विराटनगर, २५ माघ । मोरङ जिल्ला क्रिकेट संघको आयोजनामा राष्ट्रिय त्रिकेट टी–२० च्याम्पिनसीप हुने भएको छ । प्रतियोगिता आगामी फागुन २२ देखि चैत ३ गतेसम्म विराटनगरको बैजनाथपुर क्रिकेट मैदानमा हुने जनाइएको छ ।
प्रतियोगिताबारे जानकारी दिन बिहीबार आयोजित पक्रकार सम्मेलनमा बोल्दै मोरङ जिल्ला त्रिकेट संघका अध्यक्ष मोहम्मद साद कुरैशीले प्रदेश सरकारको सहयोगमा प्रतियोगिता आयोजना गर्न लागिएको बताए । उनले कोशी प्रदेशको खस्किएको क्रिकेटलाई माथि उठाउन प्रतियोगिताले महत्वपूर्ण योगदान गर्ने दाबी गरे । प्रतियोगिता आयोजना गर्न करीव ७५ लाख रुपैयाँ बराबरको लागत स्टमेट तयार पारिएको बताए ।
सो प्रतियोगितालाई नेपाल क्रिकेट संघको राष्ट्रिय क्यालेण्डरमा समावेश गरिसकिएकोले प्रतियोगितालाई प्रत्येक वर्ष निरन्तरता दिइने प्रदेश क्रिकेट संघका अध्यक्ष सर्वजितराज पाण्डेले बताए । उनले सातै प्रदेश र तीन विभागीय टोलीसहित १० वटा टोलीले प्रतिष्पर्धा गर्ने जानकारी दिए । प्रतियोगितामा राष्ट्रिय टोलीका खेलाडीहरु समेत खेल्ने उनले बताए ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीका जनसम्पर्क सल्लाहकार लिलाबल्लभ घिमिरेले क्रिकेट खेलाडीको उत्पादनमा प्रदेश सरकारले साथ दिने बताए । उनले जे परे पनि सहयोग गर्न सरकार तयार रहेको बताए ।
प्रतियोगितामा १० टोलीले २३ वटा खेलमा प्रतिष्पर्धा गर्ने जनाइएको छ । यसअघि सम्पन्न भएको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा भने कोशी प्रदेशले एउटा पनि खेल जित्न सकेन । सबै खेलमा पराजित भएपछि क्रिकेट खेल सम्वद्ध क्षेत्रबाटै खेलाडी छनोटको प्रक्रिया अपारदर्शी भएको भन्दै आलोचना भएको थियो ।
View : 216
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved