षा लिम्बुले ३ विकेट लिँदा कप्तान सानु राजवंशीले १ विकेट लिइन् ।

दोस्रो खेलमा राजविराज हवले सिरहा हवलाई ७ विकेटले पराजित गरेको छ ।

टस हारे ब्याटिङ गरेको सिरहाले निर्धारित २० ओभरको खेलमा ११ दशमलव ४ बलमा सवै विकेट गुमाई ३८ रनमा सिमित भयो ।सिरहाकी कप्तान सरस्वती चौधरीले सर्वाधिक अविजित १३ रन बनाइन् । 

राजविराजकी कप्तान प्लेयर अफ म्याच साक्षी यादवले ६ विकेट लिँदा दिपा राम, अपेक्षा यादव र बन्धना राजकले १–१ विकेट लिइन् । साक्षीले किफायती बलिङ गर्दै ४ ओभरमा १४ रन मात्र दिइन् ।

३९ रनको झिनो लक्ष्य पाएको राजविराजले १० दशमलव ३ बलमा ३ विकेट गुमाई सो लक्ष्य पार गरेको थियो । 

राजविराजकी कप्तान साक्षी यादवले सर्वाधिक १५ रनको योगदान दिइन् । सिरहाकी कप्तान सरस्वती चौधरीले १ विकेट लिँदा प्रसिद्दिका खड्का र मिना महतोले पनि १–१ विकेट लिइन् । 

चैत ३० गतेसम्म हुने प्रतियोगितामा कोशी प्रदेशका विराटनगर हब तथा पथरी, इटहरी, धनकुटा र उदयपुरबाट संयुक्त टोली आयोजक एनसीएफ ११ र मधेस प्रदेशका राजविराज तथा सिरहाका दुई टोली सहभागी रहेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को नियम अनुसार टी–२० फरम्याटमा खेलाएको प्रतियोगितामा सहभागी सबै टोलीले एक–अर्कासँग प्रतिस्पर्धा गर्नेछन् । 

लिग चरणको खेलपछि शीर्ष स्थानमा रहने दुई टोलीबीच फाइनल खेल हुनेछ ।

View : 105

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved