Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

कांग्रेसमा किचलो: तोकिएनन् मन्त्री, एक सातादेखि खाली छन् कुर्सी

कोशीमा कांग्रेसबाट मन्त्री बन्न ११ जना सांसदहरू मुख्य प्रतिष्पर्धामा देखिएका छन् ।
उद्घोष सम्वाददाता
२० साउन २०८१, आइतवार

विराटनगर । नयाँ सत्ता समीकरणको भावनाअनुसार कोशी प्रदेशमा कांग्रेसका लागि कुर्सी खाली भएको हप्ता दिन बितेको छ । तर पार्टीभित्रकै आन्तरिक कारणले प्रदेश सरकारमा सहभागी हुन कांग्रेसलाई निकै सकस भएको छ । कांग्रेसले कोशी प्रदेशमा चार वटा मन्त्रालय पाउने सहमति यसअघि नै भइसकेको छ । 

मुख्यमन्त्री हिक्मतकुमार कार्की र कांग्रेस कोशी प्रदेश सभापति समेत रहेका संसदीय दलका नेता उद्धव थापाबीच सत्ता भागबण्डाको सहमति भएर कुर्सी खाली भएको एक साता बितिसक्दा पनि कांग्रेस अझै सरकारमा गएको छैन । नेकपा माओवादीका मन्त्रीहरू गएको साउन ११ गते राजीनामा दिएर सरकारबाट बाहिरिएपछि कांग्रेसका लागि कुर्सी खाली भएको हो ।

कांग्रेसले मन्त्री नै छान्न नसकेको कारण सरकारमा जान नसकेको चर्चा छ । मन्त्री छान्नका लागि कांग्रेसभित्र आन्तरिक गुटहरूमा लविङ चलिरहेको र त्यो लविङ केन्द्रीय नेतृत्वसम्मै पुगेका कारण सकस बढेको कांग्रेसका नेताहरू बताउँछन् ।

कांग्रेसका अधिकांश प्रदेशसभा सदस्यहरू मन्त्रीको लविङमा काठमाडौं केन्द्रित छन् । उनीहरूले निकट नेताहरूसँगको भेटघाट बढाउँदै मन्त्री बन्ने लविङ गर्दै आएका छन् ।

प्रदेशको मन्त्री छान्नका लागि केन्द्रीय नेताहरू नै निर्णायक हुने अवस्था बनेका कारण कांग्रेसले कुर्सीमा बस्ने बसाउने अवसर एक सातादेखि गुमाउनुपरिरहेको कार्यकर्ताहरूको भनाइ छ । कांग्रेसमा केन्द्रकै नेताहरू हाबी हुने र माथिबाटै निर्णय हुने कुरामा आफू स्पष्ट रहेको राष्ट्रिय सभाका पूर्वसदस्य रहेका कांग्रेस कोशी प्रदेश समितिका उपाध्यक्ष रमेशजंग रायमाझीले बताइसकेका छन् । 

नेताहरूले कोशी सरकारमा सहभागी हुनका लागि प्रदेश समितिको बैठकबाटै निर्णय गरिसकेको जानकारी दिंदै त्यसका लागि निरन्तर छलफल भइरहेको बताउने गरेका छन् । कांग्रेस कोशी प्रदेश समितिका महामन्त्री उमेश थापाले छलफल अब टुंगोमा पुग्नै लागेको बताउँछन् । उनले कोशी सरकारमा कांग्रेस सहभागी नसक्नुको कारण आन्तरिक कुनै पनि विषय नभएको दाबी गरे । 

कर्णाली र लुम्बिनीमा सत्ता गठबन्धनको सहमति कार्यान्वयन गर्न जटिलता भएका कारण कोशीमा सबै तयारी र छलफल सकिएर पनि सरकारमा सहभागी हुन ढिलाइ भएको बताए । 

‘आन्तरिक कुरा होइन, कर्णाली र लुम्बिनीको समस्याका कारण कोशीमा ढिलाइ भएको हो, अब त्यहाँ मिलिसकेको जानकारी आएकोले एक–दुई दिनभित्रै कांग्रेस कोशीको सरकारमा जान्छ’ महामन्त्री थापाले भने, ‘सोमबार या मंगलबारभित्र सरकारले पूर्णता पाइसक्छ, हामी एमालेसँग पनि निरन्तर छलफलमा छौं, कुराहरू टुंगोमा पुग्दैछन् ।’

नेपाली कांग्रेस संसदीय दल कोशीका उपनेता हिमाल कार्कीले पार्टी नेताहरूबीच छलफल चलिरहेका कारण सरकारमा जान केही ढिलाइ भएको बताए । उनले सोमबारसम्म कांग्रेस सरकारमा सहभागी हुने कुरा रहेको जानकारी दिए ।

‘सोमबारसम्म सरकारमा सहभागी हुने कुरा छ’ कार्कीले भने, ‘मन्त्रीहरूको नाम टुंगो लाग्छ ।’

कोशीमा कांग्रेसबाट मन्त्री बन्न ११ जना सांसदहरू मुख्य प्रतिष्पर्धामा देखिएका छन् । सभापति देउवा निकट मानिएका सांसदहरू अमृत अर्याल, प्रदीप सुनुवार, हिमाल कार्की, खगेनसिंह हाङ्गाम, डोल्मा तामाङ, मैंया श्रेष्ठ र शोभा चेम्जोङ मन्त्रीको दौडमा छन् ।

संस्थापन पक्षभित्रकै कृष्णप्रसाद सिटौला समूहबाट भीम पराजुली र भूपेन्द्र राई मन्त्री बन्ने प्रतिष्पर्धामा छन् । त्यसैगरी शेखर कोइराला निकटबाट गोविन्द गिरी, मानबहादुर लिम्बू र रामकुमार खत्री मन्त्री बन्नका लागि लविङ गरिरहेको जनाइएको छ । 

कोशी प्रदेशमा एमालेसँगको सहमतिअनुसार कांग्रेसले यसअघि माओवादीले सम्हालेका तीन वटा मन्त्रालयहरू भौतिक पूर्वाधार विकास मन्त्रालय, वन, वातावरण तथा पर्यटन मन्त्रालय र स्वास्थ्य मन्त्रालय तथा सामाजिक विकास मन्त्रालय र कृषि मन्त्रालयमध्ये थप एउटा मन्त्रालय पाउने विषयमा सहमति टुंगिएको स्रोतको भनाइ छ ।

View : 274

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved