Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

एमाले ११औं महाधिवेशन

एकअर्काविरुद्ध सशंकित कोशीबाट सचिवका उम्मेद्ववार शेरधन र हिक्मत

उद्‌घोष संवाददाता
१ पुष २०८२, मङ्गलवार

विराटनगर । नेकपा एमालेको ११औँ महाधिवेशनको मतदान सुरु हुनुअघि उम्मेदवारहरू भोट माग्न व्यस्त छन् । यहि अवस्थामा कोशी प्रदेशबाट अध्यक्ष केपी शर्मा ओलीकै प्यानलबाट सचिवका उम्मेदवार रहेका शेरधन राई र हिक्मत कुमार कार्की पक्षले भने एकअर्काप्रति सशंकित अवस्थामा रहेको पाइएको छ ।

राई कोशी प्रदेशका पूर्व मुख्यमन्त्री हुन् भने कार्की अहिले मुख्यमन्त्री छन् । यसअघि कोशी प्रदेश कमिटीको इन्चार्ज समेत रहेका राई र कार्कीका समर्थक कार्यकर्ता भने भित्रभित्रै एक अर्काप्रति सशंकित अवस्थामा रहेको महाधिवेशनमा सहभागी पहाडी जिल्लाका एक प्रतिनिधिले बताए ।

वर्तमान मुख्यमन्त्री कार्की निकट रहेकाहरूले कोशी प्रदेशका प्रतिनिधिहरूसँग ‘हिक्मत दाइलाई जिताउने भए शेरधन कमरेडलाई मत नहाल्नुहोला’ भन्दै फकाउँदै हिँडिरहेको ती प्रतिनिधिले बताए ।

कार्की समूहले जसरी पनि जित्न आफूविरुद्ध अभियान चलाइरहेको थाहा पाएपछि शेरधन राई पक्षले पनि त्यस्तै अभियान सुरु गरेको छ । यसरी एउटै प्यानलमा भएर पनि राई र कार्की एकअर्कालाई हराउने अभियानमा लागेका छन् ।

‘उहाँहरू दुवै जना अध्यक्ष ओली कमरेडको प्यानलबाट सचिव पदका उम्मेदवार बन्नुभएको छ, तर उहाँहरूका नजिकका मान्छेहरू एकअर्कालाई भोट नहाल्नु भन्दै हिँडेको पाइएको छ,’ सुनसरीबाट प्रतिनिधि बनेर गएका ओली पक्षका एक प्रतिनिधिले भने, ‘मसँग मात्रै दुवै पक्षले त्यसरी मत मागेको होला भनेर चुप लागेर बसेको, तर धेरैजनासँग त्यसै भनेको पाइएको छ । यो ठीक भएन भनेर नेताहरूलाई भनेका छौँ ।’

बाहिरबाट हेर्दा एउटै प्यानल, एउटै उद्देश्यजस्तो देखिए पनि भित्री रूपमा भने दुवै नेताबीच तिक्तता देखिएको प्रतिनिधिहरू बताउँछन् ।

अखिल कालका सहयात्रीका रूपमा चिनिएका राई र हिक्मत कार्की दुवै विद्यार्थी राजनीतिबाटै पार्टीको केन्द्रीय राजनीतिसम्म आइपुगेका नेताहरू हुन् ।

अखिलको संघर्षकालमा सँगै हिँडेका, सँगै संगठन बनाएका यी दुई नेताबीच अहिले भने पार्टी सचिव पदका लागि प्रत्यक्ष प्रतिस्पर्धा छ । यो प्रतिष्पर्धा महाधिवेशन अगाडि नै सुरु भएको कार्यकर्ताहरु बताउँछन् ।

सचिव पदका लागि ९ जना छानिने व्यवस्था छ । सचिव पदका लागि ओली र ईश्वर पोखरेल समूह तथा स्वतन्त्र गरी २० जनाको उम्मेदवारी परेको छ ।

यसरी धेरै जना उम्मेदवार हुँदा र कोशी प्रदेशबाटै अन्य धेरै उम्मेदवार हुँदा पनि एउटै प्यानलका राई र कार्की किन एकअर्काविरुद्ध लागेका हुन् ? ‘शेरधन राई र हिक्मत कार्की स्वयं आएर हामीलाई त्यसो भनेका छैनन्, तर उहाँहरू दुवैका किचन क्याबिनेटका मान्छे भनेर चिनिनेहरू यस्तो लबिङमा लागेको पाइएको छ,’ मोरङकै एक प्रतिनिधिले भने, ‘उहाँहरूले अह्राएर हो कि नअह्राई गरेको हो, सोध्न पाइएको छैन ।’

दुवैका निकट व्यक्तिहरूले महाधिवेशनस्थलमा एकअर्काविरुद्ध लबिङ गरिरहेको प्रतिनिधिहरू बताउँछन् ।

सचिवको उम्मेदवार रहेका कार्की ओलीकै निर्वाचन क्षेत्रका नेता हुन् । यसअघि विद्या भण्डारी निकट रहेका राई भने पछिल्लो समय ओली निकट भएका हुन् । उनले ओलीसँगको सम्बन्ध सुधार गरेर कोशी प्रदेश इन्चार्ज भएका थिए । प्रदेश इन्चार्जका लागि कार्कीले समेत चर्को लविङ गरेका थिए । तर राईले प्रदेश इन्चार्ज भएपछि प्रदेश सरकार स‌ंचालन समेत हस्तक्षेप गरेको भन्दै कार्की पक्ष असन्तुष्ट रहँदै आएको जनाइएको छ ।

View : 480

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved