विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगर भएपनि यहाँको विकासमा कसैले चासो नदेखाएको भन्दै नेकपा एमाले विराटनगर महानगर कमिटीले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई बुधबार ज्ञापनपत्र बुझाएको छ ।
महानगर कमिटीका अध्यक्ष बलराम गिरीले सार्वजनिक यातायातमा सुधार, प्रदेशस्तरीय प्रशासनिक कम्प्लेक्स तथा स्मार्ट राजधानीको पूर्वाधार निर्माण, शैक्षिक एवं स्वास्थ्य पूर्वाधारको सुधार, खेलकुद तथा सांस्कृतिक विकास, वातावरण संरक्षण, चक्रपथ निर्माण, विमानस्थल विकास, विराटनगरको डुबान समस्या समाधान गर्न केशलिया खोला र सिंघीया खोलामा तटबन्ध निर्माणसहित पानी निकासको योजना कार्यन्वयन गर्न माग गर्दै ज्ञापन पत्र बुझाएका छन् ।
अहिलेको विराटनगर ऐतिहासिक महत्व बोकेको सहर रहेको र हाल कोशी प्रदेशको राजधानी समेत भएको भन्दै वर्तमान पूर्वाधार योजना र व्यवस्थापनले मात्रै पर्याप्त नहुने महानगर अध्यक्ष गिरीले बताए ।
वर्षा याममा जलमग्न हुने विराटनगरलाई कोशी प्रदेशको राजधानीको हैसियतमा व्यवस्थित र सुन्दर सहरको रूप दिनेतर्फ तत्काल ध्यान दिन मुख्यमन्त्री कार्कीलाई आग्रह गरिएको महानगर अध्यक्ष गिरीले बताए ।
उनले कोशी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/२०८३ को नीति तथा कार्यक्रम र बजेटमार्फत विराटनगरलाई पूर्ण रूपमा सुसज्जित राजधानी सहरको रूपमा विकास गर्न उच्च प्राथमिकताका साथ बजेट विनियोजन गर्न आग्रह गरिएको जानकारी दिए ।
ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री कार्कीले महानगरले उठाएका विषयलाई सम्बोधन गरेर सरकार अगाडि बढ्ने बताए ।
View : 613
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved