सुनसरी । विराटनगर भन्सार कार्यालयबाट हुने जाँचपास प्रक्रिया र राजस्व अनुसन्धान कार्यालय इटहरीबाट हुने काम कारबाही निक्कै कमजोर रहेको भन्दै सशस्त्र प्रहरी बलले माथिल्लो निकायमा उजुरी गरेको छ ।
सीमा सुरक्षा र राजस्व चुहावट रोक्न सशस्त्र प्रहरीले प्रभावकारी काम गरे पनि यी दुई निकायको काम कारवाही सन्तोषजनक नरहेको भन्दै सशस्त्रले माथिल्लो निकायमा उजुरी गरेको हो ।
पछिल्लो समय भन्सार छलीका घटनामा आफ्नो पूरै जनशक्ति परिचालन गरेर सामान बरामद गर्न खोज्दा र बरामद सामान अनुसन्धानको लागि राजश्वमा पठाउँदा निक्कै न्युन धरौटीमा छाड्ने गरिएको प्रति सशस्त्रले असन्तुष्टि जनाएको हो ।
यी दुई निकायको काम कारबाही प्रभावकारी नरहेको उल्लेख गर्दै सशस्त्रले पूर्वक्षेत्रबाट हुने चोरी तस्करी र राजश्व चुहावट नियन्त्रण कार्य चुनौतीपूर्ण रहेको निष्कर्ष निकालेको छ ।
राजश्व छलेर सामान भित्र्याउने गिरोह पटक–पटक पक्राउ पर्दा समेत उनीहरू माथिको अनुसन्धान फितलो हुने गरेको र अत्यन्त न्यून धरौटीमा छाड्ने गरिएको प्रति असन्तुिष्ट जनाउँदै सशस्त्रले यी दुई निकायका केही कर्मचारीले तस्करसँग मिलेमतोमा काम गर्ने गरेको दाबी गरेको छ ।
सशस्त्रले भन्सार छलिको सामान भित्र्याउने कार्यमा भन्सार एजेन्ट नै संलग्न हुने गरेको पुष्टि हुँदा समेत उनीहरूमाथि चित्तबुझ्दो कारवाही हुन नसकेको प्रष्ट पारेको छ ।
सशस्त्र प्रहरी बल बराहबाहिनी पकलीका बाहिनीपति प्रहरी नायब महानिरीक्षक ‘डीआईजी’ कुमार न्यौपानेले यी दुई कार्यालयका प्रमुखलाई असन्तुष्टी जनाउँदै यस्तै गतिबिधि कायम रहने हो भने आफूहरू उच्च मनोबलका साथ काम गर्न नसकिने चेतावनी दिएको जानकारी दिए ।
गत कात्तिक १७ गते विराटनगर भन्सार कार्यालय आईसीपीबाट प्रज्ञापनमा उल्लेख गरिएको भन्दा बढी मूल्यको लत्ताकपडा तस्करी भइरहेको विशेष सूचना बराहबाहिनीपति न्यौपानेले पाएपछि त्यस स्थानमा छापा मारिएको थियो ।
सो सूचनाको आधारमा संगठित प्रहरी टोलीले तीन फरक–फरक स्थानबाट ठूलो परिमाणमा लताकपडा नियन्त्रणमा लिएको थियो । सो क्रममा भन्सार एजेन्टहरू सहित तीन जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको थियो ।
सोही दिन अर्को ट्याक्टर आईसीपी यार्डतर्फ फर्केको सूचना पाएपछि विराटनगर भन्सार प्रमुख उमेश श्रेष्ठसँग समन्वय गर्दा उनले अनभिज्ञता प्रकट गरेका थिए । तर बाहिनीपति न्यौपानेको निर्देशनमा खटिएको टोलीले यार्डमा खोजतलाश गर्दा को १ त ९७१७ नम्बरको ट्याक्टर फेला परेको थियो ।
सो ट्याक्टरमा प्रज्ञापनपत्रमा उल्लेख भएभन्दा १५ पोका बढी कपडा पार्किङ गरेको पुरानो सवारी साधनभित्र लुकाई राखेको अवस्थामा बरामद गरिएको थियो ।
यी घटनाक्रम पश्चात भन्सार प्रमुख श्रृष्ठले रूजु गर्दा १५ पोका भन्दा बढी सामान लुकाएको पुष्टि भएपछि भन्सार एजेन्टहरू विराटनगर–१५ का ३८ बर्षीय कुन्दन मण्डल, २६ बर्षीय छोटु मण्डल र विराटनगर–१८ का ३१ बर्षीय ललन मण्डललाई पक्राउ गरी इलाका प्रहरी कार्यालय रानीको हिरासतमा पठाइएको थियो ।
कुन्दन पटक–पटक तस्करी प्रकरणमा पक्राउ पर्दै आएका पात्र हुन् । उनी यसअघि भन्सार जाँचपासमा ठगी गर्ने र अन्य नाकाबाट चोरी तस्करी गर्ने मुद्दामा दुई पटक पक्राउ परिसकेका थिए ।
यस्तै प्रारम्भिक सूचनाको आधारमा तेस्रो ट्याक्टर फेला नपरे पनि कात्तिक १९ गते खटिएको संयुक्त टोलीले विराटनगर–१५ स्थित बुद्ध पूजा ढुवानी सेवामा खोजतलाश गर्दा शंकास्पद ३४ पोका लत्ताकपडा लुकाइ राखेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको थियो । सो सामान थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको थियो ।
राजश्व अनुसन्धान कार्यालयले सो ढुवानी सेवामा छापा मार्न आनाकानी गरेपछि एपीएफले राजस्व अनुसन्धान बिभाग काठमाडांैसँगै गुनासो गरेको थियो ।
सो गुनासो पश्चात राजश्व अनुसन्धान कार्यालय इटहरीले राजस्व अनुसन्धान बिभाग काठमाडौसँग समन्वय पश्चात संयुक्त टोलीले छापा मारेको हो ।
यी घटनामा राजश्व अनुसन्धान कार्यालय इटहरीले आरोपीसँग १ लाख २४ हजार रूपैयाँ मात्र धरौटी लिएर छाडेको र एउटै ब्यक्तिको फर्ममा पटक–पटक छापा मार्नुपर्ने र तस्करीमा भन्सार एजेन्टनै बारम्बार संलग्न हुँदा समेत कसुर बमोजिम कारबाही र जरिवाना नभएको भन्दै सशस्त्र प्रहरी रूष्ट बनेको हो ।
राजश्व अनुसन्धान कार्यालय इटहरीका सूचना अधिकारी बिदुर गौतमले आफूहरूले प्रज्ञापनपत्रमा उल्लेख भएभन्दा बढी रहेको सामान बराबरको धरौटी लिएर छाडिएको बताए ।
विराटनगर भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठले अनुसन्धानका क्रममा आफूहरूबाट केही कमी कमजोरी भएको स्वीकार गर्दै आगामी दिनमा सुधार गर्ने प्रतिबद्धता जनाए ।
View : 228
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved