Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

त्रिशक्ति ग्यासका ३५ वटा सिलिण्डरमा भेटियो कम तौल

प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले निर्वाचनको समयमा अत्यावश्यक वस्तु तथा सेवाको आपूर्तिदेखि तौलमा समेत गडबडी गरी उपभोक्तालाई ठगी गर्ने कार्य हुन नदिन स्थानीय प्रशासन चनाखो रहेको बताए ।
उद्‌घोष संवाददाता
१३ फागुन २०८२, बुधवार

विराटनगर । चुनावको संघारमा हुनसक्ने कालाबजारी र उपभोक्ता ठगीविरुद्ध खरो रुपमा उत्रिएको मोरङ प्रशासनले ठूलो संख्यामा ग्यास सिलिण्डरमा कम तौल भएको फेला पारेको छ ।

बुधबार मोरङको बेलबारी बजारस्थित थुलुङ ट्रेडर्समा गरिएको अनुगमनका क्रममा त्रिशक्ति ग्यासको ३५ वटा सिलिण्डरमा कम तौल भेटिएको हो । 

कम तौलको ग्यास सिलिण्डर बिक्री भइरहेको सूचनाका आधारमा ६० वटा सिलिण्डरको तौल नापजाँच गर्दा ३५ वटामा प्रति सिलिण्डर ०.०३१ ग्राम कम तौल भएको पाइएको जिल्ला प्रशासन कार्यालय मोरङका प्रशासकीय अधिकृत रामप्रसाद लुईंटेलले जानकारी दिए ।

‘हामीलाई विभिन्न स्रोतबाट ग्यास सिलिण्डरमा कम तौल भएको गुनासो आएपछि संयुक्त रुपमा अनुगमन गरेका हौं’ लुईंटेलले भने, ‘त्रिशक्ति ग्यासको सिलिण्डरको तौल नाप्दा कम तौलका सिलिण्डर बिक्री वितरण भइरहेको पाइएको छ, उपभोक्ताले प्रत्येक सिलिण्डरमा १४ दशमलव २ ग्राम ग्यास पाउनु पर्ने हुन्छ ।’ तर अनुगमनका क्रममा सिलिण्डरको तौल १४ दशमलव १६९ किलोग्राम मात्रै पाइएको उनले बताए ।

लुईंटेलको नेतृत्वमा गएको अनुगमन टोलीमा गुणस्तर तथा नापतौल कार्यालय विराटनगरका प्रमुख शम्भु झालगायत सम्बन्धित कार्यालयका प्रतिनिधिहरूको उपस्थिति थियो । 

अनुगमन टोलीले सिलिण्डरमा ग्यास कम भएको पाइएपछि तत्कालै सो बिक्रेताको पसलमा रहेका ग्यास बिक्री वितरणमा रोक लगाइएको जनाइएको छ ।

उपभोक्तालाई कम तौल भएका वस्तु सामान बिक्री भएको खण्डमा बिक्री वितरणमा रोक लगाएर ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ । 

लुईंटेलका अनुसार यस्तो बेलामा उपभोक्ता संरक्षण ऐन, कालाबजार ऐन र गुणस्तर तथा नापतौल सम्बन्धि ऐन आकर्षित हुने जनाइएको छ । 

प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले निर्वाचनको समयमा अत्यावश्यक वस्तु तथा सेवाको आपूर्तिदेखि तौलमा समेत गडबडी गरी उपभोक्तालाई ठगी गर्ने कार्य हुन नदिन स्थानीय प्रशासन चनाखो रहेको बताए । 

उनले भने, ‘जुनसुकै बहानामा अब कसैलाई छुट हुने छैन, उपभोक्ता ठगिनु हुँदैन, प्रशासन निर्मम ढंगले लागेको छ ।’

झापाको भद्रपुरस्थित त्रिशक्ति ग्यास उद्योगबाट बिक्री वितरण हुने ग्यासमा तौल कम भएको गुनासो आउने गरेको उपभोक्ताहरूको भनाइ छ । 

यसअघि उर्लाबारीमा सिलप्याक गरिएको त्रिशक्ति ग्यासको सिलिण्डर खाली रहेको भेटिएको थियो ।

View : 123

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved