Biratnagar, Morang, Nepal
२९ पुष २०८१, सोमवार
+977 21 450305, 515728, 578305
अन्तर्राष्ट्रिय

बङ्गलादेशमा बाढीले ५९ जनाको मृत्यु, हजारौँ घरबारविहीन

उद्‌घोष सम्वाददाता
१७ भदौ २०८१, सोमवार

ढाका, १७ भदौ । बङ्गलादेशमा बाढीका कारण ११  प्रभावित जिल्लामा कम्तीमा  ५९ जनाको मृत्यु हुनुका साथै ५३ लाखभन्दा बढी मानिस प्रभावित भएको द डेली स्टारले जनाएको छ ।

द डेली स्टारका अनुसार कम आय भएका किसानहरूले बाली नालीका साथै बाढीका कारण घरलगायत जीविकोपार्जनको आधारसमेत गुमाएका छन् ।

बाढीले आफ्नो माटोको घर बगाएपछि बस्ने ठाउँ नभएकाले छिमेकीकोमा शरण लिनुपरेको मौलवीबाजारको कुलौरा उपजिल्लाको मिरपारा गाउँकी ६५ वर्षीया तबाह नुरुन बेगमले बताइन् । 

वर्षापछिको बाढीले मनु नदीको किनारमा तटबन्ध भत्किँदा घर पानीमा डुबेकाले हाल बाढीको पानी घटे पनि क्षतिग्रस्त घर फर्कन नसकेको सोही गाउँका अटोरिक्शा चालक सुजान मियाले बताए ।

मिरपाराका बासिन्दा जमशेद अलीले एक मात्र आम्दानीको स्रोत तरकारी बगैँचा बगाएकाले  परिवार कसरी बचाउने भन्ने चिन्ता भएको उल्लेख गरे । 

मौलवीबाजार जिल्ला राहत तथा पुनर्वास अधिकारी मोहम्मद सादु मियाका अनुसार जिल्लामा हालै आएको बाढीबाट करिब आठ हजार सात सय ८६ घर क्षतिग्रस्त भएका छन् । 

उनले बाढी पीडितको पुनःस्थापनाको माग गर्दै सम्बन्धित उच्च अधिकारीहरूलाई पत्र पठाएको बताए ।  

बाढीले घर तथा घरका सबै फर्निचरहरू बगाएकाले मर्मतका लागि पैसा नभएकाले आफ्नो परिवारले आफन्तकोमा शरण लिएको बुरिचाङ उपजिल्लाको मोहिस्मारा गाउँका बासिन्दा एमए आजिमले बताए । 

बुरिचाङ उपजिल्लाकी निर्बाही अधिकारी (युएनओ) शाहिदा अख्तरले यस क्षेत्रमा करिब ४० हजार घर क्षतिग्रस्त भएको जानकारी दिए । 

आइतबार प्रकाशित सरकारी प्रतिवेदनअनुसार बाढीको अवस्था विस्तारै सुधार हुँदै गए पनि सात लाखभन्दा बढी परिवार अझै पनि देशभरि बाढीका काराण विस्थापित छन् । 

चट्टोग्राम, फेनी, खागड़ाचारी, हबिगञ्ज, सिलहट, ब्राह्मणबरिया र कक्स बजारलगायतका जिल्लामा बाढी कम भएको विपद् व्यवस्थापन तथा राहत मन्त्रालयको प्रतिवेदनले जनाएको छ ।

यसैबीच मौलवीबाजारमा बाढीको अवस्था सुधार भएको र कुमिला, नोआखली र लक्षमीपुरमा स्थिति विस्तारै सुधार भइरहेको विज्ञप्तिमा उल्लेख छ  ।

प्रतिवेदनमा अनुसार हाल सात लाख पाँचहजार ५२ परिवार अझै पनि डुबानमा परेको प्रतिवेदनमा जनाइएको छ ।  

बाढी पूर्वानुमान तथा चेतावनी केन्द्रले आइतबार एक बुलेटिनमा अधिकांश प्रमुख नदीहरूका वहाव घट्दो क्रममा भएकाले देशभरि बाढीको स्थितिमा सुधार आउने सम्भावना रहेको जनाएको छ । रासस

View : 187

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved